पोखरा १२ द्धारा महिलालाई आत्मनिर्भर बनाउन हस्तकला तालिम

- प्रशिक्षार्थी हरिदेवी बुढामगर उत्कृष्ट प्रशिक्षार्थीको रूपमा पुरस्कृत

-


     नेपालय न्युज    
     चैत्र १९ गते २०८०


पोखरा ।

पोखरा महानगरपालिका १२ नं. वडा कार्यालयका अध्यक्ष सन्तोष बाँस्तोलाले आफूले सिकेको सिपलाई सामूहिक रूपमा उद्यम गरी उत्पादनमा जोडिने महिला समूहलाई वडा कार्यालय थप सहयोग गर्ने जनाएका छन् ।

महिलाहरूका लागि एक महिने हस्तकला तालिमको सोमबार समापनका क्रममा प्रमाणपत्र वितरण गर्दा प्रशिक्षार्थीलाई हौस्याउँदै बास्तोलाले थपे तपाईहरू उद्यमी बन्नुहुनेछ, कम्पनी खोल्नु हुनेछ र मलाई उद्घाटनका लागि निम्तो दिनुहुनेछ । उनले महिला दिदीबहिनीको मागका आधारमा वडा कार्यालयले एक महिने हस्तकलाको तालिम दिइ दक्ष बनाएको हुँदा राज्यको लगानी सदुपयोग भएको बताए ।

विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक एवम् मुख्य प्रशिक्षक सविता श्रेष्ठले महिला दिदीबहिनीको सिपमा निखारता आउँदा सिधै रोजगार र उद्यमशीलतामा जोडिन सहयोग पुग्ने बताइन । सिप सिक्दासिक्दै रोजगारमा आवद्ध हुनु र उत्पादन गरेका सामग्री अब्बल भई बजार पाउनुले तालिमको औचित्य पुष्टि भएको जनाइन ।

प्रशिक्षार्थी सुनिता कोइरालाले एक महिनाको हस्तकला सिप सिकाइका क्रममा दक्षता प्राप्त भएको बताइन । तालिम अवधि मै दर्जन बढी सामग्री तयार हुँदा खुशी व्यक्त गर्दै वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरिन । प्रशिक्षार्थी हरिदेवी बुढामगरलाई उत्कृष्ट प्रशिक्षार्थीको रूपमा पुरस्कृत गरिएको थियो भने सीतादेवी ढकालाई लगनशीलताका साथ सिप सिकेका कारण रोजगारमा आवद्ध गरिएको छ ।

गत फागनु १४ गतेदेखि वडा कार्यालयले सञ्चालन गरेको १ सय २० घण्टाको एक महिने हस्तकला तालिममा वडाभित्रबाट छनौट भएका १५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । तालिम अवधिमा प्रशिक्षार्थीले १४ प्रकारका २ सय १० हस्तकलाजन्य सामग्री तयार गरेका थिए ।

वडा सदस्य एवम् तालिम संयोजक शान्तिदेवी कोइरालाको अध्यक्षतामा सम्पन्न तालिम समापनमा सदस्य गुमादेवी परियाले स्वागत मन्तव्य राखेकी थिइन भने सदस्य शान्तबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com