सप्तरंग साँझ पुस ९ गते पोखरा अमरसिंहमा हुने

-


     नेपालय न्युज    
     पौष ५ गते २०७८


पोखरा ।
देशका सातवटै प्रदेशमा आयोजना हुने गरी देश दौडाहा निस्केको ‘टिभिएस रेडर सप्तरंग–३’ पुस ९ गते पोखरामा हुने भएको छ । पोखराको अमरसिंह मैदानमा हुने उक्त कार्यक्रममा देशका आधा दर्जनभन्दा बढी ख्यातिप्राप्त कलाकारले प्रस्तुति दिनेछन् ।


नेपाल समुदाय प्रहरी साझेदारी कार्यक्रमसँगको सहकार्यमा भइरहेको उक्त कार्यक्रमको तयारी पूरा भइसकेको स्थानीय आयोजक बार्दली मिडियाले जनाएको छ । ‘सातै प्रदेशलाई सँगै जोड्ने गरी कार्यक्रम गरिरहेका छौं । तेस्रो संस्करणसम्म यसलाई सांगीतिक उत्सवकै रुपमा उभ्याउन सफल भएका छौं,’ बार्दलीका निर्देशक मन क्षेत्रीले भने । उनका अनुसार कार्यक्रम निशुल्क हुनेछ ।
सप्तरंगमा अभिनेता राजेश हमाल, गायक रामकृष्ण ढकाल, रामकृष्ण ढकाल, प्रमोद खरेल, बद्री पंगेनी, मिलन नेवार, अनिल सिंह, अस्मिता अधिकारी, सन्दीप क्षेत्रीको प्रस्तुति रहनेछ । मंसिर २४ देखि देश दौडाहामा निस्केको सप्तरंग टोली विभिन्न प्रदेशमा प्रस्तुति सकेसँगै पोखरा आउन लागेको हो । पोखराको प्रस्तुतिसँगै तेस्रो संस्करणको समापन गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायत विभिन्न मन्त्रालय मन्त्री, पोखरा महानगर कार्यवाहक उपप्रमुख, प्रदेश प्रहरी प्रमुख लगायतको सहभागिता रहने स्थानीय आयोजक बार्दली मिडियाका क्षेत्रीले जानकारी दिएका छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com