पुस २७ बाट फिल्म ‘चित्रा’ देशभर प्रदर्शन, दर्शकबाट पायो सकारात्मक प्रतिक्रिया

-


     नेपालय न्युज    
     पौष २७ गते २०८०


राजाराम पौडेल ।

पोखरा । नेपाली फिल्म ‘चित्रा’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । यो फिल्मले पाेखराका दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । शुक्रबार पोखराकाे मिडटाउन सिनेमाजमा निर्देशक र कलाकारको साथमा फिल्म हेरेपछि दर्शकले फिल्म युनिटले गरेको कामको तारिफ गरेका हुन् ।

घनश्याम लामिछानेले निर्देशन गरेको फिल्म मार्फत सन्तोष अधिकारीले अभिनयमा डेब्यू गरेका छन् । फिल्मको निर्माता समेत रहेका उनले आफ्नो डेब्यू फिल्मलाई न्याय गर्न सक्दो प्रयास गरेका छन् । उनी चित्राको कार्यकारी निर्माता समेत हुन् ।

निर्देशक लामिछानेले चित्रा मार्फत चलेकै ट्रेनलाई पृथक शैलीमा बाबू र छोरीको कथा मार्फत देखाउन खोजिएको कारण विषयवस्तु दमदार बनेको उनी दावी गर्छन् । फिल्ममा समावेश एक्सन, रोमान्स, संगीतका कारण फिल्म मनोरञ्जनात्मक बनेकोले दर्शकको साथ पाउने उनको विश्वास छ ।

सन्तोष सँगै चित्रामा प्रकाश घिमिरे, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल आदी कलाकारको अभिनय रहेको छ ।

दर्शकले सिम्रन खड्का र प्रमोद अग्रहरीले निभाएको भूमिकाले फिल्मलाई परिपक्क बनाउन सघाएको प्रतिक्रिया दिए । निर्माता समेत रहेका कलाकार अधिकारीले समेत पहिलो फिल्म हो भन्ने आभाष गर्ने ठाउँ नराखेर आफ्नो भूमिकालाई न्याय गरेको दर्शकको प्रतिक्रिया छ ।

फिल्ममा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको फिल्ममा राजनराज शिवाकोटीको संगीत छ । आवाजमा राजनलाई गायिका मिलन अमात्यले साथ दिएकी छिन् । महेश पौडेलको छायाँकन,सन्देश शाहको सम्पादनमा फिल्म तयार भएको हो । फिल्मका आशिस थापा मगरको पनि लगानी छ ।

सन्तोष अधिकारी फिल्म्सको ब्यानर एवम् एएसएपी इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको अष्ट्रेलियाको वितरण अधिकार अविनास रोका मगरलाई दिइएको छ । फिल्मको लागत डेढ करोड नाघेको निर्माण पक्षको दावी छ । फिल्मको नेपालभरको लागि डिस्ट्रिब्युटरको जिम्मा श्री कृष्ण फिल्म्सले पाएको छ । फिल्मको छायाकंन पोखरा आसपास गरिएको थियो ।

नेपाल अहिलेबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com