मिशिगनको प्राइमरीमा बाइडेनको जित

-


     नेपालय न्युज    
     फागुन १६ गते २०८०


वासिङ्टन डिसी । आगामी राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार चयन गर्न डेमोक्रेटिक दलले मिशिगनमा आयोजना गरेको प्राइमरीमा अमेरिकी राष्ट्रपति जो बाइडेनले जितेका छन् । मंगलबार भएको मतदानमा बाइडेनले ८० प्रतिशत मत पाएका छन् ।

प्राइमरीमा बाइडेनले सहजै जित हात पारे पनि नतिजाले उनका लागि केही चेतावनी संकेत दिएको छ । गाजामा जारी इजरायली युद्ध नियन्त्रणमा अमेरिकाको असफलताप्रति बाइडेनले यतिबेला अरब र मुस्लिम अमेरिकीहरूले सङ्गठित रूपमा विरोधको सामना गरेका छन् । मिशिगनमा १३ दशमलव ४ प्रतिशत मत ‘अप्रतिबद्ध’ खसेको थियो ।

अमेरिकाको राष्ट्रपति निर्वाचनको नतिजा उल्ट्याउने केही राज्यमा मिशिगन पनि पर्दछ । सन् २०१६ को निर्वाचनमा यहाँ ट्रम्पले जितेका थिए । सन् २०२० मा बाइडेनले जित आफ्नो पक्षमा पारे । यस अघिका निर्वाचनमा अप्रतिबद्ध मत थोरै हुन्थे । तर यसपटक यस्तो मतको सङ्ख्या बढेको छ । गाजामा युद्ध विराम नभए मत नदिने भन्दै मिशिगनका अभियन्ताहरूले महिनौँदेखि बाइडेनलाई चेतावनी दिँदै आएका छन् । युद्धमा बाइडेनले इजरायललाई समर्थन गरेपछि बाइडेनकै केही समर्थकले समेत उनलाई छाडेका थिए ।

राष्ट्रपतिको उम्मेदवार चयनको यस दौडमा पार्टीभित्र बाइडेन सबैभन्दा अगाडि छन् । सन् २०२० को निर्वाचनमा झैँ यो वर्ष नोभेम्बरमा हुने निर्वाचनमा पनि बाइडेन र डोनाल्ड ट्रम्प आमने सामने हुने देखिन्छ । मंगलबार मिशिगनमा भएको रिपब्लिकनको प्राइमरीमा पनि ट्रम्पले नै जितेका छन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com