हिल प्वाइन्टमा अन्तरविद्यालय स्तरीय चित्रकला प्रतियोगिता

-


     नेपालय न्युज    
     माघ १५ गते २०८०


पोखरा ।

पोखरा १२ माटेपानिमा रहेको हिल प्वाइन्ट माध्यमिक विद्यालयले आउँदै गरेको ४३ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तरविद्यालय स्तरीय चित्रकला प्रतियोगिता र चित्रकला प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।

पोखराको सुन्दर,शान्त र रमणीय वातावरणमा एक मात्र Fine Arts Faculty रहेको र गुणस्तरीय शिक्षाका साथै शैक्षिक उन्नतिले छुट्टै पहिचान कायम गर्न सफल विद्यालय हिल प्वाइन्ट मा वि मा सम्पन्न उक्त कार्यक्रम विद्यालयका सह प्राचार्य गंगाराम पौडेलले सञ्चालन गर्नुभएको थियो ।भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिजुली बहादुर गुरुङले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएको थियो । यस कार्यक्रमका प्रमुख अतिथिको रूपमा पोखरा महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले यस प्रकारका चित्रकला प्रतियोगिताको आयोजना गरी विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृति गराउन ठुलो योगदान पुर्याएको बताउनुभयो भने निर्णायक मण्डलको संयोजकका रुपमा रहनुभएका प्राज्ञ रमेश श्रेष्ठले पनि विद्यार्थीहरूमा रहेका अन्तरनिहित प्रतिभाको प्रस्फुटन हुने कुरा व्यक्त गर्नुभएको थियो ।यस विद्यालयका संस्थापक तथा प्राचार्य दिवाकर जैसीले स्वागत मन्तव्य राख्दै यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूमा पढाइका साथसाथै उनीहरुको प्रतिभा प्रस्फुटन भई चौतर्फी विकासमा समेत टेवा पुग्ने र भविष्यमा एउटा आत्मविश्वासी साथै कलात्मक प्रतिभा उत्पादन गर्न सकिने कुरा बताउनुभयो ।

यस प्रतियोगितामा बालप्रभात बोर्डिङ स्कुलकी मेधावी तथा लगनशील छात्रा आकांक्षा खड्काले प्रथम स्थान हासिल गर्न सफल भइन् । त्यसैगरी बाल कल्याण मा वि की छात्रा कृति गुरुङले द्वितीय स्थान र अमरसिंह नमुना माध्यमिक विद्यालयकी छात्रा सपनाले तृतीय स्थानका साथै सैनिक आवासीय महा विद्यालयकी छात्रा एरिका केसीले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए । उक्त विद्यार्थीहरूलाई नगद,ट्रफी र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

अन्त्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका बिजुलीबहादुर गुरुङले यस्ता रचनात्मक कार्यक्रमले आगामी दिनमा पनि विद्यार्थीको समुज्जल भविष्य निर्माणमा ठुलो टेवा पुर्याउँछ भन्ने मन्तव्यका साथ कार्यक्रमको समापन गर्नुभएको थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com