पोखराका लाखौं दर्शकको प्रतिक्षामा “बाघजात्रा”

-


     नेपालय न्युज    
     भाद्र ५ गते २०८०


रवीन्द्र माकाजू ।
सुन्दर पर्यटकीय नगरी पोखरामा २३ वर्षको अन्तराल पछि २०८० साल भाद्र १८–२० मा बाघजात्रा आयोजना हुँदैछ । यसर्थ पोखरा मात्रै होइन, छिमेकी जिल्लााबासी पनि ऐतिहासिक बाघजात्रा हेर्न आतुर छन् । लाग्छ– सबै प्रतिक्षामा छन् । मलाई प्राप्त जानकारी अनुसार विदेशमा रहेका पोखरेलीहरु दशैं अगावै बाघजात्राको शुभ साइत पारेर पोखरा फर्कन चाहन्छन् । २३ वर्षको लामो अन्तराल पछि प्रदर्शन हुन लागेको बाघजात्रा हेर्न मलाई लाग्छ– यस पटकको बाघजात्रा करिब ३ लाख दर्शकले अवलोकन गर्नेछन् । लोकप्रियताको हिसाबले पनि ऐतिहासिक बन्ने छ । यो वर्षको बाघजात्रा भव्य एवं ऐतिहासिक हुनुको पछाडि केही महत्वपूर्ण कारण छन् । पहिलो कारण – यो बाघजात्रालाई प्राप्त पोखरा महानगरपालिकाको पूर्ण साथ र समर्थन । पोखरामा प्रचलित हरेक जात्रापर्व मेला, संस्कृतिलाई संरक्षण गर्ने महानगरपालिकाको निति अनुरूप यस वर्ष आवश्यक धनराशीको व्यवस्था भएको छ बाघजात्रालाई । यस वर्षमा भैरवजात्राको संरक्षण गरे जस्तै पोखरा महानगरपालिकाले पोखरा वरिपरिका नगरपालिकाका मेयर, प्रदेश सरकार, सभासद मात्रै होइन, यो जात्राको अवलोकनका लागि महानगरपालिकाले समस्त पोखरेलीलाई हार्दिक निमन्त्रणा गर्दैछ । यसरी यो जात्रासँग समस्त पोखरा र पोखरा महानगरपालिका जोडिएको छ । पोखराकै प्रतिष्ठा र स्वाभिमानको विषय बनेको छ । दोस्रो कारण लामो समयपछि आयोजना गरिएकाले यो जात्रा कस्तो हुन्छ यसका के के विशेषता छन् भनेर जान्ने जिज्ञासा सबैमा व्याप्त हुनु । अर्को कुरा अब यो जात्रा भविष्यमा कहिले निस्कन्छ या निस्कन्न ? एक पटक जीवनमा हेर्नै पर्छ भन्ने आम धारणा रहेको मैले पाएको छु । यसकारण आफ्नै घरआगँनमा निस्कने बाघजात्रालाई कुनै पनि हालतमा हेर्नुपर्छ भन्ने धारणा बनेको छ हरेक पोखरेलीका मनमा । मान्छे जात्रा, पर्व हेर्न कति टाढा टाढा पुग्छन् कति कति खर्च गर्छन् । सात समुन्द्र पारीका मान्छे बाघजात्रा हेर्न, भैरवजात्रा हेर्न पोखरा आउँछन् भने पोखरामै भएकाहरुले बाघजात्रा हेरेर आनन्दको अनुभूति किन नगर्लान् ? तेस्रो कारण हो यसपटक यो जात्रालाई छिमेकी जिल्लाहरुको पनि साथ र सहयोग । पोखराका २३ वर्ष पछि निस्कने बाघजात्रामा सहभागी हुन भक्तपुर नगरपालिकाले करिब १०० जनाको सांस्कृतिक टोली पोखरा पठाउँदैछन् । बाग्लुङबाट त्यस्तै १०० जनाको टोली हनुमान नाँच बोकेर पोखरा आउँदै छन् । त्यस्तै तनहुँ, लम्जुङ, गोर्खा, पर्वत, स्याङ्जा कुनै न कुनै सांस्कृतिक टोली आफ्नो पहिचान बोकेर आफूलाई यस जात्रामा सहभागी गराउँदैछ । जिल्ला जिल्ला बिचको सांस्कृतिक सहयात्रा पनि बन्न जाने यस पटकको बाघजात्रा २०८० सँग पोखरा महानगरपालिका र समग्र पोखरा जोडिएपछि स्थानीय निकाय सङ्घसंस्थाले पनि खुलेरै सहयोग गर्ने छन् । जसरी काठमाडौंको भोटोजात्रा, ईन्द्रजात्रा, कुमारीको रथयात्रा, मच्छेन्द्रनाथको जात्रालाई आफ्नो ठान्छन्, त्यसरी नै यहाँका भैरवजात्रा, बाघजात्रालाई माया गरेर सहयोग गर्नेहरू पोखरामा निकै छन् भन्दा फरक पर्दैन । यो जात्राको सफलताको कामना गर्दै बेलायतबाट, अमेरिकाबाट त्यहाँ रहेका नेपालीले जुन रूपमा सहयोग गर्दैछन् यो एउटा सानो उदाहरण मात्र हो । अहिले बाघजात्राका लागि कलाकार बन्न होडबाजी नै चलेको छ । मलाई सम्झना छ, ०५७ सालमा तेर्सापट्टीका रामप्रसाद श्रेष्ठ बाघजात्रामा राजा बने । उनी लाखौं मान्छेका नजरमा परे । सबैले आदर सम्मान गरे । उनी राजा बनेकोे देखेर छोरा शिव श्रेष्ठले आफ्ना बाबुलाई भने– बुबा ! तपाईंको ठाउँमा म राजा बन्छु नि ! छोराले राजा बन्ने चाहना राखेपछि बाबुको मन पग्लने नै भयो । भोलिपल्ट छोरा (शिव) राजा बने । यो खबर बुहारीले थाहा पाई तत्कालै भनिन्– म पनि त रानी बन्छु नि ! अरूलाई किन रानी बनाउनु प¥यो ?

रवीन्द्र माकाजू

अहिले पोखरामा बाघजात्रामा कलाकार बन्न होडबाजी नै चलेको छ । प्रधानसेनापति, सेनापति बन्नका लागि निवेदकहरुको ताँती नै छ । राजा, रानी बन्न ईच्छा गर्नेहरू ह्वात्तै बढेको छ । हँसाउने कलाकारहरू शुभअवसर खोजीराखेका छन् । बाघजात्राका कलाकार पनि ऐतिहासिक पात्र बन्दछन्– २०१४ सालमा बालकृष्ण बड्गामी, २०२२ सालमा हेमबहादुर प्रधान राजा बनेका थिए । बाघजात्रामा बाघ बनेका कलाकारहरू बगरेली माईला (गोर्खाली लाटा), दीपकलाल उदाशलाई मान्छे अहिले पनि सम्झिरहन्छन् । त्यस्तै राजा बनेका कलाकारहरू प्रकाशमान गुभाजू, शम्भुरत्न शाक्य, पवनमान गुभाजू, रामप्रसाद श्रेष्ठहरुको मान्छेले बिर्सदैनन् । त्यस्तै रमेश भारी, वाशुदेव भारी, विक्रम उदाश, हर्कमान शाही, वासुदेव अधिकारी, रतन ब. उदास, बलबहादुर ताम्राकार, कृष्णमान गुभाजू, आनन्द रञ्जित, शंकर श्रेष्ठ जस्ता कलाकार अमर छन् । त्यस्तै बाघजात्रा आयोजना गर्ने टोल भनेर इतिहास कोरिन्छ र कोरिएका छन् । ०५७ सालका संयोजक बनेका जवाहरलाल श्रेष्ठ २०८० सालमा पनि बाघजात्राका संयोजक बनेका छन् । लाग्छ श्रेष्ठ पनि पोखराको सांस्कृतिक इतिहासका एक अमर पात्र बन्न पुगेका छन् । समग्रमा भन्नुपर्दा बाघजात्रा २०८० भव्य रूपमा सफल हुनेमा अब कसैले शंका, उपशंका गर्नुपर्दैन । यस जात्रालाई टोलटोलबाट सहयोग र समर्थन आउने क्रम शुरु भएको छ । प्रायजसो टोलबाट यो बाघजात्रा हामीले के कसरी सहयोग गर्न सक्छौ भनेर जिज्ञासा राख्ने गरेका छन् । यो बाघजात्रा समस्त बजारलाई एकशुत्र बनाउने माध्यम हो । समस्त पोखराबासीको सहयोगले नै बाघजात्रा सम्पन्न हुनसक्छ । यसर्थ यो बाघजात्रा सफल बनाउन सबैमा हार्दिक अपिल गर्दछु । मैले भन्ने गरेको छु टोलले एउटा मात्र आइटम कि घोडाजात्रा, कि गाईजात्रा, कि लाखे नाच या आमा समूहको संलग्नता गराई सहयोग गर्नुस् । कुनैपनि टोल नछुटोस् भन्ने हाम्रो चाहना र सदिक्षा भएको विचार व्यक्त गरेको छु । यो एउटा ऐतिहासिक, सांस्कृतिक पूण्यकार्य र शुभ अवसर भएकाले यो सुखद अवसरलाई भरपुर उपभोग गर्न समस्त पोखरेलीलाई हार्दिक आव्हान गर्न चाहन्छु ।

WP2Social Auto Publish Powered By : XYZScripts.com