मेयर निर्वाचित भएको २ वर्षपछि व्यासको मतगणना बदर, एक महिनाभित्र पुनः मतगणना हुने

-


     नेपालय न्युज    
     जेठ ३ गते २०८१


उच्च अदालत पोखराले निर्वाचित भएको २ वर्षपछि तनहुँको व्यास नगरपालिकाको मेयर पदको मतगणना बदर गरेको छ।

निर्वाचन आयोगलाई विपक्षी बनाएको मुद्दामा न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेलको संयुक्त इजलासले मंगलबार मेयर पदको मतगणना बदर गर्दै पुनः मतगणना गर्न आदेश दिएको हो।

अदालतका रजिष्ट्रार अच्युत कुइँकेलको संयोजनमा पुनः मतगणना गर्न आवश्यक कर्मचारी लगायत उपलब्ध गराउन पनि आदेशमा भनिएको उपरजिष्ट्रार रामबहादुर थापाले बताए।

‘व्यास नगरपालिकाको मेयर पदको पुरानो मतगणना बदर भएको छ। रजिष्ट्रार संयोजनमा मतगणना गर्न आदेश भएको छ,’ उनले भने, ‘आदेशमा एक महिनाभित्र पुनः मतगणना गर्नु भनिएको छ।’

 

२०७९ वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा व्यास नगरपालिकाको मेयर पदको मत गणनामा धाँधली भएको भन्दै उम्मेदवार दीपकराज जोशीले उच्च अदालतमा रिट दायर गरेका थिए। उनले दिएको रिट निवेदनमा दाबी पुग्ने भन्दै अदालतले उक्त फैसला गरेको हो।

दीपकराज जोशी कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा हुन्।

स्थानीय निर्वाचनमा मेयर उम्मेदवार जोशीलाई एमालेले समर्थन गरेको थियो। जोशीले स्वतन्त्र उम्मेवारी दिएका थिए। निर्वाचनमा धाँधली गर्न आफूमाथि आक्रमण भएको, मतगणनामा पनि धाँधली गरेको र आफ्ना एजेण्टलाई मतगणनामा बस्न नदिएको जोशी पक्षको दाबी थियो।

मतणना अनुसार व्यास नगरपालिकाको मेयर पदमा कांग्रेस उम्मेदवार बैकुण्ठनाथ न्यौपाने निर्वाचित भएका थिए। उनले जोशीलाई २५२ मतले पराजित गरेका थिए। न्यौपानेलाई माओवादी केन्द्र लगायत तत्कालीन ५ दलीय गठबन्धनको समर्थन थियो।

WP2Social Auto Publish Powered By : XYZScripts.com