माथिल्लो मुगुको रारा क्षेत्रमा हिमपात, बागलुङ र पूर्वी रुकुम जोड्ने मध्यपहाडी लोकमार्ग पूर्ण अवरुद्ध

-


     नेपालय न्युज    
     मंसिर १८ गते २०८०


मुगु/बाग्लुङ । हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको शुरूवाती हिमपात हुन थालेको छ । आइतबार रातिबाट बदली हुँदै गएपनि आज बिहानैदेखि उच्च भुभागमा हिउँ र बेँसीमा पानी पर्न शुरू गरेको हो ।

मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटन, कोइकी हिमाल मुगु र डोल्फु क्षेत्रमा हिमपात शुरू भएको डोल्फु गाउँका नेग्मा सेराव लामाले जानकारी दिए । उनका अनुसार प्रमुख पर्यटकीय क्षेत्र रारा र मुर्माटपमा पनि बिहानैदेखि हिउँ पर्न शुरू भएको र चिसो असाध्यै बढेको छ ।

रारा घुम्न आएका पर्यटन हिमपात तथा पानीले हवाई र स्थलमार्ग बन्द हुनसक्ने भन्दै बिहानै यहाँबाट घरतर्फ जान तरखर गरेका रारा राष्ट्रिय निकुन्जका रेन्जर हिमाली खत्रीले जानकारी दिए । जिल्लाका अन्य क्षेत्र बुलबुले, सात ताल, दूधताल, चन्खेली, बाम, रिणिमोक्क्ष, खेस्मालिका, सोरुकोटमा पनि हिउँ पर्न शुरू गरेको खबर प्राप्त भएका उनले बताए ।

सदरमुकाम गमगढीमा पानी पर्न शुरू गरेको छ । अत्यधिक पानी र हिउँका कारण सडक अवरुद्ध भई दैनिक उपभोग्य वस्तुका साथै अन्य निर्माण सामग्री अभाव हुन्छ कि भन्ने चिन्ता बढेको मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढा बताए ।

हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमाअवरुद्ध

त्यस्तै, आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङ निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । अहिले पनि हिमपात भइरहँदा सवारी साधन सञ्चालन हुन नसकेको स्थानीय तिलबहादुर घर्तीमगरले बताए ।

आइतबार साँझदेखि वर्षा भए पनि आज बिहानदेखि नै हिमपात भएको घर्तीमगरले जानकारी दिए । हिमपात भएपछि पूर्वी रुकुमदेखि पोखरा काठमाडौँ चल्न सवारी साधन बिहानसम्म हिउँ पन्छाएर यात्रा गरे पनि अहिले पूर्ण रुपमा बन्द भएको उनले बताए । चरनका लागि पातिहाल्ने लगिएका वस्तुभाउ पनि बेंसी झारिएको उनको भनाइ छ ।

उनले भने, “हिउँ पर्न रोकिएको छैन, यो समयमा यात्रा गर्न निकै गठिन हुन्छ, सकेसम्म हिउँ नपग्लिँदासम्म यात्रा नगरेको राम्रो, गाडीहरु चिसोका कारण बिग्रिने सम्भावना बढी हुन्छ, अहिले सवारी साधन चलेका छैनन्, बेँसीबाट लिएका भेडाबाख्रा पनि फर्काइएको छ, आज रातिसम्म हिमपात हुने सम्भावना देखिएको छ ।”

ढोरपाटन सिकार आरक्ष क्षेत्र पनि हिमपातले सेताम्य बनेको छ । बिहानदेखि हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर भएको छ । वर्षासँगै परेको हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्किन सकेका छैनन् । ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र पूरै हिउँले ढाकिएको स्थानीय होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले जानकारी दिए । लामो समयपछि वर्षासँगै हिमपात हुँदा किसान भने हर्षित भएका छन् ।

पानी र हिमपात हुन थालेपछि हिउदे बाली गहुँ, जौ र नाफल खेती राम्रो हुने, हिमाली यार्सा, जडीबुटी वृद्धि हुनुका साथै गुणस्तरको हुने भन्दै किसान, जडीबुटी व्यापारी खुसी भएका छन् ।एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com