चितुवाले रित्यायो कालिज फार्म, १३ लाखको क्षति

-


     नेपालय न्युज    
     मंसिर २७ गते २०८०


पोखरा । गोरखाको पालुङटारस्थित एक कालिज फार्ममा आइतबार राति चितुवा पसेर ठूलो नोक्सानी पुर्‍याएको छ । पालुङटार नगरपालिका वडा नं. ९ लामागरास्थित गोरखा अर्गानिक एग्रो फार्ममा आइतबार राति चितुवा पसेर उक्त नोक्सानी पुर्‍याएको हो ।

चितुवाको आक्रमणबाट सोही फार्ममा काम गर्ने गोरखा सिरानचोक गाउँपालिका वडा नं.१, केराबारीका ४३ वर्षका रवीलाल बस्ताकोटीसमेत घाइते भएका छन् । उनको गोरखा अस्पतालमा प्राथमिक उपचार र चितवनमा थप उपचारपछि अहिले घर फर्किएका छन् । बस्ताकोटीको हात खुट्टामा चोट लागेको छ ।

सञ्चालक जीवन ढकालका अनुसार फार्ममा गत जेठ महिनामा ६ सय २१ वटा कालिज हालिएको थियो । तीमध्ये करिब २० वटा बर्खाको समयमा मरेको र १५ वटा हालसालै विक्री गरिएको थियो । बाँकीमध्ये करिब १ सय ५० वटा कालिज चितुवाको आक्रमणबाट मरेको र करिब ३ सय वटा चितुवाको आक्रमणमा पर्दा अतालिएर भागेको थियो ।

अहिले फार्ममा करिब ५० वटा मात्रै कालिज बाँकी रहेको सञ्चालक ढकालले जानकारी दिए । उनका फार्ममा चितुवा पसेर करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । हालै विक्री भएका कालिजमा पोथी १ हजार ७ सय र भाले २ हजार रुपैयाँका दरले विक्री भएका थिए ।

उनका अनुसार ग्याबिन तार माथिबाट लगाएको नाइलनको जाली फाँडेर चितुवा फार्म भित्र छिरेको होे । राति कामदार बस्ताकोटी कालिजलाई दाना दिन जाँदा मात्रै घटनाबारे जानकारी पाइएको थियो । चितुवा साँझ ८ बजेदेखि ११ बजेको बीचमा फार्मभित्र पसेको हुन सक्ने सञ्चालक ढकालले बताए ।

कामदार बस्ताकोटीले केही कालिज मरेको देखेका थिए । अन्य कालिजलाई दाना दिएर फर्किनेक्रममा बन बिरालो जस्तो देखेर धपाउन खोज्दा चितुवाले बस्ताकोटीलाई आक्रमण गरेको थियो । भोलिपल्ट उज्यालो हुँदासम्म फार्म भित्रै रहेको चितुवालाई डिभिजन वन कार्यालय गोरखाका कर्मचारी आएर फार्मको ढोका खेलेर प्राकृतिक रुपमा नै जंगल जान दिएको बताइन्छ ।

चितुवाले फार्ममा भित्र पुर्‍याएको क्षतिका बारेमा जनप्रतिनिधि, प्रहरी र डिभिजन वन कार्यालयको रोहवरमा क्षतिको विवरण संकलन गरिएको सञ्चालक ढकालले बताए ।

सञ्चालक ढकाललाई भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सिफारिसका आधारमा राहत उपलब्ध गराइने डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

ढकालले फार्ममा बंगुर, बँदेल कुखुरा, बाख्रा, भैँसीपालन गर्नुका साथै तरकारी खेतीसमेत गरेका छन् । फार्ममा हालसम्म करिब १० करोड रुपैयाँ लगानी भएको उनी बताउँछन् ।

करिब ७ वर्षदेखि एग्रो फर्म सञ्चालन गरेका ढकालले गतवर्षदेखि मात्रै कालिज पाल्न सुरु गरेका थिए । गतवर्ष ३ सय वटा कालिजबाट राम्रो आम्दानी भएपछि यसपटक दोब्बर कालिज हालेको उनी बताउँछन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com