मन्त्री भएपछि कृष्ण पाठक पहिलो पटक गृहजिल्ला बागलुङमा

- धवलागिरि अस्पताललाई मेडिकल कलेज बनाउन पहल थाल्ने प्रतिबद्धता


     नेपालय न्युज,     
     भदौ १८ गते २०८१


पोखरा । गृह जिल्ला बागलुङ पुगेर गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बागलुङस्थित धवलागिरि उपप्रादेशिक अस्पताललाई कुनै विभागको शिक्षण अस्पताल बनाउन आफ्नो कार्यकालमा पहल गर्ने बताएका छन् । हिजो गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीको शपथ लिएका पाठकले आज नेकपा एमाले बागलुङले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दैे अस्पतालमा रहेका समस्या समाधान गरेर नयाँ ढंगले अघि बढ्ने योजना सुनाएका हुन् । ‘अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गर्ने सोच छ । त्यही ढंगले लाग्ने छु । आयुर्वेद अस्पताल छन् प्रदेशअन्तर्गत । त्यसलाई पनि व्यवस्थापन गर्नुपर्ने छ,’ उनले भने ।

बागलुङकै बुर्तिबाङ र गोरखाको अमलटारी स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न बनाउने काम पनि आफ्नो कार्यकालमा गर्ने उनले प्रतिबद्धता जनाए । जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नसर्ने रोगको पहिचान गर्ने र न्यूनीकरण गरेर अगाडि बढ्नपर्छ भनेर स्क्रिनिङको पहिलो निर्णय गरेको मन्त्री पाठकले बताए । मन्त्री पाठकले आन्दोलन र पार्टीमा निरन्तर लाग्दा अवसर पाइने भन्दै पार्टीसम्बद्ध कोही पनि निराश नहुन आग्रह गरे । ब्रिफिङ लिने काम सुरु भएको र त्यो सकेपछि नीतिगत हिसाबले गर्नपर्ने काममा सक्रिय हुने मन्त्री पाठकको भनाइ थियो ।

एमाले बागलुङ अध्यक्ष हिराबहादुर केसीले धवलागिरि क्याम्पस र धवलागिरि अस्पतालको विकास गर्न सके त्यससँग बागलुङको सुनौलो भविष्य जोडिने सुनाए । छिमेकी जिल्ला म्याग्दी, पर्वतका एमाले सांसदले यसअघि मन्त्री पाएको तर बागलुङले मन्त्री देख्न नपाउने अवस्था रहँदै आएकोमा अब त्यसको अन्त्य भएको अध्यक्ष केसीको भनाइ थियो । पाठक सफल भएमा एमाले बागलुङले भोलि फेरि अवसर पाउन सक्ने सम्भावना रहेकाले सबै मिलेर मन्त्रीलाई सफल बनाउनपर्ने उनले बताए ।

मन्त्री पाठक अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल निकट मानिन्छन् । उनी समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका हुन् । बागलुङ अमलाचौरमा जन्मिएका पाठकले २०३१ सालमा नेकपा (मसाल) निकट विद्यार्थी संगठनमा लागेर राजनीति थालेका थिए । २०४१ सालमा मसाल छोडेका उनी त्यसपछि माले हुँदै एमालेको राजनीतिमा निरन्तर सक्रिय छन् ।

 

WP2Social Auto Publish Powered By : XYZScripts.com