पृथ्वीराज मार्ग विस्तार धिमा गतिमा, यात्रुलाई सास्ती

- पश्चिमतर्फ ३ वर्षमा २८ प्रतिशत प्रगति, १ सय १ दिन म्याद थप


     नेपालय न्युज,     
     भदौ १८ गते २०८१


पोखरा । पृथ्वीराज मार्गको मुग्लिन—पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डमा तीन वर्षमा करिब २८ प्रतिशत मात्र काम भएको छ । पश्चिम खण्डमा २०७८ जेठ २ गते सम्झौता भई भदौ १२ गतेदेखि काम सुरु भएकोमा अहिलेसमम २८ प्रतशित मात्र काम भएको हो । सडक विस्तारको काम धिमा गतिमा हुँदा यात्रुहरुले सास्ती व्यहोर्नु परेको छ ।

यो सडक खण्डको निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । गत भदौ १२ गते आयोजनाको काम सम्पन्न गर्ने मिति हो । सम्झौता अनुसार काम नभएपछि आयोजनाको म्याद थप गरिएको छ । आयोजनाका अनुसार एक सय एक दिन म्याद थप गरिएको हो ।

अहिलेको कामको प्रगति अनुसार थपिएको म्यादमा ७२ प्रतिशत काम सम्पन्न हुने अवस्था छैन । पश्चिम खण्डमा २० किलोमिटर दूरीमा दुई लेन सडक कालोपत्र सकिएको छ । सो खण्डअन्तर्गत म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र पोखरा महानगरपालिका पर्दछन् । विसं २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पश्चिम खण्डको ठेक्का रु.सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

पश्चिम खण्डको पोखरा महानगरपालिका वडा १४ स्थित चाउथेमा करिब ५ सय मिटर सडक पिच गरिएको छ । पिच गरिएको सडक ६ लेनको रहेको छ । गत फागुनदेखि कामले गति लिएपनि असारदेखि भने काम सुस्त गतिमा चलेको छ । पोखरा क्षेत्रमा अहिले सडकलाई चौडा बनाउने, पानीको निकासको लागि कल्बर्ट निर्माण लगायतका काम भइरहेका छन् । सडकको काम सयममा नहुँदा भत्केको सडकलाई मर्मत नगरिँदा यात्रुले सास्ती व्यहोर्नु परेको छ । नेपालकै सबै भन्दा बढी पानी पर्ने पोखरा क्षेत्रमा बर्खाको समयमा सडकहरु भलपानीले बिगार्ने गर्दछ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com