५३८ करोडको बैंक घोटाला प्रकरणमा जेट एयरवेजका संस्थापक नरेश गोयल गिरफ्तार


     नेपालय न्युज,     
     भदौ १६ गते २०८०


नयाँ दिल्ली । ५३८ करोडको बैंक घोटाला प्रकरणमा जेट एयरवेजका संस्थापक नरेश गोयल गिरफ्तार भएका छन् । आर्थिक अपराधविरुद्ध कारबाही गर्दै आएको प्रवर्तन निर्देशनालय (ईडी)ले मनी लान्ड्रिङ प्रकरणमा शुक्रवार गोयललाई गिरफ्तार गरेको हो ।

भारतीय सञ्चार संस्था टाइम्स अफ इन्डियामा प्रकाशित एक समाचार अनुसार ईडीको मुम्बईस्थित कार्यालयमा गोयललाई घन्टौं सोधपुछ गरिएको थियो । घटनाको जाँचबुझमा गोयलले सहयोग नगरेको ईडी अधिकारीको भनाइ छ ।

समाचार स्रोतलाई उध्दृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको समाचारमा कैनरा बैंकसँग जोडिएको कर्जा घोटाला प्रकरणमा सोधपुछका लागि गोयललाई दिल्लीबाट मुम्बई ल्याइएको थियो । त्यसपछि उनलाई गिरफ्तार गरिएको थियो ।

अर्काे समाचार संस्था इकोनोमिक टाइम्सका अनुसार सीबीआईले गोयलविरुद्ध उक्त अपराधिक विश्वासघात तथा अपराधिक कदाचारको आरोप लगएको छ । गोयलका कारण कारण बैंकलाई ५३८.६२ करोड भारतीय रुपैयाको नोक्सान भएको सीबीआईको ठहर छ ।

के हो घटना ?

टाइम्स अफ इन्डियाका अनुसार गत मे ३ मा कैनरा बैंकले गोयलविरुद्ध कर्जा घोटाला आरोपमा सीबीआईसमक्ष मुद्दा दायर गरेको थियो ।

बैंकका अनुसार गोयलको कम्पनीहरूले बैंकको कन्सोर्टियमको माध्यमबाट कर्जा लिएका थिए । तर, कम्पनीहरूले उक्त कर्जाको किस्ता तिरेका थिएनन् ।

सीबीआईले उक्त घटनामा नरेश गोयलकी पत्नी अनिता, गौरांग शेट्टी तथा अन्य व्यक्तिमाथि आरोप लगाएको छ ।

यही सिलसिलामा गत जुलाईमा ईडीले जेट एयरवेजका केही कार्यालयमा समेत छापा मारेको थियो ।

सन् २०११ अप्रिल १ देखि २०१९ जुन १९ सम्म गोयलको कम्पनीसँग जोडिएका खाताको फोरेन्सिक अडिट गरिएको थियो, जसमा पैसा डाइभर्ट गरी त्यसमा धाँधली गरेको कुरा खुलेको थियो । उक्त रिपोर्ट सन् २०२१ मा दिइएको थियो । बीबीसी हिन्दी

WP2Social Auto Publish Powered By : XYZScripts.com