मनाङका सरकारी कार्यालयमा गण्डकी सरकारले दियो सोलार

-


     नेपालय न्युज    
     असार १८ गते २०७८


पोखरा । मनाङका १६ वटा सरकारी कार्यालयका लागि गण्डकी प्रदेश सरकारले सोलार प्यानल, इन्भर्टर र ब्याट्री उपलब्ध गराएको छ ।
बिजुली नभएका कारण अस्पतालको उपचारसेवा र सरकारी काम प्रभावित भएकोले सोलार खरिद गरी पठाइएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छरितो प्रक्रियामार्फत् सामान खरिद गरी पठाएको हो । करिब १९ लाख रुपैयाँको सामान खरिद गरेर हेलिकोप्टरमार्फत् चामे पठाउने व्यवस्था गरिएको छ ।
सामान ढुवानीका लागि लागेको ४ लाख ३१ हजार रुपैयाँ गण्डकी सरकारले नै व्यहोरेको छ । सार्वजनिक खरिद ऐनको दफा ४१(१) (घ३) बमोजिम विशेष परिस्थितिमा सार्वजनिक खरिद प्रक्रिया अपनाई सामान पठाइएको हो । सामान खरिद गरेर लमजुङ सदरमुकाम बेंसीसरहरमा पु¥याइएको छ । बुधबार नै सामान बेंसीसहर पु¥याएको भए पनि मौसम खराब भएका कारण हेलिकोप्टर उड्न नसकेकाले समस्या आएको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले बताए।
मनसुनको सुरुसँगै मनाङ जिल्ला अन्धकारमा छ । बाढी पहिरोका कारण स्थानीयस्तरका लघुजलविद्युत योजनामा क्षति पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको पोल ढलेका कारण मनाङ सदरमुकाम चामेसहित गाउँहरुमा बिजुली बलेको छैन । असार मसान्तमा सम्पादन गर्ने कामसमेत बिजुली नभएकै कारण प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय मनाङले तोकेको प्राथमिकता क्रम अनुसार सोलार सरकारी कार्यालयहरुलाई प्रदान गर्न लागिएको हो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा असार ६ गते बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले सोलार खरिद गरेर पठाउने निर्णय गरेको हो । विद्युतीय भुक्तानी र कम्प्युटर प्रणालीमा आधारित सेवा प्रवाह प्रभावित भएको थियो । स्वास्थ्य कार्यालय प्रमुख बद्री आचार्यले बिजुली नहुँदा कोभिडविरुद्धको खोप बचाउनै समस्या भएको बताए। अनुकूल मिलाएर पोखरादेखि आइस ब्याग मगाएर खोप जोगाएको उनले जानकारी दिए। जेनेरेटर प्रयोग गर्न पनि इन्धनको अभाव, दिनभरि घाम नलाग्ने हुँदा पनि खोप बिग्रन्छ कि भन्ने डर रहेको उनको भनाइ छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com