आन्तरिक म्यासेज इरानले ह्याक गरेको ट्रम्पको चुनावी अभियान टोलीको दाबी


     नेपालय न्युज,     
     साउन २७ गते २०८१


वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले आफ्ना केही आन्तरिक म्यासेजहरू इरानले ह्याक गरेको बताएको छ । अमेरिकाको अनलाइन समाचार पोर्टल पोलिटिकोले शनिबार यसबारे समाचार पनि छापेको थियो ।

आगामी राष्ट्रपति निर्वाचनमा ट्रम्पका उप–राष्ट्रपतिका उम्मेदवार जेडी भेन्सलाई पठाएको मेलसहित केही आन्तरिक सन्देशहरू ह्याक भएको र ह्याकरहरू अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध रहेको केही विदेशी तत्त्व भएको बताइएको छ । चोरिएका डकुमेन्टहरू इरानी ह्याकर वा इरान सरकारले नै लिएको भन्ने थप विवरण वा प्रमाणचाहिँ सो टोलीले दिएको छैन ।

माइक्रोसफ्टले हालै जुनमा नाम नखुलाईकन अमेरिकी राष्ट्रपतिका उम्मेदवारको चुनावी अभियानलाई इरानी ह्याकरहरूले निशाना बनाएको प्रतिवेदन सार्वजनिक गरेको थियो । सोको एक दिनपछि ट्रम्पको चुनावी अभियानले यो खुलासा गरेको हो ।

गएको कयौँ महिनायता अमेरिकी चुनावलाई प्रभावित पार्न इरानी तत्त्वहरू सलबलाइरहेको आफूहरूले देखेको प्रतिवेदनमा माइक्रोसफ्टको थ्रेट एनालिसिस सेन्टर (एमटीएसी)ले भनेको थियो । माइक्रोसफ्टले सन् २०२० को निर्वाचनको बेलामा पनि इरानी ह्याकरहरूले राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर हमला गरिरहेको भन्ने खालको प्रतिवेदन सार्वजनिक गरेको थियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com