भूकम्प पीडितका लागि एनआरएनएको सहयोगमा रेडियोबाट मनोपरामर्श सुरू

-


     नेपालय न्युज    
     मंसिर १० गते २०८०


गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी परामर्श दिन रेडियो कार्यक्रम शुरु गरिएको छ ।

जाजरकोटमा गत महिना गएको भूकम्पका कारण प्रभावित जनसमुदायलाई मनोपरामर्श सेवा आवश्यक रहेको निष्कर्ष निकाल्दै एनआरएनएले स्थानीय ‘रेडियो हाम्रो पाइला’ एफएमसँगको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

भूकम्पपछि राहत वितरणका लागि एनआरएनएको टोली जाजरकोट र रुकुमपश्चिम पुगेका बेला त्यहाँका जनसमुदाय एकदमै तनावमा रहेको पाएपछि विपद्को समयमा सबैभन्दा भरपर्दो माध्यम रेडियो भएकाले मनोपरामर्श कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको संघका अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले बताए ।

अहिलेसम्म संस्कृतिविद् डा. चिन्तामणिनाथ योगी, मनोविद् गोपाल बोहरा, ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हत लगायत ६ जना विज्ञसँगको अन्तरवार्ता प्रसार भइसकेको जनाइएको छ ।

यसैगरी चर्चित कलाकार मनोज गजुरेलसँगको कुराकानी छिट्टै प्रसार गरिने नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष एवं रेडियो हाम्रो पाइलाका प्रबन्ध निर्देशक बालकुमार शर्माले बताए ।

आफ्ना प्रियजन गुमाएका भूकम्प पीडितलगायत समुदायका सबै सदस्यहरु लाभान्वित हुने गरी आफूहरुले कार्यक्रम निर्माण गरिरहेको र स्रोताहरुबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उनले बताए ।

अहिले साँझ सवा ६ बजेदेखि १ घण्टा प्रसारण भइरहेको कार्यक्रम बिहान पनि प्रसारण गर्न माग आएको अध्यक्ष शर्माले जानकारी दिए । उनले कार्यक्रम उत्पादन गर्न उत्प्रेरणा र सहयोग प्रदान गरेकोमा एनआरएनएलाई धन्यवाद दिए ।

यसैगरी, काठमाडौँस्थित मनोपरामर्श दिने संस्था ‘ह्याप्पी माइन्ड्स’ ले रेडियो हाम्रो पाइला एफएमलाई कार्यक्रम उत्पादनमा सहयोग गर्ने प्रमुख कार्यकारी श्रीया गिरीले बताइन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com