प्रधानमन्त्री प्रचण्ड अमेरिकामा

-


     नेपालय न्युज    
     भाद्र ३१ गते २०८०


भदौ ३० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका पुग्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका पुग्नुभएको हो।

प्रधानमन्त्री प्रचण्डलाई आइतबार जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थाई प्रतिनिधि लोकबहादुर थापा लगायतले स्वागत गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको हो।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गर्नुभएको हो। आगामी असोज ४ गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले दिएको कार्यसूची अनुसार महासभाको आमबहसमा ‘विश्वासको पुनर्निर्माण र विश्वव्यापी एकताको पुनर्निर्माणः २०३० एजेन्डा र यसको दिगो लक्ष्यमा सबैका लागि शान्ति, समृद्धि, प्रगतिका लागि द्रुत कार्य’ शीर्षकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुहुने छ।

महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै असोज २ गते संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा उहाँ सहभागी हुनुहुने छ।

अमेरिकामा रहँदा उहाँले राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसम्बन्धी शिखर सम्मेलन र जलवायु महत्वाकाङ्क्षा शिखर सम्मेलनमा पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गरी आपसी हित र शान्ति सेनामा नेपालको प्रगतिको समीक्षा गर्नुहुने छ। त्यस्तै विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दै आपसी साझेदारीका लागि पहल गर्नुहुने छ।

राष्ट्रसङ्घ जाने नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीका साथमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्र सचिव भरतराज पौड्याल तथा परराष्ट्र मन्त्रालयका अन्य उच्चाधिकारी सहभागी हुनुहुन्छ। परराष्ट्रमन्त्री साउद केही दिनअघि नै अमेरिका पुगिसक्नुभएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com