प्रेस चौतारी पत्रकारिता पुरस्कार माधव बराललाई, मीना गुरुङ र हुम गुरुङलाई सम्मान

-


     नेपालय न्युज    
     माघ १६ गते २०८०


पोखरा । प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ बाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई अर्पण गर्ने पनि प्रेस चौतारीले जनाएको छ ।

प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पूर्व अध्यक्ष हरि बास्तोला संयोजक, पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई मंगलबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको सचिव अधिकारीले जानकारी दिए ।

पुरस्कारको राशी ११ हजार १ सय ११ बाट बढाएर यस वर्षदेखि २२ हजार २ सय २२ पुर्‍याइएको उनले बताए । प्रेस चौतारी कास्कीले लामो समयदेखि बर्षेनी प्रदान गर्दै आएको यो पुरस्कारलाई गत वर्षबाट पुनः निरन्तरता दिइएको हो ।

चौतारीले गत वर्षदेखि नै सम्मान अर्पण गर्न थालेको हो । गत वर्ष राजु भण्डारी र सावित्री खनाल सम्मानित भएका थिए । यस वर्ष सम्मानित हुन लागेका मीना गुरुङ लामो समय सञ्चारकर्मममा योगदान गरी राजनीतिमा क्रियाशील छन् ।

साढे २ दशकदेखि पत्रकारितामै सक्रिय हुम गुरुङ कास्की आवाज दैनिकका सम्पादक तथा प्रकाशक हुन् । अग्रणी संस्था तमु धिँ नेपालका अध्यक्ष रही समाजसेवामासमेत सक्रिय गुरुङले पत्रकारितामा लामो सयमदेखि अनवरत योगदान दिएका छन् ।

यस वर्ष पुरस्कृत बराल दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । प्रेस चौतारी कास्कीका निवर्तमान अध्यक्ष बराल प्रेस चौतारी र प्रेस सेन्टर एकीकरण भएर बनेको प्रेस संगठन, कास्कीको पनि संयोजक बने ।

हाल नेपाल पत्रकार महासंघ कास्कीका सचिव बरालले २०५९ सालबाट पत्रकारिता थालनी गरेका थिए । पोखरा हटलाइनबाट पत्रकारितामा छिरेका बरालको गगन दैनिक, सन्ध्याकालीन दैनिक, माछापुच्छ्रे एफएम, धौलागिरी एफएम रेडियो अन्नपूर्ण, नेपाल समाचारपत्र, हिमाल खबर पत्रिका, समाधान दैनिक, अन्नपूर्ण पोष्ट र पब्लिक टिभीमा काम गरेको अनुभव छ । उनले पोखरा महानगरपालिकामा मेयर मानबहादुर जिसीको प्रेस संयोजकको भूमिका पनि निर्वाह गरेका छन् ।

बरालले २०६८ सालममा जिल्ला विकास समितिबाट उत्कृष्ट पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । यस्तै, २०६६ मा अन्नपूर्ण एफएमबाट बेस्ट न्यूज पर्सन अफ दि इएर लगायतका आधा दर्जन पुरस्कार प्राप्त गरिसकेका छन् ।

बराल प्रेस चौतारीको अध्यक्ष हुँदै हाल केन्द्रीय सदस्य तथा मिडिया अनुगमन विभाग संयोजक छन् । मिडिया टेक्नोलोजीमा स्नातकोत्तर गर्दै रहेका बरालको स्थायी घर पोखरा २८, कालिका हो । उनी पोखरा १४ चाउथेमा बस्दै आएका छन् ।

गत वर्ष एकसाथ ५ पत्रकारहरु पुरस्कृत भएका थिए । २०७५ देखि २०७९ सम्मका पुरस्कारबाट क्रमशः अग्रज पत्रकारहरु रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक र सुष्मा पौडेल पुरस्कृत भए ।

त्यसअघि, प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकारहरु संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङ पुरस्कृत भएका थिए ।

यसैबीच, सम्मान अर्पण समारोहलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ । संस्थाको बैठकले सचिव रञ्जन अधिकारीको संयोजकत्वमा प्रचारप्रसार एवं मल्टिमिडिया म्यानेजमेन्ट समिति बनाइएको छ ।

उपाध्यक्ष मोतिसागर अधिकारीको संयोजकत्वमा जनवर्गीय संगठन समन्वय व्यवस्थापन समिति, उपाध्यक्ष तारा पौडेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति बनाइएको छ । कोषाध्यक्ष गिरीधारी पोखरेलको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको छ । कार्यसमितिका सबै सदस्यहरु उपसमितिहरुका सदस्य छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com