मंसिर मसान्तभित्र भूकम्प प्रभावितका लागि आवास निर्माण गरिसक्नुपर्छः कांग्रेस

-


     नेपालय न्युज    
     कार्तिक २५ गते २०८०


काठमाडौं, कात्तिक २५ गते। नेपाली कांग्रेसले जाजरकोटसहितको भूकम्प प्रभावित क्षेत्रमा मंसिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सम्पन्न गरिसक्न सरकारलाई सुझाव दिएको छ।

भूकम्प प्रभावित क्षेत्रको स्थलगत गत अवलोकन गरी फर्केको कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको टोलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेर ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सो सुझाव दिएको हो।

पुसको जाडोमा पीडितको अवस्था भयावह हुने भएकाले अस्थायी आवास निर्माणको काम मंसिर भित्र सम्पन्न गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको कांग्रेस महामन्त्री थापाले बताउनुभयो। उहाँले स्थायी रुपमा सिकाई केन्द्र बनाएर भूकम्प प्रभावित क्षेत्रका बालबालिकाको पठनपाठनको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइएको बताउनुभयो।

महामन्त्री थापाले अस्थायी आवास निर्माणको जिम्मेवारी प्रदेश सरकार र स्थानीय सरकारलाई दिन र त्यसका लागि अवश्यक रकम नागरिकको हातमा तत्काल पुग्ने गरी आवश्यक व्यवस्था गर्न मन्त्रिपरिषद् बैठक बोलाउन पनि सरकारसँग माग गरिएको बताउनुभयो। टोलीले अस्थायी आवास निर्माणका लागि जनशक्तिको अभाव पूर्तिका लागि सरकारले राजनीतिक दलहरु र संघ, संस्थाहरुसँग मिलेर काम गर्नुपर्ने औंल्याएको छ।

महामन्त्री थापाले भन्नुभयो, ‘‘अब जाडो सुरु भइसकेको छ। अस्थायी टहरा बनाउने काम त्यहाँ करिब करिब ५०÷६० हजार बनाउनु पर्नेछ। किनकी त्यति धेरै घरहरु बस्न नमिल्ने अवस्थामा छन्। त्यो अस्थायी टहरा बनाउने काम हामीले मंसिरको महिना भित्र सम्पन्न गर्न सकेनौँ भने पुसको जाडो यो त्रिपालले थेग्नै सक्दैन।’’

टोलीले पीडितका लागि एक हजार अस्थायी आवास निर्माणका लागि मंसिरको पहिलो हप्ताबाट पार्टीका नेता, कार्यकर्ता परिचालन गर्ने पनि प्रधानमन्त्री दाहाललाई जानकारी गराएको छ। महामन्त्री थापाले स्वास्थ्य संस्था अस्थायी रुपमा बनाउने काममा पनि सरकारले ढिलाई गर्न नहुने बताउनुभयो। त्यसैगरी राहतको कामलाई अझै प्रभावकारी बनाउन पनि सरकारलाई टोलीले सचेत गराएको छ।

कांग्रेसले स्थानीय र प्रदेश सरकारको नेतृत्वका पीडितको राहत, उद्धार र पुनस्थापनाको कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई यस अघि नै भनेको छ। महामन्त्री थापाले कर्णाली प्रदेश योजना आयोगलाई अहिले तत्कालका लागि विपद् व्यवस्थापनको कामको जिम्मा दिन उपयुक्त हुने सुझाव पनि प्रधानमन्त्री दाहाललाई दिइएको बताउनुभयो। नेपाली कांग्रेले महामन्त्रीद्वय थापा र शर्मा र केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रको स्थागत अवलोकनका लागि पठाएको थियो।

WP2Social Auto Publish Powered By : XYZScripts.com