यसकारण मलाई अझै अमेरिकाप्रति विश्वास छ

- ट्रम्पले अमेरिकी लोकतन्त्रलाई ४ वर्षमा ध्वस्त पार्न सक्दैनन्

-


     नेपालय न्युज    
     पौष २७ गते २०८०


गिडियन राकमन,

‘अमेरिकाप्रति मलाई भरोसा छ।’ डोनाल्ड ट्रम्पको उत्थान, पतन र पुनरोत्थानका क्रममा यो वाक्यांश मेरो दिमागमा घुमिरहेको छ।

पछि मात्रै मैले सम्झिएँ, यी सन्त्वनाका शब्द ‘द गडफादर’ को सुरुवाती वाक्य हो। यी शब्दहरू अमेरिगो बोनासेरा नामक पात्रले बोलेको हो। जसले वास्तवमा अमेरिकाप्रतिको विश्वास गुमाएको छ र बदलाका लागि ऊ माफिया डन बन्दैछ।

ट्रम्प अहिले अमेरिकी मतदाताहरूलाई भनिरहेका छन्, ‘तपाईंहरूको बदला म हुँ।’ उनी व्यवस्थाले ‘अन्याय गरेको र धोका दिएका’हरूलाई आह्वान गरिरहेका छन्।

 

र, यो तरिकाले काम पनि गरिरहेको छ। यो वर्ष हुने अमेरिकी राष्ट्रपतीय चुनावका लागि भइरहेका सर्वेक्षणहरूमा ट्रम्प जो बाइडेनभन्दा अगाडि छन्। सट्टेबाजहरूले समेत उनलाई अगाडि राखेका छन्, रिपब्लिकन पार्टीको उम्मेदवारको दौडमा मात्र होइन, राष्ट्रपतिमै पनि।

राष्ट्रपतीय चुनावको नतिजा उल्ट्याउन प्रयास गरेको आरोपमा मुद्दा खेपिरहेका व्यक्तिलाई मतदाताले चुन्न लागेको बेला म अमेरिकामाथि कसरी भरोसा गर्न सक्छु?

‘अमेरिकाप्रति भरोसा गर्नु’ का दुई अलग अर्थ हुन सक्छन्। पहिलो, अमेरिकाको अर्थ के हो, तपाईं त्यसमा भरोसा गर्न सक्नुहुन्छ। दोस्रो, अन्त्यमा अमेरिकाको भलो नै हुनेछ भन्नेमा तपाईं विश्वास गर्नु सक्नुहुन्छ। यी दुवै विचार सम्बन्धित छन्, तर एकै होइनन्।

अमेरिका विश्वका लागि उपकारी शक्ति हो भन्ने मेरो विश्वास छ। यही विश्वासका कारण गएका वर्षहरूमा म केही तीता बहसमा सामेल हुन पुगेँ, बेलायतमा समेत। जो आफूलाई अमेरिकाको सबैभन्दा निकट सहयोगी भन्ने गर्छ। भियतनाम युद्ध, रोनाल्ड रेगनको हतियार निर्माण, इराक युद्ध होस् वा बन्दुकबाट भइरहेको हिंसा, अमेरिकाका आलोचकहरूका लागि औँला उठाउने ठाउँ पर्याप्त छ।

यसमा मेरो सधैँको प्रतिक्रिया के छ भने इतिहासका हरेक महाशक्तिजस्तै अमेरिकाले पनि भयानक कृत्यहरू गरेको छ। तर, पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र शीतयुद्ध, अर्थात् गत शताब्दीका तीन सबैभन्दा ठूला टकरावहरूमा अमेरिका सही पक्षमा उभिएको थियो। वास्तवमा ती द्वन्द्वहरूमा अमेरिका निर्णायक शक्ति थियो। जसले निरंकुशता र तानाशाहीमाथि लोकतान्त्रिक विश्वको विजय सुनिश्चित गर्‍यो।

यही कारणले अमेरिकाप्रतिको मेरो विश्वास कायम छ– कि अन्ततः अमेरिका सफल हुनेछ। गएको ८० वर्षमा अमेरिका वास्तवमै ‘स्वतन्त्र विश्वको नेता’ रहँदै आएको छ। अमेरिका सफल लोकतन्त्र र युरोप र एसियाका अरु मुलुकसँगको गठबन्धनका माध्यमबाट अन्य लोकतान्त्रिक मुलुकहरूको रक्षकको उदाहरण बनेको छ।

यदि अमेरिकाको लोकतन्त्र धराशायी हुन थाल्यो भने विश्वभरका उदार लोकतन्त्रहरू संकटमा पर्नेछन्। विश्वको सबैभन्दा धनी र सबैभन्दा शक्तिशाली मुलुक लोकतान्त्रिक छ, यो आफैँमा भरोसा दिने कुरा हो। ट्रम्पको दोस्रो कार्यकालमा त्यो भरोसा गायब हुन पनि सक्छ।

ट्रम्पका थुप्रै समर्थक भन्छन्, उनले चुनाव जिते त्यो लोकतन्त्रको उदाहरण हुनेछ नकि निरंकुशतातर्फको पतन। तर, उनले चुनाव जित्दा पनि उनले आफ्नो स्वच्छता कायम राख्न सकेनन्।

उनको चरित्र हामीलाई थाहा छ। ट्रम्पले यसअघि नै देखाइसकेका छन्, लोकतन्त्रको सबैभन्दा आधारभूत प्रक्रिया, अर्थात् चुनावलाई उनी सम्मान गर्दैनन्। बारम्बार उनको ‘बदला’ को वाचामा पनि राजनीतिक विपक्षीमाथि मुद्दा चलाउने धम्की समावेश छ। जसमा बाइडेन स्वयंदेखि जोइन्ट चिफ्स अफ स्टाफका पूर्वप्रमुख मार्क मिलीसम्म पर्छन्। ट्रम्पविरुद्ध लगाइएको अभियोग विपरीत यी मुद्दाहरू स्वतन्त्र अभियोजकहरूले प्रमाणका आधारमा अघि सारेका होइनन्। यदि त्यसो भए ती देशको नेताको आदेशका भरमा लगाइएका मुद्दा हुनेछन्। जुन निरंकुशताको परिचायक हो।

यस्तो परिस्थितिमा पनि म अमेरिकाप्रति कसरी भरोसा गरिराख्छु त? पहिलो कुरा, चुनावको नतिजा निश्चित छैन। नोभेम्बर आउन अझै थुप्रै महिना बाँकी छ।

दोस्रो, अमेरिकाको महानता र उसले विश्वको नेतृत्व गरिराखेको अवधिमा सधैँ उथलपुथल र नाटक देखिँदै आएको छ। १९६३ मा जोन एफ केनेडीको हत्यादेखि जर्ज डब्ल्यू बुसको नेतृत्वमा चलेको ‘आतंकवादविरोधी युद्ध’ सम्मलाई उदाहरणका रुपमा लिन सकिन्छ। तर, अन्त्यमा अमेरिकाले सधैँ आफूलाई सुधार्‍यो। र, अमेरिकामा अन्तर्निहित गतिशीलता तथा संवैधानिक व्यवस्थाले आफूलाई फेरि स्थापित गर्‍यो। त्यसैले यो नाटकले पनि अमेरिकालाई अन्तिम र दुखान्त निष्कर्षमा पुर्‍याउने देखिँदैन।

अमेरिकामा जेजस्ता नाटक मन्थन-मञ्चन हुन्छन्, भलै त्यो ट्रम्पको नाटक किन नहोस्, ती सबै जति बिमारीका संकेत हुन्, त्यति नै जीवन्तताका संकेत पनि हुन सक्छन्। अमेरिका विद्रोही र संस्थापनविरोधी लामो प्रवृत्ति भएको मुलुक हो। जसले उसलाई उथलपुथल र निरन्तर रुपमा नयाँ परिवर्तनको अनुमति दिन्छ। मानिसहरू आधारभूत परिवर्तनको माग गरिरहेका छन्, ट्रम्पलाई भोट दिनु त्यसैको संकेत हो। र, भलै ट्रम्प समस्याहरूको सही समाधान नहोलान्, तर उनको उदय मतदातामा रहेको बेचैनी र तिनले यथास्थितिसँग सम्झौता गर्न गरेको इन्कार हो।

ट्रम्पको दिगो लोकप्रियताले ढिलै भए पनि अमेरिकी सम्भ्रान्तहरूलाई अति आवश्यक आत्मपरीक्षणका लागि प्रेरित गरेको हुनसक्छ। यो सुधारको एउटा उदाहरण हो– बाइडेनले अमेरिकी आर्थिक नीतिको केन्द्रमा पुनः असमानताको मुद्दालाई राख्ने प्रयास गरेका छन्। यसैको अर्को उदाहरण हो, ‘ओक’ (जागृत) सोचविरुद्धको प्रतिक्रिया। बाइडेनका एक सहयोगी मलाई भन्छन्, ‘हामीले के महसुस गरेका छौँ भने धेरै मानिसहरू अमेरिकी वामपन्थीसँग डराउँछन्।’

वामपन्थीविरुद्धको ट्रम्पको ‘बदला’ ले अमेरिकालाई केही नयाँ र डरलाग्दो दिशातिर डोर्‍याउन सक्छ। तर, म अमेरिकालाई यति त विश्वास गर्छु कि ट्रम्पको एक कार्यकालले मात्रै अमेरिकी लोकतन्त्र ध्वस्त पार्न सक्दैन। अमेरिका हंगेरी होइन। यो विशाल, जटिल मुलुकहरू हो। जहाँ शक्ति र सम्पत्तिका अनेक स्रोत छन्। ट्रम्प र उनका सहयोगीहरूले ती सबैलाई मात्र चार वर्षमा घुँडा टेकाउन सक्दैनन्।

त्यसैले तपाईंले अझै पनि मलाई ती मान्छेहरूमा गिन्ती गर्न सक्नुहुन्छ, जो ‘अमेरिकाप्रति भरोसा गर्छन्।’ म र अमेरिगो बोनासेरा।

(फाइनान्सियल टाइम्सबाट)

WP2Social Auto Publish Powered By : XYZScripts.com