एप्पलका सीईओलाई अनावश्यक तलब दिइएको सम्बन्धी मुद्दा खारेज

-


     नेपालय न्युज    
     माघ २५ गते २०८०


न्यूयोर्क । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकका सीईओ टिम कुकलाई अनावश्यक तलब दिएको सम्बन्धी मुद्दा खारेज भएको छ । संघीय न्यायाधीशले बुधबार सीईओ कुक र अन्य शीर्ष कार्यकारीहरुलाई प्रदर्शनमा आधारित शेयर अवार्ड भुक्तानीमा गलत हिसाब गरेर धेरै तलब दिएको भन्दै एप्पलमाथि परेको मुद्दा खारेज गरिदिएका छन् ।

सन् २०२३ को प्रोक्सी स्टेटमेन्टमै कम्पनीले सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिशनको नियमानुसार सेवा सुविधाको विस्तृत तालिकामा हरेक हिसाबको व्याख्या गरेको म्यानह्याटनका जिल्ला न्यायाधीश जेनिफर रोचोनले फैसलामा भनेकी छिन् । कम्पनीको सञ्चालक समितिले सीईओसहितको अन्य ठूला कार्यकारीहरुलाई तलब सुविधा दिँदा अनियमितता गरेको प्रमाण नभेटेको बताएकी छिन् । वादी पेन्सन कोषले मुद्दा हाल्नुअघि सञ्चालक समितिलाई सोच विचारका लागि पर्याप्त समय नदिएको पनि उनले बताइन् । वादीका अनुसार सन् २०२१ र सन् २०२२ मा एप्पलले कुक र अन्य चार कार्यकारीलाई क्रमशः ९ करोड २७ लाख डलर र ९ करोड ४० लाख डलर मूल्य बराबरको निश्चित अवधिसम्म बेच्न नमिल्ने प्रदर्शनमा आधारित शेयर दिएको थियो ।

कम्पनीको तलब समितिले भने दुवै वर्ष यी पाँच जनालाई ७ करोड ७५ लाख डलर बराबरको बेच्न नमिल्ने शेयर दिन खोजेको थियो । कुकले सन् २०२१ मा ९ करोड ९० लाख डलर बराबरको तलब सुविधा थापेका थिए । एप्पलको प्रोक्सी फाइलिङले देखाएको भन्दा यो ८ करोड २० लाख डलर धेरै भएको बताइएको छ । सन् २०२३ मा भने कुकको तलब सुविधा घटेर ६ करोड ३२ लाख डलरमा झरेको थियो । अन्य तीन कार्यकारीहरुले सन् २०२३ सम्मको तीन वर्षमा २ करोड ७० लाख डलर बराबरको तलब सुविधा लिएका थिए । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com