पत्रकार श्रीराम सिग्देललाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गरिने

-


     नेपालय न्युज    
     जेठ ९ गते २०८१


पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट फेवापोष्ट साप्ताहिक तथा फेवापोष्ट खवर डटकमका सहायक सम्पादक श्रीराम सिग्देललाई  प्रदान गरिने भएको छ ।

महासंघ कास्कीको हालै सम्पन्न बैठकले सिग्देललाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि २० हजार रुपैयाँ नगद र सम्मानपत्र छ ।

अग्रज पत्रकार नवराज सुवेदी संयोजक, दीपेन्द्र श्रेष्ठ र टंक अधिकारी सदस्य रहेको प्रतिभा छनोट समितिले सिग्देललाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।

सिग्देल २०५४ सालदेखि पत्रकारितामा सक्रिय छन् । उनी हाल फेवापोष्ट साप्ताहिक र फेवापोष्ट खबर डटकमका सहसम्पादक हुन् ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष सिग्देल समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्षसमेत हुन् । पत्रकार सिग्देल विभिन्न सामाजिक संघसंस्थामा समेत क्रियाशील छन् ।

त्यसैगरी कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०८० वाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर बिरही सम्मानित हुन लागेका छन् ।

पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०८० को प्रतिभा चयनका लागि माधव शर्माको संयोजकत्वमा कृष्ण प्रसाद वास्तोला र रविन्द्र वास्तोला सदस्य रहेको छनोट समिति गठन गरिएको थियो उक्त समितिले पत्रकार बिरहीको नाम सिफारिस गरेको थियो । उक्त पुरस्कारको राशी नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

दुवै जना पत्रकारहरुलाई महासंघ कास्कीको यही जेठ १२ मा हुने १७ औं वार्षिक साधारणसभाको अवसरमा प्रथम राष्ट्रपति डा. रामवरण यादवले पुरस्कृत गर्नेछन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com