अमेरिकी केन्द्रीय बैंकले ब्याजदर वृद्धिको बाटोमा पाउला सेफ ल्यान्डिङ ?

-


     नेपालय न्युज    
     मंसिर १५ गते २०७९


वाशिङटन डीसी (अमेरिका) । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले ब्याजदर वृद्धि सुस्त बनाउने भएको छ । अब ब्याजदर वृद्धि सुस्त पार्ने समय आएको फेड अध्यक्ष जेरोम पावेलले बुधबार यस्तो बताएका हुन् । महँगी उच्च नै रहेकोले यसलाई विस्तारै तलतिर झार्नु पर्ने भएकोले ऋण महँगो नै हुने छ ।

जुनयता हरेक नीतिगत समीक्षामा शून्य दशमलव ७५ प्रतिशतका दरले ब्याजदर बढाएको फेडको पछिल्लो अभिव्यक्तिले लगानीकर्ताहरू उत्साहित बनेका छन् भने विश्व बजार हरियोमा आएको छ । मुद्रास्फीति २ प्रतिशतको लक्षित स्तरमा झार्न थप ब्याजदर बढाउनु पर्ने भएपनि अघिल्ला महीनाहरूको जस्तो आक्रामक ब्याजदर वृद्धिबिनै सो लक्ष्य हासिल हुनेमा फेड विश्वस्त छ ।

तर, यो बाटो लामो हुने देखिएको छ । अमेरिकी श्रम बजारमा अहिले चरम श्रम अभाव छ । अमेरिकाले ४० वर्षयताकै उच्च स्तरमा उक्लिएको महँगी नियन्त्रण गर्न आक्रमकरूपमा ब्याजदर बढाइरहँदा सेफ ल्यान्डिङ नभएर अर्थतन्त्र मन्दीमा जाने आशंका गरिएको थियो । तर, पावेलले यो अवधारणाको खन्डन गरेका छन् । बेरोजगारी दर नाटकीय ढंगले नबढीकन महँगी कम हुँदै गएको तर्फ औंल्याउँदै पावेलले अझै पनि सहज अवतरण सम्भव रहेको दाबी गरेका छन् ।

 

शुुरुमा अर्थतन्त्र धराशयी भएपनि महँगी नियन्त्रण गर्ने पछि त्यो समस्या सुधार्न आफूहरूले कोशिश नगर्ने पावेलले बताएका छन् । चाँडै नै ब्याजदर कटौती गर्न पनि आफूहरूले नचाहेकोले ब्याजदर वृद्धि सुस्त पारिएको अनि समयसँगै महँगी सहज स्तरमा ल्याउन ब्याजदर कुन तहमा राख्दा ठिक हुन्छ भनेर आफूहरूले बाटो खोजिरहेको पावेलको भनाइ छ ।

फेडको नीतिका कारण श्रम बजारमा कर्मचारी पदपूर्तिको विज्ञापन घट्ने वा बेरोजगारी दर नै बढ्ने भय उच्च थियो । कसिलो श्रम बजारमा सन्तुलन ल्याउन आवश्यक रहेको देखिएको छ । ‘अहिले नै श्रम आपूर्ति सुध्रिँदैन,’ पावेलले भनेका छन् ।

२ प्रतिशतको मुद्रास्फीति लक्ष्य र श्रम बजारमा सन्तुलन बनाउन जरुरी भएको अनि यसका लागि मानिसहरूलाई बेरोजगार बनाउनुभन्दा पनि रोजगारी वृद्धि सुस्त पार्न जरुरी भएको बताइएको छ ।

अहिले महँगी बढ्नुको एउटा कारण विश्वको विश्वको आपूर्ति शृङ्खलामा देखिएको अवरोध पनि हो । कोभिडको महामारी, युक्रेनमा जारी युद्ध, चीपको अभाव लगायत कारणहरूले गर्दा हालैका वर्षमा विश्वभर आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भएको छ । फेडको ब्याजदर वृद्धिको होडबाजीले अमेरिकी अर्थतन्त्रमा मन्दी उत्पन्न नगराइकन सुरक्षित अवतरण पाउने आशाले विश्व शेयर बजार उकालो लागेको छ ।

फेडले आक्रामकरूपमा ब्याजदर बढाउन थालेपछि यो वर्ष विश्व शेयर बजारमा तीव्र उतारचढाव देखिएको थियो । बुधबार शेयर बजार बन्द हुँदा अमेरिका र यूरोपको प्रमुख शेयर परिसूचकहरू झन्डै साढे ४ प्रतिशतसम्म बढेका थिए ।

फेडले आक्रामकरूपमा ब्याजदर बढाउन थालेपछि यो वर्ष विश्व शेयर बजारमा तीव्र उतारचढाव देखिएको थियो । बुधबार शेयर बजार बन्द हुँदा अमेरिका र यूरोपको प्रमुख शेयर परिसूचकहरू झन्डै साढे ४ प्रतिशतसम्म बढेका थिए । नाष्डाक ४ दशमलव ४१ प्रतिशतले बढेर ११ हजार ४६८ मा आएर बन्द हुँदा दाउ जोन्स इन्डष्ट्रियल एभरेज पनि २ दशमलव १८ प्रतिशतले बढेर ३४ हजार ५८९ दशलमव २१ अंकमा उक्लिएको थियो ।

कारोबार बन्द हुँदा पनि एसएन्डपी ५०० ३ दशमलव शून्य ९ प्रतिशतले बढेर ४ हजार ७९ दशमलव ९७ अंकमा पुगेको थियो । यूरोपमा पनि बेलायतको फुट्सी, फ्रान्सको क्याक ४० र जर्मनीको डीएएक्स पनि हरियोमा आएर बन्द भएका थिए । अघिल्लो दिन अमेरिका र यूरोपमा बजारमा आएको उछालको प्रभाव बिहीवार एशिया प्रशान्त क्षेत्रको शेयर बजारमा पनि पोखिएको छ । बिहीवार इन्डोनेशियाबाहेक एशिया क्षेत्रका अधिकांश शेयर बजार उकालो लागेका थिए ।

ऋणपत्रको प्रतिफल भने सबै घटेका थिए । ऋणपत्रको प्रतिफल पनि ४ दशमलव ५२ प्रतिशतबाट घटेर ४ दशमलव ३७ प्रतिशतमा आएको थियो । मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राका तुलनामा डलर पनि कमजोर बनेको थियो । फेडको नीतिगत बैठक डिसेम्बर १३–१४ मा बस्दैछ । अहिले महँगी नियन्त्रणमा सकारात्मक आशा देखिएको भएपनि मूल्य स्थिर हुन लामो समय लाग्नेछ । काम फत्ते नभएसम्म आफूहरु ब्याजदर वृद्धिकै बाटोमा हिँड्ने पावेलले स्पष्ट पारेका छन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com