
सागर न्यौपाने,
मंसिर ७ गते काठमाडौंकेन्द्रित प्रदर्शन गर्न लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पेरिसडाँडामा एउटा कार्यालय खोलेका छन्।
सत्तारुढ माओवादी केन्द्रको मुख्यालयको मुखैमा रहेको कार्यालयमा प्रसाईँको टिमले कार्यक्रमको रणनीति बनाइरहेको छ।
‘नागरिक बचाउ अभियान’ नाम दिएर काठमाडौंकेन्द्रित प्रदर्शनको व्यवस्थापन मिलाउन सचिवालय टिम सक्रिय छ। उद्देश्य छ- व्यवस्था नै उल्टाउने।
प्रसाईँले अभियानको केन्द्रीय निकायका रूपमा ७ जनालाई समेटेर अध्यक्ष मण्डल बनाएका छन्।
नेपालखबर टिम पुग्दा प्रसाईँ कार्यालयमा भेटिएनन्। बरु त्यहाँ विभिन्न समूहमा बैठक र छलफल भइरहेका थिए।
हामीले कार्यक्रमबारे जिज्ञासा राखेपछि अध्यक्ष मण्डलका सदस्य तथा संगठन एवं कार्यक्रम प्रमुख हरि कार्की कुरा गर्न तयार भए।
कार्की नेपालमा २०७९ को चुनावमा स्वतन्त्र उम्मेदवार अर्थात् लौरो अभियान चलाउनेमध्येका एक अभियन्ता रहेछन्। पोखराको एउटा निजी स्कुलको प्राचार्य पनि रहेछन्।
उनका अनुसार, काठमाडौंकेन्द्रित अभियानको तयारी अन्तिम चरणमा पुगेको छ। बृहत उपस्थिति हुने भएकाले त्यसबारे प्रशासन र सुरक्षा निकायलाई पत्राचार गरिसकेको उनले बताए।
‘हामीले रणनीतिकरूपमा प्रदर्शनस्थलको बारेमा जानकारी नगराएका हौँ,’ कार्कीले नेपालखबरसँग भने, ‘अन्तिम समयमा मात्र हामी यसबारे जानकारी सार्वजनिक गर्छौँ।’
सारा सत्ता र पुराना राजनीतिक दलहरू भाँड्नेतिर लागेकाले सबै कार्यक्रमबारे जानकारी सार्वजनिक नगरेको उनको दाबी छ।
१० लाख उतार्ने दाबी
कार्कीका अनुसार, मंसिर ७ गते काठमाडौंमा गर्ने कार्यक्रममा १० लाख मानिस सहभागी हुन सक्छन्।
पहिला अलि कम हुने आकलन भए पनि अहिले देशव्यापी मौजुदा राजनीतिक दल र नेताहरूप्रतिको वितृष्णाका कारण अपेक्षा गरेभन्दा धेरैको सहभागिता हुन लागेको उनको दाबी छ।
‘यो कार्यक्रमको तयारी ९ महिनादेखि भएको हो,’ उनले भने, ‘देशैभरबाट मानिस काठमाडौं आउँदै छन्। आउन नसक्ने जिल्लामै पनि प्रदर्शन गर्नेछन्।’
प्रसाईँको सचिवालयका अनुसार, देशका विभिन्न भागबाट प्रदर्शनकारी ल्याउन बस, गाडी, जिप, भ्यान तयारी अवस्थामा राखिएको छ। अभियानमा जोडिन खोज्नेलाई सम्पर्क नम्बर उपलब्ध गराइएको छ।
प्रसाईँको नम्बरमा फोन गर्ने जोकोहीलाई ठाउँ हेरी सम्पर्क व्यक्तिको नम्बर उपलब्ध गराउने गरिएको छ। सामाजिक सञ्जाललाई व्यापक प्रयोग गरिएको छ। प्रचार प्रसारको मुख्य माध्यम नै मेसेन्जर, भाइभर, ह्वाट्सएप लगायतलाई सक्रिय पारिएको छ।
स्वतन्त्र आन्दोलन भएकोले धेरैतिरबाट स्वतःस्फूर्त सहभागी हुने सूचना पाइरहेको कार्कीले दाबी गरे।
‘२०६२ मंसिर ७ गते नयाँ दिल्लीमा १२ बुँदे सम्झौता गरिएको दिन भएकोले यो दिन विशेष अर्थपूर्ण छ,’ कार्कीले थपे, ‘नागरिकका छटपटी र उकुसमुकुस अन्त्य गर्न यो निर्णायक धक्का हुन्छ।’
उनले प्रदर्शन एकै दिनमा नरोकिने दाबी पनि गरे। व्यवस्था नै उल्टाउने अभियानको उद्देश्य रहेको उनको भनाइ छ।
नेकपा एमालेले प्रसाईँको नेतृत्वमा गर्न लागेको प्रदर्शनको प्रतिवादमा मंसिर ७ गते नै काठमाडौँमा जनप्रदर्शन गर्दै छ।
पोलिटब्युरो सदस्य महेश बस्नेतको नेतृत्वमा हुन लागेको प्रदर्शनमा एमालेले सबै शक्ति परिचालन गर्ने दाबी गरेको छ। २३ वटा जनवर्गीय तथा भातृ संगठनमार्फत् शक्ति प्रदर्शन गर्ने एमालेको तयारी छ।
बस्नेतले माइतीघरमा ५० हजार कार्यकर्ता उतार्ने दाबी गरे पनि प्रसाईँले कहाँ प्रदर्शन गर्ने भन्ने खुलाएका छैनन्।
यही बीचमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले पुतलीसडकको पद्मोदय मोडदेखि माइतीघर हुँदै नयाँ बानेश्वरसम्मको क्षेत्रमा ३० दिनका लागि प्रदर्शन निषेध गरेको छ। ५ जनाभन्दा बढी भेला हुन, जुलुस, धर्ना, प्रदर्शन लगायतका गतिविधि गर्न नपाउने गरी प्रमुख जिल्ला अधिकारीले आदेश जारी गरेका छन्।
प्रसाईँले सरकार र अन्य दलहरूले बाधा पुर्याउन सक्ने देखेर चलाकीपूर्ण तरिकाले काठमाडौँको कुन क्षेत्रमा प्रदर्शन गर्ने भनेर खुलाएका छैनन्। सोमबार प्रशासनलाई पठाएको पत्रमा पनि शान्ति सुरक्षाको व्यवस्था गरिदिन मात्र भनेका छन्, प्रदर्शनस्थल तोकेका छैनन्।
७ गते विभिन्न क्षेत्रबाट समर्थकहरू आउने र त्यस दिन सामान्य कार्यक्रम गर्ने प्रसाईँको तयारी छ। त्यसपछि प्रदर्शनकारीलाई काठमाडौँमै तीन दिनसम्म राखेर प्रदर्शनलाई निरन्तरता दिने योजना छ।
कार्यक्रम संयोजक कार्की भन्छन्, ‘९ गतेसम्म अभियान चल्न सक्छ, पहिलो दिन ७ गते उद्घाटन गरेर ८ र ९ गते निरन्तरता दिनुपर्ने हुन सक्छ।’
२१ समिति, ५ ट्रक खाद्यान्न
अभियानको लागि केन्द्रमा ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ, जसमा दुर्गा प्रसाई, हरि कार्की, इशा खड्का, राजु पनेरु, आनन्द प्याकुरेल, रमा सिंह र प्रेमदीप लिम्बु छन्।
उनीहरूले अभियानका विभिन्न मोर्चाको नेतृत्व गर्नेछन्।
कार्कीका अनुसार, कार्यक्रम गर्न २१ वटा समिति बनाइएको छ। सुरक्षा व्यवस्थादेखि खाद्यान्न, मानिस ओसारपसार गर्ने सबै प्रबन्ध मिलाइएको छ।
काठमाडौंमा आउने मानिसलाई २५ वटा पार्टी प्यालेसमा बस्ने, खाने व्यवस्था मिलाइएको जानकारी कार्कीले दिए। ७ वटै प्रदेशका सहभागीलाई प्रदेशअनुसार अलगअलग क्षेत्र विभाजन गरी बस्ने व्यवस्था मिलाइएको उनको दाबी छ।
कार्कीले भने, ‘५ ट्रक खाद्यान्न व्यवस्थापन भइसकेको छ। ५१ जनाको चिकित्सक टोली तयार छ। २ वटा एम्बुलेन्स र काठमाडौंका पाँचवटा अस्पतालसँग उपचारको लागि समन्वय गरिरहेका छौँ।’
प्रतिवाद गर्न ५ हजारको दस्ता
प्रसाईँले प्रदर्शन शान्तिपूर्ण हुने र सहभागीलाई अनुशासनमा राख्न सक्दो प्रयास गर्ने बताएका छन्।
काठमाडौंका सडकमा हुने प्रदर्शनका लागि निश्चित नारा तय गरिएको छ।
‘हामीले तोकेभन्दा फरक खालका नारा लगाए भिजिलान्ते भनेर पक्राउ गरेर सुरक्षा निकायलाई बुझाउँछौं,’ कार्कीले थपे।
‘हामी मुठभेड चाहदैँनौ, कसैलाई आक्रमण गर्दैनौं,’ कार्कीको भनाइ छ, ‘तर आक्रमण भइहाले प्रतिकार गर्छाैँ।’
उनकै भनाइमा प्रतिरक्षा गर्न पाँच हजारको युवा दस्ता तयारी अवस्थामा छ।
प्रसाईँले घोषणा गरेको अभियानमा ११३ संघ–संस्थाले साथ दिएको बताएका छन्। विभिन्न जिल्लाबाट मानिस ओसार्ने काम पनि तिनै संघसंस्थामार्फत् गरिँदै छ।
आर्थिक विषय मिलाउन पनि विशेष टोली बनाइएको छ। कति खर्च हुन्छ भन्ने विषय भने अभियानले खुलाएको छैन। ‘प्रत्येक सहभागीले आफ्नो खर्च आफै बेहोर्छ,’ कार्की भन्छन्, ‘खाद्यान्न, पार्टी प्यालेस आदि पनि हामीले दानबाटै पाएका छौँ।’
मुठभेडको आकलन
एमालेले पनि त्यही दिन कार्यक्रम पारेकाले मुठभेड हुन सक्ने जोखिमको आकलन सुरक्षा निकायले गरेका छन्। गृह मन्त्रालय स्रोतका अनुसार, मंसिर ७ गते २० देखि २२ हजारसम्म मानिस बाहिरबाट प्रदर्शनका लागि आउन सक्ने आकलन गरिएको छ।
काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुखले सोमबार नै बैठक बसी विशेष निगरानी बढाउने निर्णय गरेका छन्। प्रहरीले आइतबारदेखि नै ठाउँठाउँमा जाँच र निगरानी गरिरहेकै छ।
नेपालखबर बाट