समाज व्यवस्था ज्ञानको उत्पादन र कविशिरोमणि

-


     नेपालय न्युज    
     पौष २१ गते २०८०


डा. शक्रराज अधिकारी 

सामाजिक संरचना र ज्ञानको उत्पादनबारे विभिन्न कोणबाट बहस चलिरहेको छ । सामान्यतया संरचना भन्नाले विभिन्न भाग तथा तत्वहरू एकीकृत भई निर्माण भएको सिङ्गो अवस्थाको वस्तुगत स्वरूप भन्ने बुझिन्छ । हरेक वस्तुको संरचनाभित्र भिन्न–भिन्न प्रकारका एकाइको अन्तरसम्बन्ध हुन्छ । एकाइगत अन्तरसम्बन्धले सम्बन्धित वस्तुको संरचनात्मक ढाँचा निर्माण भएको हुन्छ समाजशास्त्री अगष्ट कोम्टले सामाजिक तथा सांस्कृतिक संरचना आध्यात्मिक स्तरबाट पराभौतिक स्तर र पराभौतिक स्तरबाट वैज्ञानिक स्तरमा विकसित हुँदै आएको बताएका छन् । आध्यात्मिक स्तरको मानिसमा प्राचीन तथा अविकसित अवस्थामा हुने जादु, टुनामुनाको विश्वाससँगै सबै सजीव तथा निर्जीव वस्तुप्रति अलौकिक शक्ति छ भनी विश्वास गर्ने संस्कृति थियो भने पराभौतिक स्तरमा आइपुग्दा विवेक र तर्कको विकास हुन थाल्यो । आध्यात्मिक स्तरमा गरिएको अलौकिक शक्तिप्रतिको विश्वासमा पनि किन, के भन्ने सन्दर्भ जोडिन थाले भने वैज्ञानिक स्तरमा हरेक सामाजिक तथा सांस्कृतिक घटनाका कारण नै खोज्ने, घटना र कारणबिचको अन्तरसम्बन्ध पत्ता लगाउने र हरेक वस्तुलाई वैज्ञानिक ढङ्गले विश्लेषण गर्ने क्रम सुरु भयो भन्ने व्याख्या कोम्टको छ ।

त्यसै गरी हर्बट स्पेन्सरले सामाजिक संरचना सिकार सङ्कलित अवस्थाबाट पशुपालन, पशुपालनबाट कृषि, कृषिबाट औद्योगिक अवस्थामा क्रमिक रूपमा परिवर्तन तथा विकसित हुँदै आएको बताएका छन् । कार्ल माक्र्सले संरचनाको विकास तथा प्रगति जहिले पनि विरोधी शक्तिमा हुने सङ्घर्षका कारण हुने गर्छ भनेका छन् । सामाजिक संरचना मानिसको चेतना र वस्तुबिचको सम्बन्ध हो । जीवन र जगत् भन्नु नै द्वन्द्व, गति, नवीनता, पुरानोको पतन र नयाँको उत्पत्तिको अनन्त शृङ्खला हो । द्वन्द्वका कारणले गर्दा नै सामाजिक संरचना निम्न स्तरबाट उच्च स्तरमा विकास भइरहेको हुन्छ । वस्तुको विकास प्रक्रिया पुरानो र नयाँबिच सङ्घर्ष, नयाँको विजय वा उदय र पुरानोका हारले हुन्छ र यो परिवर्तन भइरहने स्थायी रूपले ऐतिहासिक प्रक्रियाका आधारमा सामाजिक तथा सांस्कृतिक संरचनाको निर्माण हुन्छ भन्ने दृष्टिकोण माक्र्सको रहेको छ ।

समाजशास्त्री अगस्त कोम्ट, स्पेन्सर, कार्लमाक्सलगायत समाजशास्त्रीले हरेक मानवीय चेत तथा ज्ञान हरेक मानिस हुर्के बढेको एवं उसले बेहोरेका समाजको उत्पादन हो भन्ने गरेका छन् । समाजशास्त्रीहरूको यो अभिव्यक्तिलाई अझ गहिरोमा रूपमा केलाउँदा मानवीय चेतना सम्बन्धित समाजको ऐतिहासिक सन्दर्भले निर्माण गर्छ । मानिसले बाँचेको ऐतिहासिक जग र त्यस जगमा खडा भएका सामाजिक उत्पादन पद्धति, अर्थतन्त्र, नेतृत्व, सामाजिक सम्बन्ध आदिले त्यस समाजभित्र मानवीय ज्ञानको शृङ्खला निर्माण गर्दै लैजान्छ अर्थात् हरेक मानवीय चेतना एवं ज्ञान सम्बन्धित सामाजिक सांस्कृतिक संरचनाले उत्पादन गर्छ ।

लेखनाथकालीन समाज र उनको दार्शनिक चेत

लेखनाथकालीन नेपाली समाजको सामाजिक संरचना एकतन्त्रीय जहानियाँ राणा शासनबाट जकडिएको थियो । सामन्तवादी उत्पादन पद्धति र प्रवृत्तिका माध्यमबाट नेपाली शोषित पीडित थिए । एकातर्फ शासकमा मानवता हराउँदै गएको थियो भने अर्कोतर्फ उत्पीडनविरुद्ध विद्रोहको आगो सल्कँदै गएको थियो । खास खालको समाज व्यवस्थाले खास खालको दार्शनिक चेत निर्माण गर्छ भन्ने समाजशास्त्रीय व्याख्या जस्तै उल्लिखित सामाजिक परिवेशको परिदृश्यले लेखनाथमा दार्शनिक चेतना निर्माण गर्दै ल्याएको अनुभूत गर्न सकिन्छ ।

 

कति कति भन्थे यै घर मेरो ।

कति कति घस्थे रङ्ग कमेरो ।

आखिर सबको नाता पर भो ।

विधि वश ऐले हाम्रो घर भो ।

इँटाकाठको वटुली रास ।

यो घर ठाडो पार्ने खास ।

सकल विलाए कर्मी ज्यामी ।

ओत बसेका छौँ तिमी हामी ।

 

लेखनाथकृत उल्लिखित श्लोकबाट अनुमान गर्न सकिन्छ कि कविशिरोमणि लेखनाथ पौडेलको काव्य सिर्जनामा दार्शनिक चेत कति थियो भनेर । वर्तमानमा नेपाली समाजको आमूल परिवर्तनको नारा फलाक्ने राजनीतिक दल एवं ती दलका नेता गणहरूले राजतन्त्रको अत्याचारका कुराबारे बोल्ने हिम्मत गर्न डराउँदै गरेको देखेभोगेका हामी नेपालीसामु भीमशमशेरको पाला दरबारको पुजारीसरह भएर जीवन व्यतीत गरिरहेको त्यस कठिन ऐतिहासिक परिवेशमा लेखनाथले कवितामार्फत बोलेका तलका वाक्यले लेखनाथ एक क्रान्तिकारी सामाजिक अभियन्ता थिए भन्ने बुझाउँछ ।

उनका काव्यहरूले नेपाली साहित्यको माध्यमिक काल र आधुनिक काललाई छोड्दै आधुनिक कालको शूत्रपात गराएका छन् । उहाँका रचना आधुनिक जीवन जगत्को मूल्याङ्कन, शोषणप्रतिको विद्रोह, विश्व बन्धुत्वको परिचय एवं मानवतावादी सिद्धान्तले चुलिएका छन् । उहाँका काव्यबारे जति लेख्दा पनि अपूरै हुन्छ । जीवनको उत्तरार्धमा आफूलाई मनपर्ने कृति जन्माउन नसकेको असन्तोष भाव व्यक्त गर्ने लेखनाथले तरुण तपसीलाई अन्य सिर्जनाभन्दा बढी मन पराएको भाव व्यक्त गरेको पाइन्छ ।

पाँच वर्षको उमेरदेखि नै पढ्न थालेका लेखनाथलाई नौ वर्षको उमेरदेखि कविता लेख्ने प्रेरणा मिलेको थियो । काठमाडौँ तीनधारा पाठशालामा बसेर शिक्षा आर्जन गर्ने क्रममा एकदिन छात्रावासको एक कोठामा गोरखाका अग्निधरले रघुवंशको अर्थ लगाइरहेको बेला लेखनाथ त्यहाँ पुगेर सोध्दा उनले किताब बन्द गरेका र अर्थ सुन्ने इच्छा गरी उनलाई फेरि भन्न अनुरोध गर्दा लेखनाथको अनुरोधलाई उपेक्षा गरी टारिदिएका हुनाले उनलाई साहित्यमा लागेर ठुलो मान्छे बन्छु भन्ने थप प्रेरणा मिलेको थियो ।

लेखनाथका प्रेरणाका अर्का स्रोत शिवकुमार पनि थिए । शिव कुमारले छात्रावासमा समस्या पूर्ति गर्न दिन्थे तर समस्यापूर्ति गर्न लेखनाथलाई स्तर पुगेको छैन भन्दै सहभागी हुनबाट वञ्चित गर्दथे । स्तर नपुगेको भनेर आफूलाई नदिए पनि अरूको समस्या लिएर पूर्ति गरी पण्डितहरूलाई देखाउँदा ज्यादै राम्रो छ भन्ने प्रशंसाले प्रेरित हुँदै संस्कृतमा श्लोक लेखी बनारसबाट निस्कने ‘सूक्तिसुधा’ मा छपाउन थालेको प्रसङ्ग पाइन्छ ।

लेखनाथले नेपाली भाषामा लेखेको पहिलो कृति ‘वर्षा विचार’ थियो । वर्षा विचार लेख्ने प्रेरणा पनि उनले एक खालको इखमूलक कार्यबाट प्राप्त गरेका थिए । बनारसबाट फर्किएपछि एक दिन भोटाहिटीमा रहेको टिडिएच एन्ड पुस्तक पसलमा पाको उमेरका विद्वान्हरूले फारसी र संस्कृत भाषाका उच्च ग्रन्थहरू नेपाली भाषामा निस्कन सक्दैन भनेर गफ गरिरहेका र सबैजसोले त्यसैमा हो मा हो मिलाएर उनलाई एक्लो बनाएपछि उनीहरूलाई जवाफ दिने र नेपाली भाषालाई साहित्यको रूप दिने अठोट गर्दै उनले वर्षा विचार लेखेको सन्दर्भ पनि पाइन्छ ।

वासुदेव त्रिपाठीका अनुसार सूक्तिसुधा, सुन्दरी र ‘माधवी’ लगायतका साहित्यिक पत्रिकाबाट कविशिरोमणिको कवितायात्रा सुरु भएको थियो । संस्कृतका श्लोक भने समस्यापूर्तिको क्रममा नै ‘सूक्तिसुधा’ मा छापिइ सकेका थिए भने नेपाली भाषामा लेखिएका कविता “शृङ्गार पच्चिसी” र “मानसाकर्षिणी” शीर्षकमा ‘कविता कल्पद्रुम’ मा विसं २०६१–६२ तिर प्रकाशित भएका थिए । विसं १९६९ मा ५ वटा कविता लालित्य नामक कविशिरोमणिको र चक्रपाणि चालिसेका कवितासहितको संयुक्त कविता सँगालोमा प्रकाशित भएका थिए । कविशिरोमणिले चक्रपाणि चालिसेसँग मिलेर ‘शिशुबोधिनी’ नामक बाल साहित्यको पाठ्यपुस्तकको पनि निर्माण गरेको देखिन्छ । कविशिरोमणिको पहिलो सिङ्गो कृतिका रूपमा विसं १९७० मा शोकप्रवाह प्रकाशित भएको थियो भनिन्छ तर उक्त कृति वर्तमानमा उपलब्ध छैन ।

१९७३ सालमा सिङ्गो पुस्तक ऋतु विचार प्रकाशित भएको थियो । विसं १९७५ मा प्रकाशित चक्रपाणि चालिसेले लेखेको नेपाली सङ्क्षिप्त भारतभित्र ‘गीतासार’ कविशिरोमणिले लेख्नुभएको थियो । ‘गीतासार’ २०६१ सालमा छुट्टै पुस्तकका रूपमा पनि प्रकाशित भएको छ । १९७६ सालमा उहाँको अर्को सिङ्गो पुस्तक ‘सत्यकलि संवाद’ प्रकाशित भएको थियो ।

त्यतिबेलाको निरङ्कुश जहानियाँ राणा शासनको राजनीतिक दमनले गर्दा कृति छाप्न छपाउन निकै कठिन थियो । ‘सत्यकलिसंवाद’ मा राजनीतिक प्रसङ्ग आएकाले राजद्रोही भनेर दुई, तीन पटक पोल हालिएको र थुन्न खोजिएको थियो तर चन्द्रशमशेरले निर्दोष ठह¥याएका कारण थुनिनु परेको थिएन भन्ने प्रसङ्ग पनि पाइन्छ । १९९४ सालमा ‘लक्ष्मीपूजा’ नाटक, २००४ सालमा ‘पञ्चतन्त्र’ का मित्रभेदको अनुवाद, १९९४ सालमा नै सप्तप्रश्नात्मक बुद्धिविनोदको पहिलो विनोद, २००८ सालमा अमर ज्योतिको सत्यस्मृति प्रकाशित भएका थिए । २०१० सालमा कविता सँगालो ‘लालित्य’ प्रथम भाग र विशिष्ट काव्य ‘तरुणतपसी’ प्रकाशित भएको थियो । ‘मेरो राम’ ‘रामयण सार’ २०११ सालमा प्रकाशित भयो भने कालीदासको ‘अभिज्ञान शाकुन्तलम्’ नाटकको अनुवाद २०१५ सालमा प्रकाशित भएको थियो । २०२० सालमा ‘भर्तृहरिनिर्वेद’ नामक संस्कृत नाटक र २०२५ सालमा ‘लालित्य’ भाग २ प्रकाशित भएको थियो । त्यसै गरी २०६१ सालमा ‘गङ्गा गौरी’ अपूर्ण (चक्रपाणि चालिसेको ‘नेपाली सङ्क्षिप्त भारत भित्र’ रहेको गीतासार र ‘कविता’ पत्रिकामा छापिएका एकदेखि पाँच सर्गसम्मको ) महाकाव्य प्रकाशित भएको छ । माथि उल्लेख गरिएका प्रमुख कृतिबाहेक १९८६ मा गीताञ्जली, २००२ मा त्याग र तपस्याको युगल प्रकाश नामक काव्य कृतिहरू पनि प्रकाशित भएका भनिए पनि हाल भेटिँदैनन् ।

आधा शताब्दीसम्म सहित्य साधनामा जीवन व्यतीत गरेका लेखनाथलाई २००८ सालमा राजा त्रिभुवनबाट कविशिरोमणिको उपाधि प्रदान गरियो भने २०११ सालमा नेपाली शिक्षा परिषद्का आयोजनामा रथारोहण यात्रासहित अभिनन्दन गरिएको थियो । तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालासहित सबै मन्त्री कर्मचारी र साहित्यकार तथा समाजसेवीले कविशिरोमणि चढेको रथ तानेका थिए । रथयात्रासहितको अभिनन्दन नेपाली साहित्यका साधकलाई गरिएको पहिलो अभिनन्दन थियो । कविशिरोमणिलाई २०१४ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठान (तत्कालीन नेपाल रोयल एकेडेमी) को सदस्यमा पनि मनोनयन गरियो भने २०१९ सालमा उहाँको नामबाट हुलाक टिकट पनि प्रकाशित गरिएको थियो मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञा पुरस्कारबाट पनि उहाँ सम्मनित हनुभएको छ ।

लेखनाथको नामबाट सम्मान

२०५३ सालमा नेपाल सरकारले थप नगरपालिका निर्माण गर्ने क्रममा लेखनाथको जन्मस्थल रहेको ठाउँलाई समेट्दै लेखनाथ नगरपालिकाको गठन ग‍-यो । त्यो नेपालका साहित्यिक विभूतिहरूको नामबाट नामकरण भएको पहिलो नगरपालिका थियो । साहित्यिक नामबाट गठित यस नगरपालिकालाई साहित्यिक एवं सांस्कृतिक नगरपालिकाको रूपमा विकास गर्न सहयोग पु-याउने, कविको जन्मस्थल अर्घौं अर्चलेलाई साहित्यिक पर्यटन स्थलको रूपमा विकास गर्न, लेखनाथका कृतिको चर्चा एवं नेपाली साहित्य तथा संस्कृतिका अध्येतालाई सम्मान गर्ने हेतुले २०५५ सालमा भदौ २७ गतेका दिन लेखनाथ यस पङ्क्तिकारसमेतको पहलमा ( संस्थापक सचिव) साहित्य प्रतिष्ठान नेपालको स्थापना भएको गरियो । २०६४ सालमा लेखनाथ साहित्य पुरस्कार स्थापना गर्ने पहल पनि सुरु भयो । त्यसका बारेमा लेखनाथकी कान्छी छोरी कुन्तीदेवी भट्टराईको परिवार (कुन्तीदेवी आफैँ कवियत्री पनि हुन) विशेष गरी कुन्तीदेवीकी माइली छोरी डा. प्रतिभा पाण्डेसँग यस पङ्क्तिकारले गरेको प्रस्तावबमोजिम २०६६ सालमा लेखनाथ साहित्य पुरस्कार अक्षय कोशको स्थापना गरी २०६७ देखि हरेक लेखनाथ जयन्तीमा लेखनाथ साहित्य पुरस्कार प्रदान गरिँदै आएको छ ।

गोरखापत्रबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com