गृहमन्त्री लामिछाने र इजरायलका राजदूत गोदरबिच भेट

-


     नेपालय न्युज    
     चैत्र १२ गते २०८०


नेपालस्थित इजरायली राजदूत हनान गोडरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भेटेर बधाई दिएका छन्।

सोमबार सिंहदरबारमा भएको भेटका क्रममा उहाँहरूबीच इजरायलमा रहेका नेपाली नागरिकको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति र हमासद्वारा अपहरणपछि बेपत्ता विपिन जोशीको सुरक्षित नेपाल फर्काई लगायत विषयमा छलफल भएको छ।

राजदूत गोडरले गत अक्टोबर ७ मा विद्रोही समूह हमासद्वार अपहरण गरी लगेका विपिन जोशीको अवस्थाबारे इजरायल सरकार चिन्तित रहेको बताएका थिए।

 

उनले अपहरणमा परेर बेपत्ता विपिनसहित अक्टोबर ७ मा ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल सरकारले राहतस्वरुप भत्ता उपलब्ध गराउन थालेको जानकारी दिए।

भेटमा गृहमन्त्री लामिछानेले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गरे।

राजदूत गोडरले त्यहाँको अवस्थाको मूल्यांकनका आधारमा परिवारको पुनर्मिलन र भ्रमणका लागि सहजीकरण गर्न छलफल गरी ठोस कदम चालिने बताए।

उहाँहरूबीच कृषि, सूचना प्रविधि, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहकार्य र नेपाल-इजरायलको सम्बन्ध विस्तार र सुदृढका लागि थप सहकार्यबारे पनि छलफल भएको छ।

WP2Social Auto Publish Powered By : XYZScripts.com