नेपाल भ्रमणमा आउँदै अमेरिकी सिनेटर होलेन

-


     नेपालय न्युज    
     भाद्र ११ गते २०८०


वासिङ्टन डिसी– अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण गर्ने भएका छन्। होलेन सेप्टेम्बर पहिलो साता काठमाडौं आइपुग्ने कार्यतालिका सार्वजनिक गरिएको हो।

सिनेटर भ्यान होलेनको अफिसले दिएको जानकारीअनुसार नेपाल भ्रमणका क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्नुहुने जनाइएको छ। उनले अमेरिकी सहयोगमा सञ्चालित प्रोजेक्ट र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्नेछन्।

उनको भ्रमणले नेपाल र अमेरिकाको राजनीतिक तथा व्यावसायिक साझेदारी मजबुत हुने विश्वास लिइएको छ। उनले अमेरिकाको नेपालमा हुने सहयोगबारेमा समेत छलफल गर्नेछन्। खासगरी स्वास्थ्य क्षेत्रमा र विद्युत् तथा यातायात पूर्वाधारमा महत्त्वपूर्ण लगानीको आधार तय गरिनेछ।

सिनेटर क्रिसको अफिसले दिएको जानकारीअनुसार उनको यो भ्रमणले दक्षिण एसियाली देश र अमेरिकाबीच मजबुत र अर्थपूर्ण साझेदारी हुनेछ। भ्रमणका क्रममा सिनेटर क्रिसले बृहत्त विषय र सामूहिक सुरक्षा चासोबारेसमेत छलफल गर्ने अपेक्षा गरिएको जनाइएको छ।

यसैगरी आर्थिक अवसर, जलवायु परिवर्तनको असर, मानव अधिकारको रक्षालगायतका विषयमा विस्तृतरुपमा छलफल हुनेछ । सिनेटर होलेनले यो भ्रमणले त्यस क्षेत्रका देश र अमेरिकाबीचको सम्बन्ध थप मजबुत हुने अपेक्षा रहेको बताएका छन्।

नेपाल, श्रीलंका र माल्दिभ्स भ्रमणमा निस्कन लागेका होलेन आठ दिने भ्रमणका क्रममा ५० बढी बैठकमा सहभागी हुने जनाइएको छ। क्रिस भ्यान होलेन अमेरिकाको डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन्। अन्तरपार्टी सम्बन्धमा समेत आफ्नो मजबुत छवि बनाएका सिनेटर होलेनले नेपाल अमेरिकाको सम्बन्धको बीच महत्त्वपूर्ण कामसमेत गरेका छन्।

उनले सन् २०२१ मा मेरिल्याण्ड राज्यका डेलिगेट डा ह्यारी भण्डारीको अफिससँगको समन्वयमा नेपालका युवा नेतासँग समेत भर्चुअल माध्यमबाट यस अगाडि नै छलफलसमेत गरिसकेका छन्। कोरोनाकालमा अमेरिकाले नेपाललाई उपलब्ध गराउने स्वास्थ्यसम्बन्धी सामग्री र खोपसमेतको सहायतासम्बन्धी विभिन्न कार्यक्रममा समेत सिनेटरले महत्त्वपूर्ण भूमिका निर्वाहसमेत गरिसकेका छन्।

उनले अमेरिकामा रहेका नेपालीबीच पनि ख्यातिप्राप्त सिनेटर हुन्। उनले अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोक्टेक्डेड स्टाटयस (टिपीएस) मार्फत स्थायी बसोबासका लागिसमेत बिल तयार पारेका थिए।

मेरिल्यान्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर होलेन डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन्। सेप्टेम्बर पहिलो साता नेपाल आइपुग्ने भनिए पनि भ्रमण तालिकाबारे विस्तृत विवरण भने सार्वजनिक भएको छैन।–रासस

WP2Social Auto Publish Powered By : XYZScripts.com