पोखरामा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण

-


     नेपालय न्युज    
     असार ६ गते २०८०


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जनाएको हो ।

चीनबाट उडेको एयरलाइन्सले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० जना यात्रु बोकेर छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आएको हो ।

विमानमा पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीहरू बोकेको थियो । अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा जेठ २७ गते चीन भ्रमणमा जानुभएको थियो ।

अङ्ग्रेजी नयाँ वर्षबाट उडान सुरु भएको उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन भने सकेको थिएन । यो जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौँ हुँदै चीन फर्किनेछ ।

 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । विमानस्थल रु २२ अर्ब लगानीमा निर्माण भएको हो । विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान हुन लागेको हो ।

चीनको सिचुआन एयरलाइन्सको आज चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यही असार १ गते सम्झौता भएको थियो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो ।

पोखराको फेवातालमा यही असार ८ र ९ गते (२३–२४ जुन २०२३)मा फेस्टिभल हुँदैछ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनले सहआयोजना गरेको फेस्टिभललाई होटल सङ्घ नेपाल (हान) र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) लेसमेत सहयोग गरेका छन् ।

बोट रेस कार्यक्रमका सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । कार्यक्रमबाट पर्यटकीय सहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल सञ्चालन हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बताउनुभयो ।

कार्यक्रममा सहभागी हुन चीनको लिङ्जी नगरबाट उपप्रमुखको नेतृत्वमा ६० जनाको टोली चार्टर्ड उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेछ । फेस्टिभलको सहयोगी संस्थाका रूपमा पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एसोसिएसन पोखरा छन् ।

चीनले यस प्रकारको बोट फेस्टिभल विभिन्न ५० भन्दा बढी देश तथा क्षेत्रमा आयोजना गर्दै आएको नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ सिनले बताउनुभयो ।

प्रतियोगितामा मुलुकका सातै प्रदेशबाट र चीनबाट गरी एक सय २० प्रतियोगी सहभागी हुनेछन् । दुई सय र पाँच सय मिटरमा दुई भागमा आठ बोटमार्फत रेस हुनेछ । विजेताले रु ३० लाख पुरस्कार पाउने आयोजकले जनाएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कार्यक्रममार्फत पोखरा र समग्र गण्डकी प्रदेशको प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “दक्षिण एसियामा पहिलोपटक आयोजना गरिएको बोट रेस फेस्टिभलले नेपालको विश्वभर प्रवर्द्धन हुनेछ । यसबाट भविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

फेस्टिभलमा नेपाली र चिनियाँ खाना प्रदर्शनी र चिनियाँ सांस्कृतिक कार्यक्रम पनि रहनेछ । पोखरा विमानस्थलमा पहिलोपटक हुने अन्तर्राष्ट्रिय उडानले पर्यटन क्षेत्र उत्साहित भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com