
परराष्ट्रमन्त्री एनपी साउद एक हप्ते अमेरिका भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन्। अमेरिका भ्रमण सकेर स्वदेश फर्किएसँगै मन्त्री साउदले भ्रमणका क्रममा आफ्नो भेटघाट सकारात्मक र फलदायी भएको दाबी गरेका छन्।
भ्रमणबाट आगामी दिनमा नेपालमा सूचना प्रविधि क्षेत्रमा अमेरिकी लगानी प्रवर्द्वन गराउन मद्दत पुग्ने विश्वास लिएको पनि उनले बताए।
साथै, उनले अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्गेनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पनि लिएका छन्।
‘अमेरिकाबाट नेपालमा लामो समय देखि उच्चस्तरीय भ्रमण नभएको बिषय उल्लेख गर्दै मैले अमेरिकी विदेश मन्त्री महामहिम एन्टोनी व्लिङ्गेनलाई नेपालको औपचारिक भ्रमण गर्न आमन्त्रण गरेको छु,’ परराष्ट्रमन्त्री साउदले जारी गरेको प्रेस नोटमा भनिएको छ।
अमेरिकी विदेशमन्त्री महामहिम एन्टोनी व्लिङ्केनसँग प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता भएको पनि उनले जानकारी गराएका छन्। जुन भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धनका विषय तथा साझा चासोका क्षेत्रीय अन्तर्राष्ट्रिय विषयहरुमा विचारको आदान–प्रदान भएको उनले बताए।
‘समग्रमा मेरो अमेरिका भ्रमणमा त्यहाका उच्च सरकारी पदाधिकारीहरु, सिनेटर, नेपालका मित्रहरु, सूचना प्रविधि क्षेत्रका अमेरिकन(नेपाली पेशाविद्हरु तथा व्यवसायीहरुसँग भएको भेटघाट तथा कुराकानी अत्यन्त सौहार्द्धपूर्ण, सकारात्मक एवम् फलदायी रह्यो,’ भ्रमणपछि उनको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘त्यसैगरी मेरो भ्रमणबाट आगामी दिनमा नेपालमा सूचना प्रविधि क्षेत्रमा अमेरिकी लगानी प्रवर्द्वन गराउन मद्दत पुग्ने विश्वास लिएको छु।तसर्थ,मेरो भ्रमणवाट नेपाल र अमेरिकाबीचको आपसी मित्रता,समझदारी र सहयोगमा अभिवृद्धि भई द्विपक्षीय सम्वन्धलाई अझ उचाइमा पुर्याउन योगदान पुग्ने विश्वास लिएको छु।’
नेपालको विकास प्राथमिकताका बिषयहरुमा प्रकाश पार्दै सूचना प्रविधिको विकास, खाद्य सुरक्षा, कृषिको विकास, बजार पहुँच, लगानी र व्यापार लगायतका क्षेत्रहरुमा अमेरिकी सरकारबाट सहयोग बढाउन आफूले आग्रह गरेको पनि उनले बताए।
भेटमा दुवै पक्षले एमसीसी अन्तर्गतका परियोजनाहरूको समयमै कार्यान्वयनको महत्वमा जोड दिएको पनि उनले बताएका छन्।
भेटवार्तामै नेपालको लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरण गर्नमा भएको प्रगतिलाई प्रशंसा गर्दै अमेरिकी विदेश मन्त्रीले अमेरिकी सरकार नेपाल एक बलियो र समृद्ध लोकतन्त्र भएको हेर्न चाहेको उनले बताएका छन्।
नेपालखबरबाट