जनताद्वारा फ्याँकिएको राजतन्त्र आउँदैन : अध्यक्ष ओली

-


     नेपालय न्युज    
     मंसिर ८ गते २०८०


काठमाडौं, मंसिर ८ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले वाक्कदिक्क भएर फ्याँकेको राजतन्त्र पुनः आउने कुनै सम्भावना नरहेको बताउनुभएको छ । शुक्रवार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।

कतिपय देशहरुले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भए पनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसावले पनि राजतन्त्र उपयुक्त नरहेको उहाँले बताउनुभयो । एउटा मान्छेको छोरो जन्मिदै राष्ट्र प्रमुख हुने कुरा चेतना नभएका मुर्खहरुले मात्र गर्ने कुरा भएको उहाँले बताउनुभयो । त्यतिबेलाको दिन अब फर्केर नआउने उहाँको भनाइ छ ।

केही व्यक्तिहरु राजतन्त्र फर्काउँछु भनेर जनतामा भ्रम छर्ने गरे पनि त्यो सम्भव नरहेको उहाँले बताउनुभयो । देश संकटमा परेका बेला हामी युवाहरु छौं भनेर सन्देश दिएको भन्दै उहाँले युवा संघलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘केही तत्वहरु १५ वर्षअघि फ्याँलीसकिएका, हेर्दाहेर्दा वाक्कदिक्क भएर जनताले काम नलाग्ने चिज रहेछ भनेर फालेकालाई पुनः ल्याउँछु भन्नु मुर्खता हो । हाम्रो देशमा राजतन्त्र काम लाग्दैन भनेर नेपाली जनताले फालेका हुन् । २४० वर्ष राजतन्त्रले खाएकै हो, अब त्यो दिन आउँदैन ।’

‘युवा संघले हामी यहाँ छौ भनेर छातिमा टाँसेर होइन, रातो टोपी लगाएर हामी यहाँ छौ भनेर मैदान उत्रेर जे ग¥यो म तपाईहरुलाई धन्यवाद भन्न चाहन्छु । युवा संघले देश संकटमा परेको बेला संकटमा काँध थाप्ने हामी छौ है भनेर बोल्यो । धन्यवाद छ युवा संघलाई’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले बल्खुमा बिहीवार भएको प्रदर्शनमा पाँच सात हजार मान्छे आउँदा सरकार डराएको टिप्पणी गर्नुभयो । एमालेले जनतालाई निराश हुन नदिने उहाँले चर्चा गर्नुभयो । एमालेको पछि नेपाली युवाहरुको ठूलो पङ्ति रहेकाले आत्तिन आवश्यक नरहेको उहाँको भनाइ छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com