‘मतपेटिका साट्न सम्भव छैन, चुनावमा धाँधलीको कल्पना नगरौँ’

-


     नेपालय न्युज    
     कार्तिक २० गते २०७९


प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा मतपेटिका साटिन्छ कि भनेर आशंका नगर्न आग्रह गरेका छन्।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आइतबार काठमाडौंमा आयोजित पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँगको सामूहिक छलफलमा यस्तो बताएका हुन्।

उनले आफूले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको दोहोर्‍याउँदै आगामी निर्वाचनमा त्यस्तो कहीँकतै हुन नदिने दृढता व्यक्त गरे।

सेक्युरिटी कोडको आधारमा मतपत्र छापिने भएकाले मतपेटिका फेरिए धाँधली सम्भव नभएको उनले बताए। मतपेटिका साटिँदा त्यहाँभित्रको मतपत्र आयोगको हुनै नसक्ने उनको तर्क थियो।

‘मैले करिब ४० वर्षदेखि सार्वजनिक क्षेत्रमा काम गर्दै आएको छु। मेरो अनुभवले अहिले आएर हेर्दाखेरी यो मतपेटिका कसरी साटिँदो रहेछ भन्ने तरिका जान्दै नजानी मेरो यो पद सकिन्छ कि भन्ने मलाई डर छ। म यसलाई प्रष्ट पारौँ। मतदान कसरी सम्पन्न हुन्छ भन्नेबारे मैले भन्नैपर्ने हुन्छ। मटपेटिका कसरी साटिन्छ आखिर हिजो त भए छ नि! मैले त्यो दिब्यज्ञान प्राप्त गर्न सकेँ भने त्यस्तो हुन नदिने ग्यारेन्टी गर्छु’, उनले भने, ‘जुनसुकै मूल्य चुकाउन परोस्। तर त्यो दिब्यज्ञान कहीँबाट प्राप्त होस्।’

उनले हरेक निर्वाचनमा करिब १० प्रतिशत मतपत्र छाप्ने गरेको बताए। ‘एउटा मतदान केन्द्रमा १ हजार टेन्टेटिभ मतदाता हुन्छन्। मान्नुस् हजार जना मतदाता हुँदा त्यहाँ हामी ११ सय मतपत्र पठाउँछौं। कुनै च्यातिन सक्छ। कुनै टुटेको हुन सक्छ। टुटफुट सबै हेरेरै पठाउने हो। त्यति हामीले पठाउँछौं। यहाँबाट मतपत्र छापिन्छ। अहिले निर्वाचन अधिकृतको कार्यालयमा गएको छ। त्यसपछि त्यो मतदान केन्द्रमा निर्वाचन अधिकृतले लिएर जान्छ। र, यो सबै छरिन्छ। हरेक ठाउँका मतपत्र फरकफरक हुन्छ’, उनले भने, ‘कसैले मतपेटिका छाप्दा सेक्युरिटी कोड हुन्छ। प्रत्येक मतपत्रमा फरक फरक सेक्युरिटी कोड हुन्छ। त्यो गोप्य डायरीमा हामीले लेखेको हुन्छौँ। त्यहाँको मतपत्रमा त्यस्तो सेक्युरिटी कोड हुन्छ भनेर। सम्झनुस कसैले मतपेटिका फेर्‍यो भने के खाली मतपेटिका फेर्ने कि हालेको मतपेटिका फेर्ने? त्यो मतपत्र कहाँ हुन्छ र हाल्ने। हामीले के भन्न पर्‍यो भने कि अर्को साटने गरी मतपत्र पठाएको छ भनेर शंका गरिदिनु। त्यो मतपत्रको सुरक्षा गर्न नेपाली सेनाको टुकडी हुन्छ। अब जेलाई पनि आशंका नै गर्ने हो भने तरिका जान्दै नजानी मलाई मेरो पद सकिन्छ कि डर छ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आफूले निर्वाचनमा मतपेटिका साटिन्छ भन्ने अनुभव कहिल्यै नगरेको बताए।

उनले निर्वाचन आचारसंहिताको पालना गराउन आयोग कडाइसाथ लागि परेको समेत बताए। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने आयोगको अभिभाराप्रति आशंका नगरिदिन पनि अनुरोध गरे।

त्यसका लागि सम्बन्धित पक्षले खवरदारी गरिदिनुपर्ने उनको भनाइ थियो। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले अग्रजहरुको अनुभवलाई आत्मासाथ गरेर अघि बढने समेत बताए।

‘भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्दछ। यसका लागि तपाईहरुको सहयोग, हाम्रो अभिभारा, अग्रजजीहरुको अनुभव, त्यसलाई फ्युजन गराएर हामी केही न केही नयाँपन निकाल्ने प्रयत्न गर्छौं’, उनले भने, ‘हाम्रो निष्ठामाथि शंका नगरिदिनोस्। बरु हामीलाई यसैगरी खवरदारी गरिदिनोस्।’

नेपालखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com