नागीधारको लेकमा रहेका खर्कहरुमा गोठाला सभा !

-


     नेपालय न्युज    
     चैत्र १ गते २०८०


ओम प्रकाश गुरुङ, 

हामी लेकका गाउँहरुमा जन्मे हुर्केको मान्छे । लेकका गाउँहरु, लेकमा रहेका गोठहरु, खर्कहरुतिर हिड्दा डुल्दा आनन्द कति हो कति कुरै नगरौँ । अत्याधिक रीफ्रेसमेन्ट !!!

हाम्रो गाउँको लेकमा पर्ने खोला खर्क, निमारे खर्क, टुनी खर्कतिर गोठाला दाजुभाइ दिदिबहिनी हरु यतिखेरा गोठमा खिर खानको लागी शुभचिन्तकहरु सबैलाई निम्ता समेत गरिरहनुभएको छ ………

सोंथर बेँसीबाट १ घन्टामा त्यहाँ सजिलै पुगिन्छ । म त्यहाँ बाख्रा पालन ब्यवसाय गर्दै आउनुभएका नागीधार सोंथर बेँसीका राज घले सोल्टी संग २०८० फागुन २५ गते पुगेको थिएँ ।

हाम्रो गाउँ, नागीधारको परम्परा के रहेको छ भने फागुनमा यी खर्कहरु तिर गोठ लैजाने गर्छन् । यी खर्कहरुमा निमारे चुलित्रो लगायत पशुचौपायका लागी मिठा घाँस हरु अत्याधिक पाइन्छ ।

गज्जबको कुरा के छ भने हाम्रो गाउँ नागीधारको ठुलो गाउँ, चौतारी डाँडा ,सुन्दर बेँशी गरी ३ टोलको झन्डै १०० बढि घरधुरी प्रत्येकको घाँसको भाग अझै रहेको छ । धेरैले हाल त्यहाँ गोठ लैजाने गोठालाहरुलाई आफ्नो भाग जिम्मा लगाउने गरेका छन् । १ घरको भागमा साना ठुला गरी झन्डै १५ देखि २० वटा निमारे चुलित्रो बोट पर्दछ । ति खर्कहरुमा रहेको निमारे चुलित्रो जस्ता मिठा घाँसहरु कसैले रोपेको नभइ आफै प्राकृतिक रुपमा आएको हो ।

मेरो घरको भाग हाल सोंथर बेँसीका भुमलाल अधिकारी कान्छ बा लाई जिम्मा गरिएको छ । कान्छ बा ले वर्समा घाँसको भागको सट्टा १ माना घ्यु दिनुहुन्छ ।

म आफु पनि पहिले पहिले धेरै पटक त्यहाँ घाँस काट्न गएको छु । भाचोक ढोडेनी पाखुरीकोट लुम्दी लगायत गाउँहरुबाट इस्टमित्रहरु घाँस काट्न आउनुहुन्थ्यो र आ आफ्नो नातो पर्नेको भागमा घाँस काटेर पठाउदथ्यो । त्यो ताका घाँसको अतिनै महत्व थियो । सबैले दुहुनो भैंसी पालेकै हुन्थ्यो । गाउँघरतिर आम्दानीको मुख्य स्रोत भनेकै पशुपालन र कृषि थियो । त्यो ताका फागुन चैत तिर यी हाम्रा खर्कहरु मान्छेले भरिभराउ हुन्थ्यो , निकै चहलपहल हुन्थ्यो ।

अझ अर्को रोचक कुरा के पनि छ भने भाचोक लगायत अरु गाउँलेले घाँस चोर्छ कि भनेर हिउंद लागेपछि प्रत्येक दिन निमारे खर्कमा २ जनाको दरले घाँस कुर्न गाउँलेले खटाउने गर्दथ्यो । म आफु पनि कुर्न गएको छु । १० बजे पुगेर ५ बजेसम्म कुरेर पुन घर फर्किन्थ्यौँ ।
बर्खयाममा भने बन्देज गरिएको हुन्छ । बेला बेलामा गोठालाहरुको सभा समेत हुने गर्दछ जसलाई गोठाले सभा (गुरुङ भाषामा प्रोछमें सभा) भनिन्छ । अहिले पनि कायम नै रहेको छ । उक्त सभाले बन , खर्क साथै त्यहाँ रहेको घाँस सम्बन्धी विभिन्न नियमहरु पारित गरेको हुन्छ । कसैको पशुचौपायले बन्देज गरिएको खर्क, बन , क्षेत्र भित्र घाँस खायो कि भनेर हेर्न बुझ्न साथै रेखदेख गर्नका लागि केहि गोठालाहरु लाई जिम्म गरिएको हुन्छ जसलाई तियाला भनिन्छ । तियालाहरुले बन्देज गरिएको खर्क बन भित्रको प्रतिवेदनहरु सभामा प्रस्तुत गरेका हुन्छन् । कसैको पशुले कसैको भाग को घाँस खाएमा वा बन्देज भित्रको घाँस कसैले चोरेको पाइएमा तियालाहरुको प्रतिवेदन अनुसार सभामा आवश्यक जरिवाना समेत गरिन्छ । साथै तियालाहरुकै चाजोफाजो अनुसार बन्देज भित्रका कुनै ठाउँहरुको घाँस बेलाबखत छोड्ने गर्दछ । तियालाहरुको भुमिका मुख्य हुने गर्दछ । घाँसकै कारण बेलाबखत सामन्य झैझगडा पनि हुने गर्दछ । तियालाहरुलाई भुवानी पुजा गर्दाको दिन हौसलाको लागि पगरी समेत गरिन्छ । यसपाली तियालाहरु सोंथर बेँसीका हरी गिरी र खिमलाल अधिकारी रहेछ । भुवानी पुजाका दिन ५००/५०० का दरले पगरी समेत गरिएको रहेछ ।

अहिले यतिखेर गोठहरु त्यहाँ लगिएको छ । नागीधार सोंथर बेँसीका चन्द्रसिङ गुरुङ, भुमलाल अधिकारी, देवीप्रसाद अधिकारी, मनोज गिरी, सुमित्र गिरी, सबिन गिरी, श्यामलाल अधिकारी, खिमलाल अधिकारी, प्रदिप गिरी, लुलप्रसाद नेपाली, मनोज नेपाली, केश बहादुर गुरुङ, प्रसाद गुरुङ र भाचोकका सुर्जे गुरुङ लगायतको गोठ लगिएको छ ।
गोठ लैजादा त्यस क्षेत्रको प्रकृति पुजा गरिन्छ जसलाई भुवानी पुजा भनिन्छ । घाँसको भाग लिएका सबैबाट रकम उठाइन्छ । एउटा बाख्रा काटिन्छ र प्रसादको रुपमा उक्त दिन पुगेका सबैले बाँडेर त्यहि खाइन्छ । र सोहि दिन बाट आ आफ्नो भागको घाँस काट्ने काम शुरु हुन्छ । एक ढेड महिना जति आफ्ना पशुचौपायहरुलाई त्यहाँको मिठो घाँस खुवाएर कोहि माथी लेकतिर नै गोठ लैजाने गोठालाहरु माथी माथीको खर्क हुँदै जाने गर्छ जसलाई उभौली भन्ने गर्दछ भने कोहि तल सोंथर बेँसी आ आफ्नो खेतमा वा घरमा गोठ झर्छ जसलाई उधौली भन्ने गर्दछ ।
यतिबेला खर्कहरुमा गोठहरु छन् । पहिले पहिले त प्रसस्तै हुन्थ्यो । अहिले अल्ली कम छन् ।
तैपनि गोठाला दाजुभाइहरुले धान्नुभएको छ र हाम्रो गाउँको चलन परम्परा लाई कायम राख्नुभएको छ ।

# त्यहाँ पुगी गोठमा बस्दा धेरै कुराहरु सोंचाइ हरु आयो ………
* गोठाला दाजुभाइ दिदिबहिनीहरुको लागी त्रिपाल को सट्टा टीन भएमा झनै गोठहरु फस्टिने सम्भावना देखिन्छ । त्यसैले टीनको लागी कहि कतै बाट आवश्यक पहल गर्नुपर्ने सोंच आएको छ ।

* सामुहिक रुपमा सबैले प्रयोग गर्न मिल्ने शौचालय निर्माण योजना

* खोलाखर्क, निमारे खर्क , टुनी खर्क, त्यहाँ गोठ लैजादाको अवस्था, बन्देजभित्रको नियम, गोठाले सभा , तियालाको प्रतिवेदन , निमारे खर्कमा घाँस कुर्न जादाको अवस्था लगायत हेर्दा त्यहाँ छुट्टै वातावरण रहेको छ । साहेद अरु ठाउँमा कमै होला, छैन होला पनि । त्यस्तै सोंथर बेँसी मेला, त्यस मेलामा सहभागी भएर भाचोक नागीधार पाखुरीकोट लगायत गाउँका युवा युवतीहरु विच एक आपसमा माया प्रेम सहमती भइ गरिएको भागी विबाह, सोंथर बेँसीमा भाचोक नागीधार गाउँका दौतरी युवायुवतीहरु विच पहिले पहिले हुरी गरी काम गर्दाको अवस्था, बन्देज भित्र कहिलेकाहीँ भाचोक बासीले घाँस चोरेको, जरिवाना गरिएको साथै घाँसका कारण कहिलेकाहीँ झगडा समेत भएको अवस्था लगायत विविध विसयवस्तुहरु लाई समेटेर डकुमेन्ट्री वा सानो फिल्म नै निर्माण गर्ने कतकता सोंच नै आएको छ ।

* सोंथर बेँसी झग्रे कुना हुँदै यीनै खर्कहरु भएर लम्तरी र सबुपोखरी निस्कने हाल गोठालाहरु हिडेको बाटोलाई व्यवस्थित बनाई पर्यटन पदमार्गको रुपमा विकास गर्न सकिने सोंच समेत आएको छ ।

ढिलो चाडो हो सबैको सकृय सहभागिता र सकृयता भएमा यी योजनाहरु सम्भावित पनि देखिन्छ । यीनै कुरा सोंचहरु गोठाला दाजुभाइ दिदिबहिनीहरु संग आदनप्रदान समेत गरियो । एक रात चन्द्रसिङ गुरुङ माइला दाइको गोठमा नै बसियो । अर्को दिन त्यहाँबाट उकालो हिडेर नचु खर्क हुँदै सबुपोखरी पुगियो र सबुदेवीको दर्शन गरेर फर्कियौँ हामी । गोठमा दुध र खिर भात खाने अवसर प्राप्त भयो । धन्यवाद सबैजनालाई ………

ओम प्रकाश गुरुङ
जनप्रतिनिधि मादी -८ कास्की
९८५६०४८४४३

WP2Social Auto Publish Powered By : XYZScripts.com