
विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंका गतिविधिका कारण गणतन्त्र स्थापनामा भूमिका खेलेका राजनीतिक दलहरु भयभीत छँदैछन्। राजतन्त्र पुनर्स्थापनाको एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेत उनको गतिविधिबाट त्रस्त देखिएको छ।
कांग्रेस, एमाले, माओवादी लगायतका मूलधारका राजनीतिक दलहरुको भयको कारण दल र व्यवस्थाप्रति जनतामा देखिएको वितृष्णाको लाभ पूर्वराजा र प्रसाईंले लिइदेलान् भन्ने हो। राप्रपाको चिन्ता भने अलिक फरक छ। उसको चिन्ता छ– आफूले लिने खोजेको यो वितृष्णाको लाभ प्रसाईंले त लिइदिने होइनन्? पूर्वराजाले पनि प्रसाईंलाई नै पो विश्वास गरिदिने हुन् कि!
स्रोतका अनुसार यसैक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले तिहार सुरुवात हुनुअघि पूर्वराजा शाहसँग भेटवार्ता गरेर उनका गतिविधिमा राप्रपाको पूर्ण साथ रहने विश्वास दिलाएका छन्, ताकि पूर्वराजा शाहको निकटता प्रसाईंसँग नबढोस्। पूर्वराजाको ९ मंसिरको झापा भ्रमणको योजना बनाउने सिलसिलामा लिङ्देनले निर्मल निवास पुगेर उनीसँग भेटघाट गरेका हुन्।
प्रसाईंको नियत, भयभीत लिङ्देन
विभिन्न ब्याङ्कहरुबाट लिएको करौडौँ रुपियाँ प्रसाईंले तिर्न बाँकी छ। प्रसाईंको आन्दोलन त्यही ऋण र त्यसको ब्याज नतिर्न हो। गत आम निर्वाचनमा एमालेको टिकट प्राप्त गर्न नसकेका उनी यतिबेला सबैभन्दा बढी एमाले र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिएका छन्।
प्रसाईं गत फागुनसम्म एमालेको केन्द्रीय सदस्य थिए। माओवादी छाडेर एमाले प्रवेश गर्दा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकटको आश्वासन दिएका थिए। यही कारण उनी झापा–३ मा एमालेको टिकटका आकांक्षी थिए।
तर, जब कांग्रेस–माओवादी–एकीकृत समाजवादी सहितको गठबन्धन निर्माण भयो, तब झापाको हकमा राप्रपासँग गठबन्धन गर्नै पर्ने परिस्थितिमा एमाले अध्यक्ष ओली पुगे। झापामा बलियो स्थितिमा रहेको राप्रपासँग गठबन्धन नगरी चुनावी परिणाम आफ्नो पक्षमा पार्नसक्ने स्थितिमा एमाले थिएन।
त्यसैअनुरुप झापाका अन्य सिटमा एमाले उम्मेदवारहरुलाई राप्रपाले सघाउने भयो। झापा–३ भने राप्रपा अध्यक्ष लिङ्देनले एमालेको साथ पाउने भए। झापा–३ बाट एमाले–राप्रपाका उम्मेदवार अध्यक्ष लिङ्देन भएपछि निर्वाचन अवधिभर प्रसाईं निष्क्रिय भए, विदेश गएर समय बिताए।
निर्वाचनको केही समयपछि १ फागुन (२०७९) मा प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउने भन्दै झापाबाट ‘महाअभियान’ घोषणा गरे। त्यसको उद्घाटन कार्यक्रममा पूर्वराजा शाह प्रमुख अतिथिको रुपमा उपस्थित थिए।
यसले गर्दा पूर्वराजाको साथ अब प्रसाईंलाई छ भन्ने सन्देश प्रवाहित हुन पुग्यो।
प्रसाईंको उदेश्य राजनीतिक दलहरुप्रतिको वितृष्णालाई उपयोग गर्ने र अराजकतामार्फत् ब्याङ्कमा रहेको ऋण नतिर्ने हो। आफ्नो व्यावसायिक स्वार्थका लागि यसअघि उनले पुष्पकमल दाहाल (प्रचण्ड) र केपी शर्मा ओलीजस्ता नेताहरुलाई समेत प्रयोग गरिसकेका छन्।
ओली र प्रचण्ड समेत प्रसाईंबाट उपयोग हुन्छन् भने पूर्वराजा ज्ञानेन्द्र प्रयोग नहोलान् भन्न सकिन्न। १ फागुनको कार्यक्रममा भीड बटुल्न उनले पूर्वराजालाई प्रयोग गरेकै हुन्।
अझै पनि पूर्वराजाको साथ प्रसाईंलाई नै छ भन्ने सन्देश प्रवाहित हुन पुग्यो भने त्यसको असर ठूला राजनीतिक दलहरुलाई मात्र होइन, राप्रपा र अध्यक्ष लिङ्देनलाई पनि पर्छ। किनकि दुवैको निर्वाचन क्षेत्र एउटै हो। राजतन्त्र पुनर्स्थापनाको एजेन्डा बोकेपछि लिङ्देन पनि दलीय व्यवस्थाकै पक्षधर हुन्।
जसरी रास्वपाको उदय अन्य ठूला दलसँगै राप्रपाका लागि पनि चुनौती बनेको थियो, प्रसाईंको उदयले समेत राप्रपालाई असर पार्छ नै। अझ बढी पार्छ। किनभने, उनले आफूलाई ‘राजावादी–हिन्दूवादी’ सिद्ध गर्न खोजेको छन्, जुन राप्रपाको एजेन्डा हो।
यस्तो बेला पूर्वराजा शाहले ९ मंसिरमा झापा जाने निधो दुई हप्ताअघि गरे। यसबारे उनका संवादसचिव फणिराज पाठकले शनिबार (२ मंसिर) मा विज्ञप्तिमार्फत् जानकारी गराएका छन्। विर्तामोड नपा–१ स्थित ‘इस्टर्न एम्पाएर कलेज अफ म्यानेजमेन्ट’ ले आफ्नो परिसरमा स्थापना गरेको पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि उनी झापा जाने लागेका हुन्।
एकातिर ७ मंसिरमा काठमाडौँमा प्रसाईंको प्रदर्शन, अर्काेतिर त्यसको पर्सिपल्ट उनको गृहजिल्ला झापामा पूर्वराजा जाने कार्यक्रम! कतै पूर्वराजा शाह उनकै योजना अनुरुप झापा जान लागेका त होइनन् भन्ने सन्देश प्रवाहित हुने नै भयो।
झापामा पूर्वराजालाई राप्रपाको साथ
त्यसो त, प्रसाईंका गतिविधि दल र व्यवस्थाविरुद्ध भएकाले राजावादी तप्काले उनलाई साथ दिएको छ। तर, राप्रपा नेताहरुका भनाइमा, ९ मंसिरमा हुने पूर्वराजाको भ्रमणसँग प्रसाईंको अभियानको कुनै सम्बन्ध छैन। बरु, पूर्वराजाको झापा जाने कार्यक्रम अध्यक्ष लिङ्देनसँगको सल्लाह बमोजिम भएको उनीहरुको दाबी छ।
राप्रपाका एक नेताका अनुसार, २३ कार्तिकमा अध्यक्ष लिङ्देनले गरेको भेटपछि पूर्वराजा झापा जाने कार्यक्रम तय भएको हो। १२ दिने अमेरिका भ्रमणबाट २२ कार्तिकमा फर्केका लिङ्देनले भोलिपल्ट (२३ कार्तिक) मा निर्मल निवास पुगेर पूर्वराजासँग भेटवार्ता गरेका थिए।
सो भेटवार्तालगत्तै राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्यो। बैठकमा उनले निर्मल निवासमा भएको भेटवार्ता र पूर्वराजाको झापा भ्रमणको कार्यक्रमबारे ब्रिफिङ गरे। बैठकमा पूर्वराजाको झापा भ्रमणलाई सफल बनाउन राप्रपाले आफ्नो स्रोत–साधन लगाउने निर्णय ग¥यो।
यही निर्णय बमोजिम मंसिर ९, १० र ११ का लागि तय भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस १, २ र ३ का लागि सारियो। यो निर्णयलगत्तै लिङ्देन २४ कार्तिकमा झापा पुगे, तिहार उतै मनाए। उनी अहिले पनि त्यहीँ बसेर पूर्वराजाको भ्रमणको तयारीमा लागिरहेका छन्।
‘झापाका सम्पूर्ण पालिका र नेता–कार्यकर्तालाई राजा (पूर्व) को कार्यक्रम सफल बनाउन उहाँले निर्देशन दिनुभएको छ,’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने, ‘पूर्वराजाको भ्रमणको तयारीको कमान्ड पनि उहाँले नै सम्हाल्नु भएको छ।’
श्रेष्ठका भनाइमा पूर्वराजा शाह पनि वैधानिक शक्तिलाई नै साथ लिएर अगाडि बढ्ने योजनामा देखिन्छन्।
‘यो दलीय व्यवस्था हो, दलीय व्यवस्थामा राजनीतिक दलहरुलाई नै विश्वास गरेर जानुपर्छ भन्ने (पूर्व) राजा को सोच देखिन्छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘यही कारण ९ मंसिरको कार्यक्रमलाई भव्य र सफल बनाउन सम्पूर्ण तयारीको कमान्ड अध्यक्ष लिङ्देन आफैँले सम्हाल्नु भएको हो।’
नेपालखबरबाट