पोखरा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।
कोशी, मधेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको मौसम पूर्वामानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । गण्डकी, कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन÷चट्यांङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ भने कोशी मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । गण्डकी, कोशी, मधेश, बागमती, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन÷चट्यांङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । गण्डकीसहित कोशी, मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
मौसमविदका अनुसार मनसुनको प्रकृति नै दिउँसो १२ बजेपछि सक्रिय हुने र रातिमा सक्रियता झन् बढ्ने हुन्छ । अहिले पनि अवस्था त्यस्तै छ । मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिख भएकाले वर्षा हुन्छ भनेर पूर्वानुमान गर्नुपर्ने मौसमविदको भनाइ छ । सामान्यतया सेप्टेम्बर तेस्रो सातापछि भने मनसुनी गतिविधि कम हुँदै जाने गर्दछ ।