अमेरिकामा गोलीकाण्ड : मारिनेको सङ्ख्या २२ पुग्यो, आक्रमणकारी अझै फरार


     नेपालय न्युज,     
     कार्तिक ९ गते २०८०


मेइन । अमेरिकाको मेइनमा एक व्यक्तिले अन्धाधुन्ध गोलाबारी गर्दा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । घटनामा ६० जनाभन्दा घाइते भएका छन् ।

लेविस्टनमा स्थानीय समयअनुसार साँझ ७ बजेबाट गोलाबारी सुरु भएको थियो । कम्तीमा तीन ठाउँमा गोलाबारी भएको बताइएको छ । सबैभन्दा पहिले बालबालिकाको कार्यक्रम आयोजना भइरहेको एक बलिङ एलीमा गोली प्रहार गरिएको रिपोर्ट प्रहरी कहाँ पुगेको थियो ।

त्यसको लगत्तै एउटा बार एन्ड ग्रिलमा गोली चलेको खबर आएको थियो । त्यस्तै वालमार्ट डिस्ट्रब्युसन सेन्टरमा ८ बजेपछि गोली चलेको खबर आएको थियो । त्यसपछि ९ बजे गोलाबारीको अर्को घटना रिपोर्ट गरिएको थियो ।

सिटी काउन्सिलर रोबर्ट म्याकार्थीले मृत्यु हुनेको सङ्ख्या १६ बाट बढेर २२ पुगेको जानकारी दिए । प्रहरी अधिकारीहरूले मानिसहरूलाई घरभित्र बस्न र ढोका लगाउन आग्रह गरेका छन् । लेविस्टनमा करिब ३९ हजार मानिसको बसोबास रहेको छ ।

लेविस्टन प्रहरीले आफ्नो फेसबुक पेजमा सन्दिग्धको तस्बिर सार्वजनिक गरेको छ । उनको नाम रोबर्ट कार्ड भएको बताइएको छ । उनले अमेरिकी सेनाको रिजर्भ ट्रेनिङ सेन्टरमा हतियारको प्रशिक्षण लिएको र उनीमा मानसिक समस्या रहेको प्रहरीको भनाई छ । ४० वर्षीय कार्डले दुई महिना मानसिक अस्पतालमा बिताएको पनि बताइएको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com