
अमेरिकासहित ९ देशका सेनाले नेपालमा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त अभ्यास गर्ने भएका छन्। नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्डको आयोजनामा हुने अभ्यास २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ।
विपद् व्यवस्थापन अभ्यास तथा अनुभव आदानप्रदानको छैटौं संस्करण सञ्चालन हुन लागेको हो।
विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उदेश्यले सन् २०११ देखि यस्तो अभ्यास सञ्चालन हुँदै आएको नेपाली सेनाले जानकारी दिएको छ।
विशेषज्ञसँगको शैक्षिक छलफल र टेबल कार्य काठमाडौंको होटल मेरिओटमा हुनेछ। फिल्ड तालिम अभ्यास भने चितवनमा सञ्चालन गरिने सेनाले जनाएको छ।
उक्त तालिम अभ्यासमा विपद् व्यवस्थापन कार्यमा नेपालबाट सबैभन्दा बढी २१० जना सहभागी हुनेछन्। नेपाली सेनासँगै विपद व्यवस्थापन कार्यमा आबद्ध नेपालका सरकारी तथा गैर सरकारी निकायबाट पनि तालिममा सहभागी गराइने छ।
अमेरिकी सेनाको प्यासिफिक कमाण्डबाट ४४ जना सहभागी हुनेछन्।
यस्तै भारत, मालदिभ्स, मंगोलिया, थाइल्याण्ड, श्रीलंका, क्यानडा र बेलायतबाट १६ जना गरी २७० जना सहभागी हुनेछन्।
संयुक्त अभ्यासबाट मित्रराष्ट्रहरू तथा विभिन्न निकायहरुबिचको आपसी सहयोग, सदभाव र समन्वयका साथै विपद व्यवस्थापन क्षमता विकास गर्न मद्दत पुग्ने विश्वास सेनाको छ।
अभ्यासका लागि यसअघि नै अमेरिकी सेनाको टोली र नेपाली सेनाको टोलिले स्थलगत निरीक्षण गरिसकेको छ। तालिममा सहभागी हुनका लागि केही देशबाट टोली आइसकेको र केही देशबाट आउनेक्रममा रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए।
नेपालखबरबाट