मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट

-


     नेपालय न्युज    
     असाेज २४ गते २०८०


अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित भेटघाट गर्नुभएको छ ।

मेयर कोइरालाले सिनेटर माइकल जियानारिससहितका उच्च पदस्थ व्यक्तिहरूसित भेटघाट गर्नुभएको हो । सिनेटर माइकलसितको भेटमा नेपालको राजनैतिक अवस्था, विकासमा स्थानीय सरकारको भूमिका, ऐन कानुनको कार्यान्वयनमा देखिने समस्यालगायतका विषयमा छलफल भएको थियो । त्यस्तै मेयर कोइरालाले न्यूयोर्क सिटी शिक्षा समितिका अध्यक्ष एवं न्युयोर्क राज्यका सेनेटर जोन सी लिउसँग पनि भेटघाट गर्नुभयो ।

सो अवसरमा मेयर कोइरालाले विराटनगर महानगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासका लागि सहयोगको आग्रहसमेत गर्नुभयो । शिक्षाको विकास बिना कुनै पनि क्षेत्रको विकास नहुने बताउँदै मेयर कोइरालाले सीमित स्रोत साधनकाका बाबजुत पनि महानगर शिक्षाको विकासमा लागेको जानकारी गराउनु भएको थियो । त्यस्तै मेयर कोइरालाले न्यूयोर्क विधानसभाका प्रथम फिलिपिनो अमेरिकी स्टिभन रागासित पनि भेटघाट गर्नुभएको मेयर कोइरालाका अन्तर्राष्ट्रिय सल्लाहकार सोमनाथ घिमिरेले जानकारी दिनुभयो ।

नेपालको इतिहासमा मेयरस्तरबाट अमेरिकी निर्वाचित पदाधिकारीहरूसँग भेटघाट गर्ने कोइराला नेपालको पहिलो मेयर भएको घिमिरेले दाबी गर्नुभयो । मेयर कोइराला संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) ले आयोजना गरेको सेमिनारमा सहभागी हुन यही असोज १० गते अमेरिका जानु भएको थियो । ४० देशभन्दा बढीका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरू सहभागी समिनारमा मेयर कोइरालाले सहभागिता जनाइसक्नु भएको छ । टेक्सासमा भएको सेमिनारमा सहभागी भएर मेयर हाल न्यूयोर्कमा भेटघाट र छलफलमा व्यस्त रहनु भएको छ । उहाँले अमेरिकामा रहेका गैरआवासीय नेपालसहित विराटनगरमा जन्मिएर अमेरिकामा बसोबास गर्नेहरूसित पनि भेटघाट गर्नुभएको छ । सो अवसरमा मेयर कोइरालाले विराटनगरको शिक्षा, स्वास्थ्य र भौतिक संरचनाको विकासमा सहयोग गर्न विराटनगरवासीलाई गर्नुभयो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com