रवीन्द्र माकाजू ।
पर्यटकीय नगरी पोखराको मुटु महेन्द्रपुल अर्थात् भीमसेनचोकमा अन्तर्राष्ट्रिय झण्डापार्क बन्दैछ, जो सबै पोखरेलीका लागि हर्षको विषय हो । लाग्छ यहाँ झण्डापार्क बनाउनुको आशय नेपाल घुम्न आएका पर्यटकलाई नेपालको असंलग्न परराष्ट्र नीतिको परिचय दिनु मात्र नभएर विश्वका हरेक नागरिकसँग नेपालीको ‘वसुधैव कुटुम्बकम्’ को परिचय दिनु पनि हो । अर्थात् जो नेपाल घुम्न आउँछन् उनीहरु यस स्थललाई भिजिट गरुन् जहाँ उनीहरुले आ–आफ्ना स्वदेशको झण्डा देखेर गौरवान्वित होऊन् ।
संसारमा कुनै मानिस त्यस्तो छैन जसलाई मातृभूमि मातृभाषा, भेषभूषा, झण्डा, संस्कृति, रहनसहन आदि मन नपरोस् । यस्तो भावना चिन्तन र सोचलाई स्वभाविक र सामान्य मानिन्छ । यस अर्थमा पोखरा घुम्न आएका हरेक पर्यटकले एकपटक यो स्थानमा आई आफ्नो मुलुकको राष्ट्रिय ध्वजालाई बन्दना गर्ने, प्रणाम गर्ने ईच्छा गर्दछ । हाल विश्वमा करिब दुई सय राष्ट्रहरू संयुक्त राष्ट्र संघमा आवद्ध छन् । यस अर्थमा यस पार्कमा करिब दुई सय राष्ट्रका ध्वजाहरु फरफराइरहनेछन् । तसर्थ तिनलाई यस स्थलमा स–सम्मान राखिनेछन् ।
अहिले निर्माणाधिन अन्तर्राष्ट्रिय झण्डापार्क (जमिन) क्षेत्रफलका दृष्टिकोणले प्रशस्त या पर्याप्त भने छैन । सानो ठाउँमा २०० झण्डा व्यवस्थित गर्नु कठिन विषय बन्न पुगेको छ । एउटा राष्ट्रको झण्डाका लागि चारतिर फरफराउन कति स्पेस (ठाउँ) छोडनुेपर्ने हो त्यो सोधखोजको विषय होला; परन्तु, एउटा असंलग्न राष्ट्रका नाताले हामीले अरू देशको झण्डा सार्वजनिक स्थानमा राख्दा समानताको व्यवहार गर्नुपर्ने हुन्छ । कसैलाई अग्लो र होचो, कसैलाई अगाडि, ठूलो सानो, कसैलाई पछाडि राख्न मिल्दैन जस्तो लाग्छ । बरु यसका लागि शहिदपार्क (पोखरा १८) मा खुल्ला जमिन उपयुक्त हुन सक्छ । झण्डा राख्दा कुन देशको हो, राजधानी कहाँ पर्छ, जनसङ्ख्या आदिको जानकारी पनि दिनुपर्ने हुन्छ ।
आफ्नो देशको झण्डा सानो आकारमा (अरू भन्दा सानो) राखेको देखेमा नागरिकको हृदयमा गहिरो चोट पुग्न सक्छ । त्यस्तै उसले आफ्नो देशको झण्डा होचो स्थानमा देख्यो भने, अरू देशको झण्डा भन्दा पछाडि देख्यो भने हामीसँग त केही गुनासो नगर्लान् तर आफ्नो देशमा गएर सरकार समक्ष गुनासो पोख्यो भने उनीहरुले नेपाल र नेपालीप्रति हेर्ने दृष्टिकोण कस्तो होला ? उनीहरूले आफ्नो राष्ट्रप्रति असमान व्यवहार ग¥यो भनेर संयुक्त राष्ट्र संघमा उजुरी गरिदिए, हामीले समयमा नै सोच्नुपर्ने पो हो कि जस्तो लाग्छ ?
राष्ट्र र राष्ट्रियता, धर्म र संस्कृति, आस्था र भावना सम्वेदनशील विषय मानिन्छन् । हामीले अरूका आस्था र भावना माथि खेलवाड गर्नु हुँदैन । झन् त्यसमाथि असंलग्न परराष्ट्र नीति बोकेको भूपरिवेष्ठित, अविकशित साना मुलुकका लागि पटक्कै सुहाउँने विषय होइन । यसतर्फ गम्भिर भएर सोच्नुपर्ने देखिन्छ ।
अन्तर्राष्ट्रिय झण्डा पार्क बनाउनका लागि पोखरामा थुपै्र सार्वजनिक जग्गाहरु छन् । उदाहरणका लागि बैदामका पार्कहरू जहाँ लस्करै एकै लाइनमा एउटै हाइटमा समान साइजका अन्तर्राष्ट्रिय झण्डाहरु फहराउन सकियोस् ।
अन्तर्राष्ट्रिय झण्डा पार्क बनाउनु स्वयंमा महत्वपूर्ण कदम हो । तर सानो सीमित ठाउँमा भन्दा चाक्लो, फराकिलो स्थानमा राख्दा सोचेजस्तो अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप हुन सके यो एउटा अब्बल आम्दानीको श्रोत पनि हुन सक्छ, जसबाट समय समयमा झण्डाहरु पुरानो, फोहोर भएमा, च्यातिएमा फेर्न सकियोस् । यस्तो पार्कलाई संरक्षण गर्ने, व्यवस्थित पनि गर्नुपर्ने हुन्छ । किनभने यो झण्डा भनेको कसैको राष्ट्रियतासँग, भावनासँग जोडिएको हुन्छ । यही स्थानमा असमान तवरबाट झण्डाहरु राख्नुभन्दा यसको वैकल्पिक व्यवस्था खोज्नु मलाई बुद्धिमतापूर्ण निर्णय हो जस्तो लाग्छ । हठ गरेर कार्य गर्दा कहिलेकाही मुलुकले नै बदनामी बेहोर्नुपर्ने हुन सक्छ । यस्तो सम्वेदनशील विषयलाई हामी कसैले खेलाँची गर्नुहुँदैन । यसतर्फ सम्बन्धित सबैको ध्यान जान जरुरी छ ।