चुनावी अभियानको चन्दा संकलनमा ह्‌यारिसले ट्रम्पलाई उछिनिन्


     नेपालय न्युज,     
     साउन १९ गते २०८१


वाशिङटन डीसी । अमेरिकामा यतिबेला राष्ट्रपति निर्वाचनको व्यापाक प्रचार प्रसार भइरहेको छ । रिपब्लिकन र डेमोक्रेट दुवै दल आ–आफ्नो उम्मेदवारको लागि धमाधम चन्दा संकलन गरिरहेका छन् । रिपब्लिकन उमेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले जुलाई महिनामा १३ करोड ९० लाख डलर चन्दा संकलन गरेको छ ।

योसँगै उनको चुनावी अभियानको बैंक खातामा ३२ करोड ७० लाख डलर नगद जम्मा भएको बताइएको छ । ट्रम्पको लागि जुलाई चन्दा संकलनको मामिलामा अहिलेसम्मकै राम्रो महिना साबित भएको छ । ट्रम्पको हत्या प्रयास भएपछि जुलाईमा चन्दा संकलन ह्वात्तै बढ्यो । जुनमा पनि उनको समूहले ११ करोड २० लाख डलर जुटाएको थियो ।

सोही समयमा वर्तमान उपराष्ट्रपति तथा डेमोक्रेट पार्टीको तर्फबाट सम्भावित उम्मेदवार कमला ह्यारिसको चुनावी अभियानले भने २० करोड डलर उठाएको देखिएको छ । ट्रम्पसँगको पहिलो राष्ट्रव्यापी खुला बहसमा बाइडेनको निराशाजनक प्रदर्शन पछिका पहिलो तीन हप्तामा चन्दा संकलन ह्वात्तै घटेको थियो ।

बाइडेनले ह्वाइट हाउसमा दोहोर्याएर जाने जिद्दी त्यागेपछिको सात दिनमै ह्यारिसको चुनावी अभियान टोलीले २० करोड डलर संकलन गरेको बताइएको छ । डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकन उम्मेदवारको भन्दा धेरै चन्दा संकलन गरेको यो दोस्रो महिना हुनेछ ।

जुनमा पनि बाइडेनको चुनावी अभियान टोलीले १२ करोड ७० लाख डलर चन्दा उठाएको थियो । योसँगै सो अभियानको बैंक खातामा २४ लाख डलर नगद जम्मा भएको । जुलाईको पैसा थपिँदा कूल रकम बढेर ५४ करोड डलरमा पुगेको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com