७ वर्षदेखि नेपालमा बसिरहेका अमेरिकीको सपना : एक दिन पोखरामा क्याफे खोल्छु

-


     नेपालय न्युज    
     फागुन ८ गते २०८०


हेडन रु

म अरेगन राज्यको सलेममा जन्मेहुर्केको व्यक्ति। हुर्कंदै गर्दा म र मेरो परिवार पश्चिमी तटबाट धेरै टाढा गएका थिएनौँ।

२०१६ मा थुप्रै वृद्ध जोडीहरूकहाँ मैले मालीको काम गरेँ। मेरा ग्राहकहरूले मलाई पिस कर्प्समा सहभागी हुन सिफारिस गरे। जुन विकासशील मुलुकहरूलाई सघाउने अमेरिकी सरकारी एजेन्सी हो।

म भर्खरै २० कटेको थिएँ र त्यसबेला मसँग आफ्नो करिअरको निश्चित योजना केही थिएन। त्यसैले मैले एकपटक प्रयास गर्ने निर्णय गरेँ।

डेढ महिनापछि मैले एउटा इमेल पाएँ, जसमा मलाई नेपालमा पठाउन छनोट गरिएको जानकारी थियो।

नेपालमा मैले २७ महिना बिताउनुपर्ने थियो। गत सात वर्षमा मैले नेपालमा विश्व ब्यांक, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र च्यारिटीका लागि प्रोजेक्ट कोअर्डिनेटरको रूपमा काम गरेँ। म एउटा ट्राभल ब्लग पनि चलाउँछु। नेपाल बसाइका केही रोचक अनुभव छन्।

संगठित अराजकता
नेपालमा संगठित अराजकता छ। पहिलोचोटि नेपाल आउँदा विमानस्थलबाट बाहिर पाइला टेक्नेबित्तिकै कारको हर्न चर्को आवाजमा बजिरहेको मैले सुनेँ। एकैपटक दर्जनौँ ट्याक्सी मलाई लिन हानथाप गर्दै आए। हरेकले आफूले सबैभन्दा सस्तोमा लैजाने बताइरहेका थिए।

साँघुरा गल्लीहरूमा अनगिन्ती टेलिफोनका तारले जेलिएको भवनहरूको माझमा गाडी चढेर अघि बढ्दै गर्दा मलाई डर र आश्चर्यको मिश्रित भावनाले गाँज्यो। ठूलो संख्यामा मानिस र तिनका जनावर ट्राफिकलाई छल्दै बाटो काटिरहेका थिए।

कठिन सिकाइ
यदि तपाईं निरन्तर अनिश्चितताका लागि तयार हुनुहुन्न भने नेपाल बस्नका लागि एक चुनौतीपूर्ण मुलुक हो। पहिलोपटक नेपाल आउँदा सिक्ने कुरा धेरै हुन्छन्।

मैले राजधानी काठमाडौँमा एक वर्षभन्दा ज्यादा समय बिताएँ। काठमाडौँमा एक छिन पनि शान्ति र स्थिरता प्राप्त गर्न कठिन थियो। ठूलो सहर भए पनि यहाँ मलाई कहिलेकाहीँ निसासिएको महसुस हुन्थ्यो। किनभने, मेरो निजी स्थान थिएन।

त्यतिबेला मैले भाडामा एउटा फ्ल्याट लिएको थिएँ। घरबेटी तल्लो तलामा बस्थे। उनीहरूले मलाई आफ्नै छोराजस्तो माने र परिवारको हिस्साजसरी व्यवहार गरे।

सुरुवातमा त्यो व्यवहार राम्रो लाग्यो। तर, पछि हद नाघ्न थाल्यो। घरबेटी आमै कुनै सूचना नदिई मेरो फ्ल्याटमा आउँथिन्। मैले घरको काम पनि गर्नुपर्‍यो। हजार लिटरको पानी ट्यांकीमा पसेर स्टिल उलले घोटेर सफा गर्नुपर्‍यो।

अनभिज्ञ मानिसका लागि बाटो काट्नु पनि सजिलो छैन नेपालमा। कार दुर्घटना भइरहन्छ। प्रायः जेब्राक्रस हुँदैन। त्यसैले पैदल यात्रीका लागि कार र स्कुटर रोकिँदैनन्।

केही वर्षपहिले अमेरिकाबाट मेरा कयौँ साथीहरू काठमाडौँ घुम्न आएका थिए। उनीहरू डरले बाटो काट्न नसकेर फुटपाथमै अड्किएका थिए। मैले ट्राफिकको बीचबाट उनीहरूलाई अर्कोतिर लैजानुपरेको थियो।

नेपालमा पूर्वाधार राम्रो विकास भएको छैन। पोखराबाट २०० किमि टाढाको काठमाडौँसम्म बसमा यात्रा गर्दा कहिलेकाहीँ १५ घण्टासम्म लाग्न सक्छ, दुई लेनको सडकमा दुर्घटना हुँदा।

स्याङ्जाको एउटा सानो गाउँमा बस्दा दुई सातासम्म बिजुली थिएन। सबै घरमा तार पुर्‍याउने एउटा मात्र पोलमा क्षति पुगेको थियो। बत्ती नहुँदा अँध्यारैमा खाना खानुपर्‍यो। टीभी थिएन, केही पनि चार्ज गर्न पाइएन र घाम अस्ताएपछि गफ गर्नुबाहेक कुनै काम थिएन।

अमेरिकाभन्दा सस्तो
स्याङ्जामा मेरो फ्ल्याटको मासिक भाडा ८ हजार रुपैयाँ अर्थात् ६० डलर थियो। काठमाडौँमा मैले त्यसको दोब्बर तिरेँ। पोखरामा मैले मासिक २१० डलरजति भाडा तिरेँ।

औसतमा यहाँ म मासिक ६०० डलर खर्च गरेर सहज जीवन बाँच्न सक्छु।

नेपालमा एउटा चिज आश्चर्यजनक तरिकाले महँगो छ– किरानाका सामान। सामान्यतः म चकलेट, डेरी उत्पादन, सोडाजस्ता प्रशोधित खानालगायत किराना सामानमा २२५ देखि ३०० डलर खर्च गर्छु। यी चिज आयात गर्नुपर्ने हुनाले महँगा छन्।

धीमा गतिको जीवन
नेपालमा बस्नुको सबैभन्दा फाइदाजनक पक्ष भनेको तपाईंले मानिसहरूसँग जोड्ने सम्बन्ध हो। यहाँ समय सुस्त छ।

यतिबेला म श्रीलंकामा यात्रा गरिरहेको छु र अगस्टमा नेपाल फर्किने योजनामा छु। कुनै दिन पोखरामा एउटा सानो क्याफे खोल्ने मेरो सपना छ।

साथीहरू र परिवारले मलाई घर फर्किन कर गरिरहन्छन्। तर, निकट भविष्यमा म घर फर्किने सम्भावना देख्दिनँ।

नेपालमा तपाईं जहाँसुकैबाट आएको भए पनि वा त्यो दिन तपाईंको योजना जे भए पनि तपाईं अरूसँग जोडिन सक्नुहुन्छ। म घण्टौँ बसेर चिया पिउँदै मानिसहरूसँग तिनको जीवन, अनुभव र सपनाबारे कुरा गर्न सक्छु। एजेन्सी

(बिजनेस इनसाइडरबाट)

WP2Social Auto Publish Powered By : XYZScripts.com