समीकरण ढाल्ने षडयन्त्र भइरहेको छ : अध्यक्ष ओली

-


     नेपालय न्युज    
     वैशाख ४ गते २०८१


दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार ढाल्ने षडयन्त्र भइरहेको बताउनुभएको छ । पछिल्लो समयमा बनेको नयाँ सत्ता समीकरण ढाल्न षडयन्त्र भइरहेको उहाँको भनाइ छ ।

मंगलबार गृहजिल्ला झापा आउनुभएका अध्यक्ष ओलीले पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्दै अहिले बनेको नयाँ समीकरण भत्काउन देशी–विदेशी प्रतिक्रियावादीले षडयन्त्र गरिरहेका दाबी गर्नुभयो । ‘हामीले यसलाई अनौठो भने मानेका छैनौँ’ उहाँले भन्नुभयो ।

देशलाई सही दिशा प्रदान गर्न नयाँ समीकरण बनेको र यसलाई विदेशी शक्तिले नरुचाएको उहाँले टिप्पणी गर्नुभयो । उहाँले जस्तोसुकै अवस्था आउँदा पनि हतोत्साहित नहुन र सहज रूपमा लिन आग्रह गर्नुभयो । ‘बित्यासै भयो र सबै बिग्रियो भनेर कहिल्यै पनि निराश बन्नु हुँदैन’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साहसिक निर्णय गरेर नयाँ समीकरणमा आउनु भएको र यो देशहीनमा रहेको उहाँले दाबी गर्नुभयो । ‘महत्त्वपूर्ण मन्त्रालय एमालेले पाएन भनेर कसैले चित्त दुखाउनु पर्दैन, यो सरकार नै हाम्रो हो’, उहाँले भन्नुभयो । प्रधानमन्त्री नै हाम्रो भएकाले कुन मन्त्रालय पाइयो पाइएन भन्नुको अर्थ नरहने उहाँको भनाइ छ ।

एमालेलाई सिद्ध्याउन अनेक प्रकारका प्रहार र घेराबन्दी भइरहेको भए पनि त्यसलाई परास्त गरेर अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो । हामीलाई चारैतर्फबाट घेराबन्दी भइरहेको छ । तर देशको हितमा हामी अघि बढेकाले केही फरक पर्दैन’ उहाँले भन्नुभयो । एमालेलाई जनताको साथ रहेको उहाँले बताउनुभयो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com