कोलोराडोमा डढेलोका कारण सयौं घरहरू प्रभावित

-


     नेपालय न्युज    
     पौष १७ गते २०७८


अमेरिकी राज्य कोलाराडोमा तीव्र गतिमा फैलिइरहेको डढेलोले सयौं घरहरू ध्वस्त पारेको स्थानीय अधिकारीले बताएका छन् । स्थानीय प्रशासनका अनुसार डढेलोका कारण कम्तीमा ३३ हजार व्यक्तिलाई उनीहरूको घर खाली गरी सुरक्षित स्थलतर्फ लगिएको छ

लामो समयसम्मको खडेरीले गर्दा सुख्खा बनेको जङ्गली तथा घाँसे मैदानलाई आगोको ज्वालाले समातेपछि ती क्षेत्रमा रहेका घरहरू पनि डढेका हुन् ।

कोलोराडोको बोल्डर काउन्टीमा कम्तीमा एक हजार ६०० एकड (६५० हेक्टर) जमिनमा डढेलो लागेको छ । अधिकांश उपनगरीय क्षेत्रमा आगलागी हुँदा मृत्यु र घाइते हुनेका सम्भावना रहेको अधिकारीहरूले चेतावनी दिएका छन् । सहरको एउटा होटल, सपिङ सेन्टर र अपार्टमेन्ट कम्प्लेक्स पनि डढेलोका कारण जलेका छन् ।

बोल्डर काउन्टी शेरिफ जो पेलेले बिहीबार पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीलाई थाहा भएअनुसार सागामोर उपशाखाका करिब ३७० घर डढेलोका कारण खरानीमा परिणत भएका छन् । आगोको परिमाण, तीव्रता र घना जनसंख्या भएको क्षेत्रमा यसको उपस्थितिले गर्दा यहाँका स्थानीयहरू डढेलोमा जलेर घाइते हुने वा मृत्यु हुने सम्भावना अत्यधिक छ । यद्यपि अहिलेसम्म कुनै हताहतको सूचना बाहिरिएको छैन ।”

कोलोराडोका सञ्चार माध्यमहरूले डढेलोका कारण कम्तीमा पनि छ जना बिरामी वा घाइते भएर अस्पतालमा भर्ना भएका समाचारमा उल्लेख गरेका छन् ।

लुइसभिल र सुप्रिम शहरका लगभग ३३,००० मानिसहरूलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ ।

शुक्रबार बिहानसम्ममा मौसम परिवर्तनको सङ्केत देखिएको र आगामी दुई दिन कोलोराडोमा भरी हिमपातको पूर्वानुमान गरिएको छ । मौसममा देखिएको परिवर्तनको सङ्केतले कोलोराडोबासीलाई तत्कालका लागि डढेलोजन्य सङ्कटबाट राहतको महशुस हुने देखिएको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com