भुटानी राजाले भारतको सीमामा कस्तो सहर बनाउन खोजेका हुन्?

-


     नेपालय न्युज    
     पौष २ गते २०८०


सन् २०२१ मा दक्षिण अफ्रिकी–अमेरिकी उद्यमी आर्ट फिन्चले भुटान सरकारका अधिकारीहरुलाई एउटा असम्भवजस्तो लाग्ने योजना सुनाउन थाले। त्यो योजना थियो– भारतसँगको सीमावर्ती क्षेत्रमा अवस्थित शान्त र सुन्दर सहर गेलेफुलाई एक स्वायत्त र ‘पर्यावरणीय–औद्योगिक’ सहरमा बदल्ने।

उनको तर्क थियो, यो सानो सहर विश्वभरका स्वतन्त्र विचारक र नवप्रर्तकहरुका लागि हब बन्नलायक छ, जसले आफ्नो ज्ञान र धन भुटान भित्र्याउनेछन्। यो हरित वास्तुकला र दिगो उद्योगका लागि स्वर्ग हुने उनको भनाइ थियो।

फिन्चलाई अर्बपति पिटर थिलको पनि साथ थियो। त्यसैले उनको यो योजनाले स्थापनादेखि नै सो सहरमा ठाउँ भाडामा लिन चाहने १९ विदेशी कम्पनीहरुको ‘लेटर अफ इन्टेन्ट’ प्राप्त गर्‍यो। जुन सहरलाई फिन्चले युङ द्रुङ सिटी नाम दिएका थिए।

तर, फिन्चले योङ द्रुङ सिटी बनाउने सपना देखेकै स्थानमा भुटानी राजाले नयाँ योजना अघि सारेका छन्।

आइतबार भुटानको ११६ औँ राष्ट्रिय दिवसका अवसरमा राजा जिग्मे खेसर नामग्याल वाङचुकले औपचारिक रुपमा गेलेफु माइन्डफुलनेस सहर निर्माणको घोषणा गरे।

तर, यो योजनामा फिन्चलगायत लगानीकर्ता संलग्न देखिँदैनन्। भुटान सरकारले आफूहरुको योजना नक्कल गरेर परिमार्जन गरेको फिन्चको भनाइ छ।

‘विदेशी परामर्शदाताहरुको प्रभावमा परेको नेतृत्वले अहिले फरक र असम्भव परियोजना अघि बढाउँदैछ,’ फोर्ब्सले उनको भनाइ उद्धृत गरेको छ।

भुटानी राजाको योजना
भुटानी राजाले थिम्पुको चाङ्लिमाथाङ रंगशालामा भेला भएका ३० हजार दर्शकसामु १ हजार वर्गकिमि अर्थात् भुटानको क्षेत्रफलको २.५ प्रतिशत क्षेत्रफल ओगट्ने अन्तर्राष्ट्रिय सहर बनाउने बताए। जसले भारतको उत्तरपूर्वी राज्यहरु हुँदै दक्षिण एसियालाई दक्षिणपूर्वी एसियासँग जोड्ने उनको भनाइ थियो।

सुरुमा गेलेफुमा आयोजना गरिने भनेको सो समारोह पूर्वाधार अभावमा थिम्पु सारिएको थियो।

करिब २ अर्ब मानिस बस्ने दक्षिण एसिया अभूतपूर्व आर्थिक परिवर्तनबाट गुज्रिरहेको र त्यो मौका छोप्न सके भुटानलाई ठूलो फाइदा हुने राजाले बताए।

‘यो दक्षिण एसियामा जागरण र आर्थिक परिवर्तनको युग हो, वृद्धि र विशाल अवसरको युग,’ भुटानका पाँचौँ राजाले भने, ‘यो एउटा मार्ग हो, जसले नयाँ अवसर, बजार, पुँजी, नयाँ विचार र प्रविधि… हाम्रो भविष्य, हाम्रो गन्तव्यसम्म पुर्‍याउँछ।’ भीडले ताली पिटेर उनको जयजयकार गरेको थियो।

यो सहरमा विशेष छानबिनपछि अन्तर्राष्ट्रिय कम्पनीहरुबाट गुणस्तरीय लगानी भित्र्याइने उनले बताए।

त्यसका लागि गेलेफुमा विशेष आर्थिक क्षेत्र नभई विशेष प्रशासनिक क्षेत्र घोषणा गरिएको छ। राजाले सो क्षेत्रले आवश्यक कानुन आफैँ बनाउने बताए।

यो सहरमा भुटानको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाइनेछ। जसमा अहिले पारोमा रहेको विमानस्थलमा भन्दा ठूला विमान अवतरण हुनेछन्। त्यसका अलावा सडकलगायत पूर्वाधारमा लगानी गरिनेछ। विदेशी लगानी भित्रिएसँगै अफिस, आवासीय भवन, स्कुल, अस्पताल, पसल, रेस्टुराँ, होटल, इत्यादि बनाइने उनको भनाइ छ। तत्कालका लागि उर्जा, कनेक्टिभिटी र सिप विकासका क्षेत्र जोड दिइने उनले बताए।

यही वर्ष मात्रै भुटानी राजाले दुई पटक भारत भ्रमण गरे। सो भ्रमणमा उनले प्रधानमन्त्री नरेन्द्र मोदी र सीमावर्ती राज्य आसामका मुख्यमन्त्री हेमन्त विश्व शर्मासँग यसबारे छलफल गरेका थिए।

‘मेरो हालैको भारत भ्रमणका क्रममा भारत सरकारले भुटानसँग जोडिने प्रमुख सडकको सुधार र विस्तारको प्रतिबद्धता गरेको छ। उसले हाम्रा दुई या तीन सीमावर्ती सहरलाई रेलमार्गले जोड्ने पनि बाचा गरेको छ। म प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई यो निरन्तर सद्भावना र समर्थनका लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु,’ उनले भने।

उनको योजनामा लगानी कसले गर्छ अहिलेसम्म स्पष्ट छैन। तर, भारत भ्रमणमा राजाले उद्यमीहरु मुकेश अम्बानी, गौतम अदानीसहित टाटा, बिरला र महिन्द्रा कम्पनीका प्रमुख कार्यकारीहरुसँग पनि भेटेका थिए।

‘म २६ वर्षको उमेरमा राजा भएँ। अहिले म ४३ पुगेँ। यो लक्ष्य पूरा गर्न मैले शक्तिले भ्याएसम्म सबैथोक गर्छु। म आफ्नो ज्यान समेत दाउमा लगाउनेछु। र, यो म तपाईंहरुका लागि गर्नेछु,’ उनले भने।

राजाले ४५ मिनेटभन्दा लामो समय सम्बोधन गरेका थिए। जहाँ भारत, जापान, जर्मनी, स्विट्जरल्यान्ड, इटली, फ्रान्सलगायत मुलुकका अथिति उपस्थित थिए। पहिलो पटक राष्ट्रिय दिवसमा यति धेरै पाहुना बोलाइएको बताइएको छ।

सफल होला?
माइन्डफुलनेस सिटीको योजना म्याकिन्सी एन्ड कम्पनी र सिंगापुरको सहरी योजना परामर्शदाता सिस्ट्रीले बनाइरहेको फोर्ब्सले जनाएको छ। उनीहरुको डिजाइनअनुसार सो स्थानमा औद्योगिक क्षेत्रको केन्द्रमा सघन सहरी बस्ती हुनेछ। जहाँ बौद्ध सिद्धान्तहरुको पालना पनि गरिनेछ।

यस्ता सहरका पक्षधरहरु सेन्चेन र दुबईको सफलताको उदाहरण दिने गर्छन्। जहाँ यस्तो मोडल विशाल मात्रामा लागू गरिएका छन्। जसका कारण ससाना यस्ता सहरको परिकल्पना पनि हुन थालेको छ। उदाहरणका लागि होन्डुरसको क्रिप्टो कम्युन प्रोस्पेरा, नाइजेरियाको लेक्की फ्री जोन, र गायक एकनले योजना बनाएको एकन सिटीलाई लिन सकिन्छ।

तर, भुटानको यो योजना सफल हुने ग्यारेन्टी भने छैन। यसअघि पनि १ अर्ब डलरको ‘शिक्षा सहर’ निर्माण गर्ने सरकारी योजना तुहिएको थियो। बरु, त्यसलाई गुपचुप बिटक्वाइन माइनिङका लागि प्रयोग गर्न थालिएको छ।

त्यस्तै माइन्डफुलनेस सिटीले आम जनताको विरोध पनि खेप्नुपर्ने हुनसक्छ। आम जनतामा सरकारले जमिन हडप्ने डर रहेको बताइन्छ। यो डरको आधार हो, गेलेफु सहरको इतिहास। जहाँबाट नेपालीभाषीहरु हिंसात्मक तरिकाले लखेटिएका थिए। समग्रमा भुटानमा झण्डै एक लाख शरणार्थी नेपाल आएर बसेका थिए। त्यसबेला पक्राउ परेका ३० जना अझै पनि ३० वर्षभन्दा लामो समयदेखि जेलमै छन्।

राष्ट्रसंघले भुटानलाई हालै अतिकम विकसित मुलुकको सूचीबाट हटाएको छ। तर, भुटानको आर्थिक अवस्था संकटमुक्त छैन। जलविद्युत् परियोजनाहरुका लागि लिइएको ऋण र कोभिडका कारण पर्यटनमा आएको कमीले यो मुलुक समस्यामा छ। बेरोजगारी दर २० प्रतिशत पुगेको छ भने युवा र दक्ष कामदारले देश छाड्ने दर पनि बढेको छ।

नेपालखबरबाट

द भुटनिज, द हिन्दू र फोर्ब्सको सहयोगमा

WP2Social Auto Publish Powered By : XYZScripts.com