मन्दीको असर चाडबाडमा पनि देखियो : तीजमा सारीको विक्री बढ्दा सस्तो सारीमा आकर्षण बढी


     नेपालय न्युज,     
     भदौ २५ गते २०८०


टीकापुर । तीज नजिकिएपछि कैलालीमा सस्तो मूल्यका सारीको कारोबार भइरहेको छ । विगतका तुलनामा यसवर्ष टीकापुर बजारमा ५ सयदेखि १ हजार ५ सयसम्मका सारी किन्ने महिला बढी आउन थालेका छन् । महिला खर्च व्यवस्थापनमा ध्यान दिँदै बजारमा सबैभन्दा सस्तो मूल्यमा पाइने सारी किन्न थालेका हुन । यहाँका व्यापारी पनि ५ सयका सारीको कारोबार सबैभन्दा राम्रो भइरहेको बताउँछन् ।

टीकापुरकी अनु रतनले पनि ५०० मूल्यकै सारी किनेकी छिन् । उनले हरेक पर्वमा नयाँ सारी लगाउन मनलाग्ने भएकाले सारीमा धेरै खर्च गर्न नखोजेको बताइन् । ‘‘विगतमा महँगो सारी किनिन्थ्यो, एकपटक किनेको सारी धेरै कार्यक्रम तथा पर्वमा लगाइन्थ्यो’’,उनले भनिन्, ‘‘आजभोलि त्यस्तो गरिदैन, हरेक पर्वमा नयाँ सारी किन्ने र नयाँ लगाउने गरिन्छ । नयाँ पहिरन लगाएपछि फोटो खिच्ने, टिकटक बनाउने, सामाजिक सञ्जालमा राखिन्छ । त्यसपछि त्यो फेरि लगाउन मन लाग्दैन । त्यसैले सस्तो लगाउने बरु नयाँ लगाउने हो । ’’ अनुजस्तै दुर्गा शाहीले पनि सस्तो सारी किन्ने तयारी गरेकी छन् । घरमा सारी धेरै भएकाले एक दिनका लागि मात्र चाहिने हुँदा उहाँ पनि ५०० को साडी किन्ने तयारीमा छिन् । ‘‘घरमा सारी राख्ने ठाउँ छैन तर तीजको व्रत बस्ने भएकाले नयाँ लुगा चाहियो’’,उनले भनिन्, ‘‘त्यसैले सबैभन्दा सस्तो किन्ने तयारी छ ।

विगतमा बजारमा पनि ५ सयका सारी पाइदैनथ्ये । सारी भनेपछि मानिस २ हजारमाथिका किन्नुपर्छ भन्ने ठान्थे तर अहिले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा भाइरल भइदिँदा भाइरल कपडाको प्रयोग पनि बढ्दै गएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका कपडाको मूल्य पनि सबैले थाहा पाउने हुँदा ब्यापारी पनि सस्तो मूल्यका कपडा बिक्री गर्न थालेका छन् ।

तीज नजिकिएपछि सिलाइकटाइको काम गर्नेलाई भ्याइनभ्याइ भएको छ । तीजमा सारी पिको गर्ने, ब्लाउज सिलाउने लगायतका काम बढेको रामदुलारी चौधरीले बताइन् । ‘‘करिब एक महिनादेखि राम्ररी सुतेको छैन, बिहान ४ बजेदेखि राति १२ बजेसम्म काम गर्नुपरेको छ’’,उनले भनिन्, ‘‘चाडपर्वमा अधिकांशले नयाँ लुगा लगाउने भएकाले हामीलाई काम धेरै हुन्छ ।’’

तीज नजिकिएपछि साडीको कारोबार बढेको व्यापारीको भनाइ छ । व्यापारीका अनुसार विगतमा महँगा साडी बिक्री हुन्थे । आजभोलि उत्पादन नै सस्तो साडी हुने र आर्थिक मन्दिका कारण रकम अभावले पनि सस्ता कपडा बिक्री बढी भइरहेका कालिका टेडर्सका सञ्चालक सिंहमान विष्टले बताए । ‘‘विगतमा धेरैले महँगो सारी किन्ने गर्दथे, तीन वर्ष अघिसम्म रु पाँच हजारबाट सारी बिक्री हुन्थे’’, विष्टले भने, ‘‘गत वर्षबाट रु पाँच सयबाट सारी बिक्री सुरु हुन्छ । यसले व्यापारमा असर पारेको छैन । ’’
ब्यापारी विष्टका अनुसार न्यून मूल्यका सारी बजारमा आएपछि सबैले सारी लगाउन थालेका बताउँछन् । ‘‘यसपटक सारी नकिन्ने कोही छैनन्, गाउँका सबै महिलाले सारी किनेर लगेका छन्’’,उनले भनिन्, ‘‘५०० सयदेखि १ हजार ५०० सयसम्मका बढी बिक्री भएका छन् ।’’

अर्का ब्यापारी गणेश बस्त्रालयका भवानी ढुङ्गाना पनि न्यून मूल्यका सारीको राम्रो कारोबार भइरहेको बताउँछन् । ‘‘सबैलाई सारी चाहिएको छ, बढी मूल्यका कमैले मात्र लिन्छन्’’,उनले भने, ‘‘अझ घरपरिवारका दिदीबहिनीले एकैनासका लगाउने चलन बढेको छ ।’’

चाडपर्व हाम्रा संस्कृति र सभ्यतासँग जोडिएका छन् । चाडपर्व मनाउँदा अनावश्यक खर्च गर्न नहुने धेरैको सुझाव छ । ‘‘चाडपर्व हरेक वर्ष आउँछन्, हरेक पर्वमा नयाँ र महँगो लुगा लगाउनुपर्छ भन्ने छैन’’, अधिकारकर्मी योजना अधिकारीले भनिन्, ‘‘सस्तो पहिरन, पुराना कपडा लगाएर पनि पर्व मनाउन सकिन्छ । अन्यले किनेको देखेर अनावश्यक खर्च नगरौँ ।’’ रासस

WP2Social Auto Publish Powered By : XYZScripts.com