वाशिङ्टन डीसी । अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यस्तोमा रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्रेट पार्टीबाट कमला ह्यारिस चुनावी मैदानमा छन् ।
दुवैले एक अर्कामाथि आरोप प्रत्यारोप लगाउने सिलसिला जारी छ । यसैबिच, ट्रम्पले अर्को महिना उपराष्ट्रपति ह्यारिससँग तीन वटा बहस गर्ने प्रस्ताव राखेका छन् ।
राष्ट्रपति जो बाइडेनले आफ्नो चुनावी अभियान छाडेपछि ह्यारिसले चर्चा चुलिइरहेको छ । ह्यारिस चुनावी अभियानमा होमिएको १८ दिन भयो ।
यस बिचमा उनले चुनावी अभियानका लागि कीर्तिमानी रकम संकलन गरिसकेकी छिन् । जनमत सर्वेक्षणहरूले पनि ह्यारिसलाई ट्रम्प भन्दा अगाडि देखाइरहेको छ । यसले आगामी निर्वाचनमा ह्यारिसले जित हात पार्ने आशा बढाइरहेको छ ।
ट्रम्प बहस गर्न तयार
ह्यारिसको बढ्दो प्रशंसाबाट प्रभावित भएर केही हदसम्म ट्रम्प मौन बनेका छन् । उनले आफ्नो प्रचार प्रसार पनि कम गरेका छन् । फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्ने क्रममा उनले सेप्टेम्बर ४, १० र २५ मा ह्यारिससँग टिभीमा बहस गर्न तयार भएको बताएका थिए । यसका लागि ह्यारिस पनि तयार हुनेछिन् भन्ने आशा आफूले गरेको उनले बताएका थिए ।
जुलाई २१ मा ह्यारिसले राष्ट्रपति जो बाइडेनलाई प्रतिस्थापन गरेपछि ट्रम्पले आफ्नो अभियानमा परिवर्तन गर्न आवश्यक छ भनेर स्पष्ट रूपमै अस्वीकार गरेका थिए । बाइडेन र ह्यारिसको नीति समान भएको र ह्यारिस बाइडेनभन्दा खराब भएकी ट्रम्पले बताएका थिए ।
सेप्टेम्बर १० मा यसअघि नै निर्धारित एबीसी राष्ट्रपति बहसबाट ट्रम्प पछाडि हटेका थिए । यसका लागि ट्रम्पलाई प्रतिद्वन्द्वीहरुले निकै आलोचना गरेका थिए तर अब भने ट्रम्प र ह्यारिस दुवैले एक अर्कालाई सामना गर्न सहमत भएको खबर आइरहेको छ । एजेन्सी