बाइडेन भर्सेस् ट्रम्प : बेइजिङ, दिल्ली र मस्कोको रोजाइमा को?

-


     नेपालय न्युज    
     असार १४ गते २०८१


जब अमेरिकीहरूले नयाँ राष्ट्रपति चुन्छन्, तब त्यो प्रतिस्पर्धालाई विश्वभरका मानिसले चासोपूर्वक हेर्ने गर्छन्।

अमेरिकी विदेश नीति र ह्वाइटहाउसको कदमले विश्वका विभिन्न भूभागलाई अनगिन्ती तरिकाले प्रभाव पार्ने गर्छ। यसपटक जो बाइडेन र डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुँदै छ। उनीहरूबीच बिहीबार पहिलो बहस हुँदै छ।

तर, यस चुनावले युक्रेन, इजरायल र गाजालाई मात्र प्रभावित तुल्याउने छैन। यो चुनावलाई बेइजिङ, दिल्ली र मस्कोबाट कसरी हेरिँदै छ त? बीबीसीका संवाददाताहरूको भनाइः

 

चीनलाई मन पर्दैन दुवै उम्मेदवार : लौरा बिकर, बेइजिङ
दुवै उम्मेदवार चीनप्रति कडा रूपमा प्रस्तुत हुने कोसिसमा छन्। चीनको उदयलाई रोक्न उनीहरूले उस्तै नीति अघि सारेका छन्। जसमा सस्ता चिनियाँ सामानमा कर बढाउनेलगायतका उपाय छन्।

 

तर, चीनको क्षेत्रीय प्रभावलाई रोक्ने विषयमा भने बाइडेन र ट्रम्पको तरिका अलग छ।

बाइडेनले सो क्षेत्रका अन्य मुलुकसँग सम्बन्ध विस्थार गरेका छन्। ताकि हामी एक छौँ भनेर बेइजिङलाई सन्देश दिन सकियोस्।

तर, राष्ट्रपति हुँदा ट्रम्पले राजनेता बन्नतर्फ होइन, आफ्नो नजरमा ‘राम्रो सम्झौता’ गर्न खोजे। उनले वासिङ्टनलाई थप पैसा नदिए दक्षिण कोरियाबाट सैनिक हटाउने धम्की समेत दिए।

यी दुई नेताबीच सबैभन्दा ठूलो फरक भनेको ताइवानमा छ।

चीनले आक्रमण गरेको खण्डमा ताइवानको बचाउमा अघि सर्ने वाचा बाइडेनले पटकपटक गरेका छन्।

तर, ताइवानले अमेरिकी व्यवसायमा हानि पुर्‍याएको आरोप ट्रम्पले लगाएका थिए। त्यस्तै ताइवानलाई सहयोग गर्नेसम्बन्धी विधेयकको पनि विरोध गरेका थिए।

अमेरिकामा मतदान हुँदा चीनलाई दुवै उम्मेदवार मन पर्ने छैनन्।

बेइजिङको नजरबाट हेर्दा मनमौजी ट्रम्पले सो क्षेत्रका अमेरिकाका सहयोगीहरूलाई कमजोर र विभाजित तुल्याउन सक्छन्। तर, उनले अर्को व्यापार युद्ध सुरु गर्न पनि सक्छन्।

बाइडेनकै थप चार वर्षे शासन झेल्न पनि चिनियाँहरू उत्साहित हुने छैनन्। उनको गठबन्धन निर्माणले नयाँ शीतयुद्ध सुरु गर्ने चिन्ता बेइजिङलाई हुनेछ।

भारतका लागि दुवै राम्रा : समिरा हुसेन दिल्ली
ह्वाइट हाउसको आँखामा भारत सही ठाउँमा छ।

अमेरिका भारतलाई चीनको भूराजनीतिक प्रतिभारका रूपमा हेर्छ। भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो, २०३० सम्ममा तेस्रो ठूलो बन्ने बाटोमा छ। यही महिना विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक चुनाव भारतले सम्पन्न गर्‍यो। र, नरेन्द्र मोदी लगातार तेस्रो पटक प्रधानमन्त्री बने।

भारतलाई लोकतन्त्र कमजोर पारेको र घरेलु आर्थिक स्थितिको गलत चित्रण गरेको आरोप लागे पनि यसले अमेरिकालाई खासै फरक पारेन। किनकि भारतको रणनीतिक महत्व ज्यादा छ।

नोभेम्बरको चुनावमा जे भए पनि भारतले अन्तर्राष्ट्रिय मञ्चमा खेल्ने भूमिकामा कुनै फरक आउने छैन। दुवै उम्मेदवार भारतका सहयोगीका रूपमा चिनिएका छन्।

बाइडेन नै राष्ट्रपति भए यथास्थिति कायम रहनेछ। त्यो भनेको स्वस्थ व्यापारिक सम्बन्ध र एकअर्कालाई भरपूर सम्मान। गत वर्ष मात्रै मोदी राजकीय भ्रमणमा अमेरिका गए, जहाँ उनको सम्मानमा ह्वाइट हाउसमा भव्य भोज आयोजना गरियो र उनले संसदको संयुक्त बैठकलाई सम्बोधन पनि गरे।

ट्रम्पले चुनाव जिते भने देखिने एउटै फरक भाषामा हुनसक्छ। विगतमा उनले मोदीलाई असाधारण नेता भनेका थिए। ट्रम्पले २०२० मा भारत भ्रमण गरेका थिए। त्यतिबेला मोदीको गृहराज्य गुजरातमा उनलाई स्वागत गर्न दसौँ हजार मानिस भेला भएका थिए।

भारतले जुनसुकै राष्ट्रपतिसँग पनि राम्रो सम्बन्ध राख्न सक्छ भन्ने कुराको प्रमाण हो यो।

रुस अस्थिरताको खोजीमा हुनेछ : स्टिभ रोजेनबर्ग, मस्को
मानौँ, तपाईं भ्लादिमिर पुटिन हो। तपाईं ह्वाइट हाउसमा कसलाई देख्न चाहनुहुन्छ?

त्यस्ता व्यक्ति, जसले तपाईंलाई ‘हत्यारा’ भने र युक्रेनको साथमा उभिने वाचा गरे? (बाइडेन)।

या अर्का उम्मेदवार, जसले युक्रेनलाई सैन्य सहयोग दिँदा आलोचना गरे। भनेअनुसार खर्च नगर्ने नेटो मुलुकलाई रुसले जे चाह्यो त्यही गर्न दिने पनि उनले बताए। (ट्रम्प)।

तर, सधैँ चकित तुल्याइरहने पुटिनले यसपटक खुलेआम रूपमा जो बाइडेनलाई ह्वाइट हाउसमा देख्न चाहेको बताए। किनकि बाइडेन ट्रम्पजस्तो सनकी छैनन्।

तर, यस्तो सार्वजनिक अभिव्यक्तिलाई निकै होसियारीपूर्वक लिनुपर्छ। नेटो र युक्रेनमा सन्देह गर्ने राष्ट्रपति ह्वाइट हाउसमा हुँदा मस्को खुसी हुने सम्भावना ज्यादा छ।

तर, मस्कोलाई फाइदाको ग्यारेन्टी भने छैन। किनकि ट्रम्पको पहिलो कार्यकालबाट क्रेमलिन निराश भएको थियो।

२०१६ मा ट्रम्पले जित्दा रुसी अधिकारीहरूले खुसी मनाएका थिए, सिगार र स्याम्पेनको साथमा। तर, त्यो स्याम्पेन खेर गयो। रुसीहरूले अमेरिका–रुस सम्बन्ध सुध्रिने अपेक्षा गरेका थिए। तर, त्यसो भएन।

ट्रम्पको दोस्रो कार्यकाल त्यस्तै हुँदैन भन्न कसले सक्छ र?

जसले जिते पनि रुसी अधिकारीहरूले चुनावपछि अमेरिकामा राजनीतिक स्थिरता र ध्रुवीकरणको संकेत नियाल्ने छन् र त्यसबाट फाइदा उठाउने तरिका खोज्नेछन्। बीबीसीबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com