
वासिङ्टन । सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद् भवनमा भएको आक्रमणको योजना बनाएको आरोपमा ‘द प्राउड ब्वाइज’ का पूर्वनेता एनरिके टारियोलाई २२ वर्षको जेल सजाय सुनाइएको छ ।
अमेरिकी सांसदहरूले राष्ट्रपति जो बाइडेनको जीतलाई आधिकारिकता दिइरहेका बेला भएको सो हमलामा हालसम्म सुनाइएको सबैभन्दा लामो जेल सजाय हो । ३९ वर्षीय टारियो सो समय वासिङ्टनमा नभए पनि उनले दक्षिणपन्थी समूहलाई दङ्गा आयोजना गर्न सहयोग गरेको आरोप छ ।
संसद्मा भएको दङ्गाको आरोपमा हालसम्म १ हजार १ सय भन्दा बढीलाई पक्राउ गरिएको छ । तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा हुलदङ्गा गर्नेहरू संसद् भवन पुगेका थिए । ट्रम्प भने सन् २०२० मा भएको निर्वाचनको परिणाममा आफ्नो हार स्वीकार गर्न मानिरहेका थिएनन् । एजेन्सी