यी हुन् २०२१ का विश्वकै सर्वाधिक १० ठूला विमानस्थल

-


     नेपालय न्युज    
     पौष १६ गते २०७८


विमानस्थलहरु भनेको एक मुलुकबाट अर्को मुलुकमा जाने राम्रो द्वार हुन् । यो पनि हवाई यात्रामा जानेहरूका लागि । उड्डयन केन्द्रहरूले विमानका लागि पूर्वाधार उपलव्ध गराउछ । यसले आप्रवासन,कार्गो लगायतका सामग्री ओसार पसार गर्छ । कोभिड–१९ सुरु हुनु अगाडि यात्रुको संख्यामा भएको वृद्धिले धेरै विमानस्थलहरु बढी भीडभाडयुक्त भएका थिए । यसका लागि विमानस्थलको आकारमा पनि वृद्धि हुनु आवश्यक थियो । त्यसैले कतिपय विमानस्थल हरुले आफ्नो आकारलाई पनि बढाएका छन् । हामीले यहाँ क्षेत्रफलका आधारमा २०२१ मा विश्वकै ठूला १० विमानस्थल प्रस्तुत गर्न लागेका छौ ।

१०. सुवर्णभूमि अन्नर्राष्ट्रिय विमानस्थल (बीकेके) –३२.४ वर्ग किलोमिटर

यो विमानस्थललाई दक्षिणपूर्वी एसिया क्षेत्रकै ठूलो अन्तर्राष्ट्रिय विमानस्थल मानिएको छ । २००६ मा सुरु भएपछि यो विमानस्थल थाइ एयरवेज, थाइ स्माइल, बैंकक एयरवेज र थाई भीटजेटका लागि प्रमुख केन्द्र बन्दै आएको छ । सुवर्णभूमिमा ३ टर्मिनल रहेका छन् । यो विमानस्थलमा २ वटा समानान्तर धावनमार्ग छन् ।

९. कायरो अन्तर्राष्ट्रिय एयरपोर्ट (काइ)–३६.३ वर्ग किलोमिटर

कायरो अन्तर्राष्ट्रिय विमानस्थल सन् १९४५ देखि सक्रिय रुपमा सुरु भएको हो । यो विमानस्थल हेलिओपोलिसमा अवस्थित छ । यो इजिप्टकै व्यस्त विमानस्थल हो र इजिप्ट एयर, नाइल एयरका लागि प्रमुख केन्द्रको रुपमा रहँदै आएको छ ।

यसमा ४ टर्मिनलहरू छन् । ३ प्रमुख टर्मिनलहरू अन्तर्राष्ट्रिय र घरेलू उडानका लागि सेवा पु¥याउँदै आएका छन् । अर्को टर्मिनलले भने सञ्चालन अवरोधहरूलाई हटाउने काम गर्छ । यहाँ दुईवटा रनवे छन् ।

८. सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल (पीभीजी) – ३९.१ वर्ग किलोमिटर

यो विमानस्थलले सन् १९९९ मा मात्रै व्यवसायिक उडान सुरु गरेको थियो । सांघाई पुडोङ विमानस्थल सांघाई एयरलायन्स र चाइना इस्टर्न एयरलायन्सको लागि केन्द्र बन्दै आएको छ ।

पुडोङ विमानस्थलमा दुई प्रमुख यात्रु टर्मिनल छन् । पहिलो र दोस्रो टर्मिनलले आन्तरिक र अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । तेस्रो टर्मिनल सन् २०१५ देखि सञ्चालनमा आएको हो । हाल यसमा ४ वटा धावनमार्गहरु छन् ।

७. जर्ज बुस अन्तर्राष्ट्रिय विमानस्थल (आइएएच) –४०.५ वर्ग किलोमीटर

सुरुमा हाउसटन इन्टरकन्टिनेन्टल विमानस्थलको नाम दिइएको यो विमानस्थल सन् १९६९ मा सुरु भएको थियो । यो विमानस्थल युनाइटेड एयरलायन्सको लागि दोस्रो ठूलो हो । पछि आएर जर्ज बुस विमानस्थल भन्न थालिएको यो विमानस्थलमा ५ टर्मिनल छन् । टर्मिनल ए, बी,सी, डी र ईले घरेलू र अन्तर्राष्ट्रिय उडानहरु भर्दै आएका छन् । यो विमानस्थलमा ५ धावनमार्ग छन् ।

६.बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल (पीकेएक्स) – ४७ वर्ग किलोमिटर

आकारको आधारमा बेइजिङ ड्याक्सिङ विमानस्थल छैटौँ ठूलो हो । यो विमानस्थलले विश्वमा एकल ठूलो भवनको उपाधि समेत पाएको छ । यो विमानस्थल सन् २०१९ मा खुलेको थियो । विमानस्थल तीन प्रमुख चिनियाँ एयरलायन्स हरु एयर चाइना, चाइना साउदर्न एसरलायन्स र चाइना इस्टर्न एयरलाइन्सका लागि केन्द्र बन्दै आएको छ ।

यसमा एक मात्र टर्मिनल रहेको छ । यद्यपि यो विश्वमा एकमात्र टर्मिनल भवन भएको विमानस्थलको रुपमा रहेको छ । यो विमानस्थलको डिजाइन स्टारफीस माछाको जस्तै छ । यो विमानस्थलमा ४ ओटा धावनमार्ग छन् ।

५.ओरल्यान्डो अन्तर्राष्ट्रिय विमानस्थल (एमसीओ) –५०.९ वर्ग किलोमीटर

यो विमानस्थलले १९८१ मा व्यवसायिक सेवा सुरु गरेको हो । ओरल्यान्डो विमानस्थल जेटब्लू, साउथवेस्ट एयरलायन्स र स्पिरिट एयरलायन्सको संचालनका लागि प्रमुख केन्द्र बन्दै आएको छ । ओरल्यान्डो विमानस्थलमा दुई भागमा विभाजित भएको एक प्रमुख टर्मिनलको विशेषता रहेको छ ।

४.वासिङटन डलेस् अन्तर्राष्ट्रिय विमानस्थल (आईएडी) – ५२.६ वर्ग किलोमिटर

वासिङटन डलेस् अन्तर्राष्ट्रिय विमानस्थल धेरैजसो डलेस् अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा चिनिँदै आएको छ । विमानस्थलले आफ्नो सेवा सन् १९६२ बाट सुरु गरेको थियो । यो विमानस्थल युनाइटेड एयरलाइन्सका लागि प्रमुख केन्द्रको रुपमा रहँदै आएको छ ।

३. डलास फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थल (डीएफडब्लू) – ६९.५ वर्ग किलोमीटर

डलास फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलले सन् १९७४ बाट आफ्नो सेवा सुरु गरेको हो । यो विमानस्थल अमेरिकन एयरलाइन्सका लागि प्रमुख उड्डयन केन्द्र हो ।

डलास विमान्स्थलमा ५ टर्मिनल रहेका छन् । ‘ए’ पूर्ण रुपमा अमेरिकन एयरलाइन्सले भरिएको हुन्छ भने बाँकीले अन्तर्राष्ट्रिय र घरेलू दुबै उडान भर्दै आएका छन् । विमानस्थलमा कुल ७ धावनमार्ग छन् ।

२. डेनभर अन्तर्राष्ट्रिय विमानस्थल (डेन)–१३५.७ वर्ग किलोमीटर

डेनभर अन्तर्राष्ट्रिय विमानस्थलले सन् १९९५ बाट आफ्नो सेवा सुरु गरेको थियो । यो विमानस्थल युनाइटेड एयरलायन्स फ्रन्टियर एयरलायन्सको केन्द्रको रुपमा चिनिँदै आएको छ । विमानस्थल साउथवेस्ट एयरलाइन्सका लागि पनि आधार बन्दै आएको छ । विमानस्थलमा एक मात्र टर्मिनल छ । विमानस्थलमा ६ वटा धावनमार्ग छन् ।

१. किङ फाद अन्तर्राष्ट्रिय विमानस्थल (डीएमएम)– ७७६ वर्ग किलोमीटर

किङ फाद अन्तर्राट्रिय विमानस्थल दमाम विमानस्थलको रुपमा पनि चिनिँदै आएको छ । यो विमानस्थल सन् १९९९ मा खुला भएको थियो । यो विमानस्थल साउदिया, साउदी गल्फ एयरलायन्स र फ्लाइनासका लागि केन्द्र बन्दै आएको छ । विमानस्थलमा ३ टर्मिनल भवनहरु छन् । ६ तले प्रमुख टर्मिनलले अन्तर्राष्ट्रिय र घरेलु उडानहरु संचालन गर्छ । अरामको टर्मिनलले साउदी अरामकोले सञ्चालन गर्दै आएको निजी विमानहरु संचालन गर्ने गर्छ । द रोयल टर्मिनल सेवाले साउदी अरेबियाको शाही परिवार, अधिकारिक पाहुना र सरकारी अधिकारीहरुलाई सेवा दिँदै आएको छ । यो दमाम विमानस्थलमा २ धावनमार्ग छन् ।

एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com