पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न जजिरा एयरवेजको चासो

-


     नेपालय न्युज    
     असार २१ गते २०८०


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न जजिर एयरवेजले चासो दिएको छ।

जजिरा एयरवेजका काठमाडौं स्टेसन प्रमुखसहितको टोलीले बिहीबार पोखरा विमानस्थलका प्रमुख विक्रम गौतम लगायतसँग भेटेर पोखराबाट उडान भर्न चासो दिएको हो।

‘जजिरा एयरवेजको टोलीले पोखराबाट मध्यपूर्वी देशमा उडान भर्न सकिन्छ कि सकिँदैन भनेर बजारको अध्ययन गरिरहेको छ,’ गौतमले भने, ‘हामीले पोखराबाट मध्यपूर्व उडान गर्न सकिने आधार दिएका छौं।’

नेपाल पर्यटन बोर्डका अनुसार नेपाल आउने कुल विदेशी पर्यटकको ४० प्रतिशत पोखरा आउने गरेकाले पोखराबाट अन्तर्राष्ट्रिय उडान सम्भव हुने गौतमले बताए।

जजिरा एयरवेजको टोलीले पोखराबाट मध्यपूर्वी देशहरू दुबई, कतार र साउदी अरबमा उडान भर्न चाहेको उनको भनाइ छ।

पोखरा विमानस्थलका प्रमुख गौतमसहितको टोलीसँग भेटघाट क्रममा जजिरा एयरवेजका अधिकारीहरूले बजार सर्वेक्षण गरेपछि पोखराबाट उडान गर्ने वा नगर्नेबारे निर्णय लिने जानकारी दिएका छन्। आउँदो पर्यटकीय सिजनमा पोखराबाट उडान भर्न उनीहरूले इच्छा देखाएको गौतमले बताए।

पोखरा विमानस्थल निर्माण भएपछि पहिलोपटक चीनको सिचुवान एयरको जहाज चार्टर फ्लाइटमार्फत् पोखरा अवतरण भएको थियो। चीन सरकारले पोखरामा आयोजना गरेको ड्रयागन बोट फेस्टिभलमा भाग लिने खेलाडीलाई लिएर असार ६ गते उक्त जहाज पोखरा अवतरण गरेको थियो।

जजिरा एयरको टोलीलाई विमानस्थलबारे जानकारी गराउँदै गौतमले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न विमानस्थल तयार रहेको र अत्याधुनिक प्रविधि प्रयोगमा रहेको बताएका थिए।

सेतोपाटीबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com