एनआरएनएको अध्यक्षमा रविना थापाको उम्मेदवारी दर्ता

-


     नेपालय न्युज    
     असाेज २९ गते २०८०


गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको ११ औं महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष रविना थापाले सोमबार उम्मेदवारी दर्ता गरेकी छिन्।

उनलाई अध्यक्ष पदकै उम्मेदवारीको चर्चामा रहेका बेलायतका विनय अधिकारीले प्रस्तावक रहेर समर्थन गरेका छन्। उम्मेदवारी दर्तापछि रबिना थापाले आफूले छोटो कार्यकालमा धेरै राम्रो काम सुरुवात गरेको बताउँदै एक पूर्ण कार्यकाल काम गरेर एनआरएनएलाई नयाँ उचाई दिन चाहेको बताइन्।

काम गरेर देखाएकोले सबैको समर्थनमा आफू विजयी हुने दाबी पनि उनले गरिन्।

विदेशमा बस्ने सबै नेपालीको अवस्था एउटै नभएको बताउँदै थापाले विदेशको श्रमबजारमा दुःख पाएका नेपाली, विद्यार्थीदेखि बलियो आर्थिक र सामाजिक हैसियत वनाएका नेपालीहरूको भावनाको प्रतिनिधित्व आफूले गर्नसक्ने बताइन्।

वर्तमान उपमहासचिव विनय अधिकारीले एनआरएनएलाई चरम राजनीतिक हस्तक्षेपवाट जोगाउन आफूले अध्यक्ष पदको उम्मेद्वारी छोडेर रविना थापालाई समर्थन गरेको बताए।

आपसी विवाद र गुटबन्दीले संघको छवि धुमिलिएको बताउँदै अधिकारीले सहमति , सहकार्य र एकता नै अबको आवश्यकता रहेको औंल्याउँदैत्यसका लागि रबिना थापा एकमात्र विकल्प रहेको दावी गरे।

अर्का प्रस्तावकमा बिष्णु बानिया, जापानका रहेका छन्। यसैगरी समर्थकमा गगन गुरुङ, अमेरिका र सुरेश कोइराला अमेरिका रहेका छन्।

रबिना हाल अध्यक्ष छिन्। उनले ६ महिना कार्यकारी अध्यक्ष रहँदा घुम्ती रक्तसञ्चार बस (मोबाइल ब्लड बस) को शुरुवात भएको थियो। हाल २ प्रदेशमा हस्तान्तरणको चरणमा छ।

यसैगरी पोखरामा स्मार्ट शौचालय निर्माण भएको थियो। सेन्सर जडित स्मार्ट शौचालय अपाङ्गमैत्री छ। छुट्टै स्तनपान कक्ष रहेको यस शौचालयमा महिलाकालागि सेनेटरी प्याड भ्यान्डिङ मेसिन जडान गरिएको छ।

अध्यक्ष थापाले केही दिन अघि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई उक्त स्मार्ट शौचालयको साँचो हस्तान्तरण गरेका हुन्। यसैगरी उदयपुरको गाईघाटमा ४ वटा र कंचनपुरमा १ वटा सफा शौचालय हस्तान्तरण भएको छ।

यही असोज ३० गतेदेखि काठमाडौंमा शुरु हुने गैर आवासीय नेपाली संघको ११ अ‍ेों महाधिवेशनले आगामी २ वर्षे कार्यकालकालागि नयाँ नेतृत्व चयन गर्दैछ। पहिलो पटक अनलाइन निर्वाचनको अभ्यास पनि एनआरएनएले गर्दैछ।

महाधिवेशनमा भाग लिन प्रतिनिधिहरु विभिन्न देशवाट काठमाडौं आइपुगेका छन्। विदेशमा रहेकाले अनलाईन भोटिङ गर्ने बताइएको छ।

WP2Social Auto Publish Powered By : XYZScripts.com