
गैर आवासीय नेपालीलाई नागरिकता दिनेगरी नियमावली मन्त्रिपरिषद्ले पास गरेको छ। भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गैर आवासीय नेपालीलाई राजनीतिक बाहेकका अधिकार प्रदान गरी नियमावली स्वीकृत गरेको हो।
‘नेपाल नागरिकता तेस्रो संसोधन नियमाली २०८० स्वीकृत’ मन्त्रिपरिषद् बैठकका निर्णयमा भनिएको छ।
गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष बद्रि केसीले सरकारले नागरिकता दिने गरी बनाएको नियमावली स्वीकृत गरेको बताए।
एनआरएनएले स्थापना कालदेखीनै गैर आवासीय नेपाली नागरिकता उपलब्ध गराउने व्यवस्था गर्न माग गर्दै आएको थियो।
‘हामी २० वर्षदेखी गैर आवासीय नेपालीले नागरिकता पाउनुपर्छ भन्दै आएका छौं,’ अध्यक्ष केसीले भने, ‘संघ स्थापनाको एउटा ठूलो उपलब्धी हो।’
केसीले अक्टुबरमा हुने ११ औं अधिवेशनमा राष्ट्रपतिको हातबाट नागरिकता दिने उद्देश्य राखेको बताए।
‘मन्त्रिपरिषद्ले नियमावली स्वीकृत गरिसकेको छ,’ उनले भने, ‘अब राष्ट्रपति वा प्रधानमन्त्रीबाट सांकेतिक रुपमा एक जनालाई अधिवेशनको बेला नागरिकता दिई सुरुवात हुन्छ।’
२०७९ असार २४ गते संसदमा संशोधन विधेयक दर्ता भएपनि २०८० जेठ १७ गतेमात्रै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका हुन्। त्यसअघि तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ८ बुँदे असहमति राखेर विधेयक संसदमा पठाएकी थिइन्।
तर संसदले राष्ट्रपतिले उठाएको विषय सम्बोधन नगरी पुन पासगरी प्रमाणीकरणका लागि पठाएको थियो। भण्डारीले विधेयक प्रमाणीकरण नगरी थन्काइन्।
कस्ता व्यक्तिले नागरिकता पाउँछन्? अधिकार के–के हुन्छन्?
नागरिकता ऐन २०७३ को दफा ७ क थप गर्दै गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ।
विदेशी मुलुकको नागरिकता प्राप्तगरी दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबार गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्जै नेपालको नागरिक रहेपछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको हुनुपर्छ।
व्यक्तिले आर्थिक, सामाजिक तथा संस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ।
गैर आवासीय नेपाली नागरिकता लिन चाहाने व्यक्तिले बुबा आमा वा बाजे बजै साविकमा नेपालको नागरि रहेको प्रमाण पेश गर्नुपर्ने छ।
सम्बन्धित व्यक्तिले नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेश गर्नुपर्छ।
विदेशी मुलुकको नागरिकता भएको प्रमाण, दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठनका सदस्य राष्ट्रबाहेकको देशमा बसोबास गरेको प्रमाण देखाउनु पर्ने छ।
नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैर आवासीय नेपाली नागरिकताकालागि निवेदन दिदाँ निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र समेत पेश गर्नुपर्ने छ।
नेपालखबरबाट